नेपाल टि२० लिग : फारवेस्टलाई हराउँदै प्लेअफनजिक पुग्यो जनकपुर

हिमाल प्रेस १८ पुष २०७९ १९:२१
10
SHARES
नेपाल टि२० लिग : फारवेस्टलाई हराउँदै प्लेअफनजिक पुग्यो जनकपुर

काठमाडौँ- जनकपुर रोयल्सले नेपाल टि२० लिगमा पाँचौँ जित हासिल गरेको छ। सोमबार जनकपुरले फारवेस्ट युनाइटेडलाई ८२ रनले पराजित गरेको हो। यो जितसँगै जनकपुर ६ टिमसम्मिलित लिगको दोस्रो स्थानमा उक्लियो। सात खेलबाट १० अंक बटुलेको जनकपुर अब प्लेअफको नजिक पुगेको छ। शीर्षस्थानको लुम्बिनी अलस्टार्स यसअघि नै प्लेअफमा पुगिसकेको छ।

लिग चरणमा लुम्बिनीले अब तीन खेल खेल्न बाँकी छ। त्यसमध्ये दुई खेलमा जनकपुर लुम्बिनीको सामना गर्नेछ। यी दुईबीचको पहिलो खेल मंगलबार र दोस्रो खेल शुक्रबार हुनेछन्। जनकपुरले बाँकी एक खेल पोखरा एभेन्जर्ससँग खेल्ने तालिका छ।

लिगको प्लेअफमा चार टिम हुनेछन्। लुम्बिनी प्लेअफमा पुग्ने पहिलो टिम बनिसकेकोले अब प्रतिस्पर्धा बाँकी तीन स्थानका लागि हो। त्यसका लागि जनकपुरसँगै काठमाडौँ नाइट्स, पोखरा एभेन्जर्स र विराटनगर सुपर किंग्स छन्। ६ खेलबाट ६ अंक बटुलेको काठमाडौँ तेस्रो स्थानमा छ। त्यसैगरी पोखरा आठ खेलबाट ६ अंकका साथ चौथो स्थान र विराटनगर ६ खेलबाट चार अंक बटुलेर पाँचौँ स्थानमा छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको जनकपुरले निर्धारित २० ओभरमा १६१ रन बनाएको थियो। लिगको पुछारमा रहेको फारवेस्ट भने ७९ रनमा अलआउट भयो।

जनकपुरलाई जित दिलाउन सन्दिप जोराले सर्वाधिक ५५ रन बटुलेका थिए। त्यसैगरी कप्तान टे«भोन ग्रिफिथले ३२, चाड्विक वाल्टनले २४ र शफारुद्दिन असरफले २० रनको योगदान गरेका थिए।

फारवेस्टका लागि कप्तान हस्मतुल्लाह शाहिदीले सर्वाधिक ३२ रन जोडे। उनीबाहेक जम्मा दुई ब्याट्सम्यानले मात्र फारवेस्टका लागि दोहोरो अंकको स्कोर गर्नसके। रशिद खान १७ रनमा अविजित रहे भने भिम शार्कीको नाममा १६ रन रह्यो।

फारवेस्टलाई सस्तोमा समेट्न शामिउल्लाह शिनवारीले तीन ओभर बलिङ गर्दा १६ रन खर्चिएर तीन विकेट लिए। सोमपाल कामी र पवन सराफले पनि उत्तिकै किफायती बलिङ गरे। सोमपालले १८ र पवनले १५ रन खर्च गरेर दुई–दुई विकेट हात पारेका थिए। शराफुद्दिन असरफ, जितेन्द्र मुखिया र ललित राजवंशीको नाममा एक–एक विकेट रह्यो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × four =