नेपाल टि२० लिग : सुमित र थरंगाको अर्धशतकमा पोखराको लगातार तेस्रो जित

हिमाल प्रेस १८ पुष २०७९ १२:३३
16
SHARES
नेपाल टि२० लिग : सुमित र थरंगाको अर्धशतकमा पोखराको लगातार तेस्रो जित पोखरा एभेन्जर्सका खेलाडी

काठमाडौँ- दुई ब्याट्सम्यानले अर्धशतक प्रहार गरेपछि पोखरा एभेन्जर्सले नेपाल टि२० लिगमा सोमबार काठमाडौँ नाइट्सलाई पाँच विकेटले पराजित गरेको छ। कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा जारी लिगमा पोखरालाई लगातार तेस्रो जित दिलाउन सुमित महर्जन र कप्तान उपुल थरंगाले अर्धशतक बनाए।

काठमाडौँले दिएको १६५ रनको लक्ष्य पछ्याउने क्रममा ओपनर सुमितले ५२ बलमा ७६ रन बनाएका थिए। जसमा सात चौका र तीन छक्का सम्मिलित थिए। यो लिगमा उनले पहिलो पटक अर्धशतक बनाएका हुन्। श्रीलंकका अनुभवी ब्याट्सम्यान थरंगाले ४९ बल सामना गर्दै ५८ रन जोडे। उनले पाँच चौका र एक छक्का प्रहार गरे।

लिगको उद्घाटन खेलमा काठमाडौँले पोखरालाई २६ रनले पराजित गरेको थियो। डबल राउन्ड रोबिन पद्धतिमा जारी लिगमा पोखराले काठमाडौँलाई दोस्रो भेटमा बदला लिन सफल भएको हो। जितपछि पोखरा आठ खेलबाट ६ अंक बटुल्दै चौथो स्थानमा छ। ६ खेलमध्ये तीनमा जित हात पारेको काठमाडौँ तेस्रो स्थानमा यथावत छ।

पोखराका लागि सुरुवात भने सहज थिएन। सुमितसँगै ओपनिङ गरेका आशिफ शेख सात रनमा आउट भएका थिए। त्यसपछि ब्याटिङमा उत्रिएका उनका दाजु आरिफ शून्यमा सीमित भए। सिद्धान्त लोहनीले पनि तीन रन मात्र जोड्न सके।

१९ ओभरको समाप्तिमा १५९ रनमा अड्किएको पोखराका लागि कुशल मल्लले दुई बल बाँकी छँदा चौका प्रहार गरेपछि जित पक्का भएको थियो। कुल आठ बल खेलेका उनले १४ रन बटुले।

त्यसअघि टस हारेर ब्याटिङ गरेको काठमाडौँका लागि एलेक्स ब्लेकले २८ बलमा ६४ रन बनाएका थिए। जारी लिगमा दोस्रो पटक अर्धशतक प्रहार गरेका ब्लेकका सहयोगमा काठमाडौँले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा १६४ रनको मध्यम योगफल तयार पारेको थियो।

लिगमा चौथो जित जित दतौ गर्ने दाउमा रहेको काठमाडौँले बलियो सुरुवात गरेको थियो। ओपनर विरनदीप सिंह र सुनम गौतमले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए। मलेसियाका विरनदीपले ३८ बल सामना गर्दा ३२ रन बनाए भने सुनमको नाममा ४५ रन रह्यो। त्यसैगरी रायन बर्ल र लोकेश बम क्रमशः १० र चार रनमा अविजित रहे।

पोखराका लागि तुल थापाले १७ रन खर्चिएर दुई विकेट लिएका थिए। उनकै बलमा सुनम र आज्मतुल्लाह ओमरजाई आउट भएका थिए। त्यसैगरी प्रतिस जीसी र कुशल मल्लले एक–एक विकेट हात पारे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 1 =