नेपाल टि२० लिग : पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्ने, एलिमिनेटरमा विराटनगरको विपक्षी काठमाडौँ

हिमाल प्रेस २३ पुष २०७९ १९:०९
6
SHARES
नेपाल टि२० लिग : पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर भिड्ने, एलिमिनेटरमा विराटनगरको विपक्षी काठमाडौँ फारवेस्ट युनाइटेडका खेलाडी

काठमाडौँ- नेपाल टि२० लिगको प्लेअफमा पुग्ने चारै टिमको टुंगो लागेको छ। शनिबार लिग चरणका अन्तिम दुई खेल सकिएसँगै प्लेअफ समीकरण पूरा भएको हो। लिग चरण सकिँदा लुम्बिनी अल स्टार्स, जनकपुर रोयल्स, विराटनगर सुपर किंग्स र काठमाडौँ नाइट्स क्रमशः पहिलोदेखि चौथो स्थानमा रहँदै प्लेअफमा पुगेका हुन्।

लिगको पहिलो क्वालिफायरमा लुम्बिनी र जनकपुर आमनेसामने हुनेछन् भने एलिमिनेटरमा विराटनगर र काठमाडौँ भिड्नेछन्। आइतबार हुने पहिलो क्वालिफायरमा विजयी हुने टिम सिधै फाइनलमा पुग्नेछ।

पहिलो क्वालिफायरमा पराजित हुने टिमले फाइनल प्रवेशका लागि एलिमिनेटरमा विजयी हुने टिमसँग प्रतिस्पर्धा गर्नुपर्नेछ। एलिमिनेटर सोमबार र दोस्रो क्वालिफायर मंगलबार खेलाइनेछ। उपाधि भिडन्त भने बुधबार हुनेछ।

शनिबारको पहिलो खेलमा विराटनगरले काठमाडौँमाथि सात विकेटको जित दर्ता ग¥यो। दोस्रो खेलमा प्लेअफ समीकरणबाट बाहिरिसकेको फारवेस्ट युनाइटेडले पोखरा एभेन्जर्सलाई ४१ रनले पन्छायो। फारवेस्टसँग हार्नु पोखराका लागि दुर्भाग्य साबित भयो। किनभने यो नतिजाले पोखरालाई प्लेअफ पुग्नबाट रोक्दा काठमाडौँ शीर्षचारमा प्रवेश गरेको थियो।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा टस जितेर ब्याटिङ गरेको काठमाडौँले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५४ रन बनाएको थियो। यो लक्ष्य विराटनगरले १८.४ ओभरमा तीन विकेटको क्षतिमा पूरा ग¥यो।

विराटनगरको जितमा कप्तान रोहित पौडेल र गौराअंशु शर्माले अर्धशकत प्रहार गरे। रोहितले ४२ बलमा ६६ रन बनाए भने अमेरिकी ब्याट्सम्यान गौराअंशुले ४९ बल सामना गरेर ५१ रन जोडे। लिगमा रोहितका लागि यो तेस्रो अर्धशतक हो। गौराअंशुले यसअघि एक खेलमा अर्धशतक बनाएका थिए।

काठमाडौँलाई मध्यम योगफलमा रोक्न विराटनगरका रान नान्नानले १३ रन खर्चिएर चार विकेट हात पारे। उनको बलमा लोकेश बम र कमल ऐरी शून्यमा आउट भएका थिए। पराजित टिमका लागि सन्तोस कार्की र एलेकस ब्लेकले ३४–३४ तथा सन्दिप राजलीले ३० रनको योगदान गरेका थिए।

पोखरासँग भिड्नुअघि जम्मा दुई खेल जितेको फारवेस्टले २० ओभरमा पाँच विकेट गुमाएर १८७ रन बनाएको थियो। अनिवार्य जितको खोजीमा रहेका पोखरा भने १४६ रनमा अलआउट हुन पुग्यो।

लिग चरणमा सुरुवाती पाँच खेल गुमाएको पोखराले त्यसपछि लगातार तीन खेलमा जित दर्ता गरेको थियो। तर गत बिहीबार जनकपुरसँग हार व्यहोरेपछि पोखराको प्लेअफ लक्ष्य खतरामा पा¥यो। सम्भावनालाई जीवित राख्न अन्तिम खेलमा फारवेस्टलाई हरउनु पर्नेमा पोखराको बलिङ र ब्याटिङ दुवै चलेन।

कप्तान हास्मतुल्लाह शाहिदी र विनोद भण्डारीले पहिलो विकेटका लागि १३४ रनको साझेदारी गरेपछि फारवेस्टले बलियो सुरुवात गरेको थियो। अफगानिस्तानका शाहिदीले लिगमा लगातार तेस्रो अर्धशतक प्रहार गर्ने क्रममा ५१ बलमा ६७ रन जोडे। उनका साझेदार विनोदको नाममा ५९ रन रह्यो।

त्यसपछिका ब्याट्सम्यानले भने उल्लेखनीय रन बटुल्न सकेनन्। रशिद खान १४ रनमा सीमित भए भने मिलिन्दा सिरिवद्र्धना र करण केसीले क्रमशः १२ र ११ रनको योगदान गरे।

पोखराका प्रतिस जिसीले ११ बलमा ३४ रन बनाए पनि टिमको हार टरेन। पराजित टिमका उपुल थरंगाले ३६ र सिद्धान्त लोहनीले पोखराका लागि ३६ र २८ रन जोडेका थिए।

प्रकाशित: २३ पुष २०७९ १९:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + five =