विश्वकप खेलेका खेलाडीलाई सन् २०२३ कठिन हुनेछ : योर्गन क्लप

हिमाल प्रेस १० पुष २०७९ ११:०९
10
SHARES
विश्वकप खेलेका खेलाडीलाई सन् २०२३ कठिन हुनेछ : योर्गन क्लप

काठमाडौँ- विश्वकपका कारण विश्राममा रहेको इंग्लिस प्रिमियर लिग सोमबार साँझबाट फर्कदैछ। विश्रामअघि उपाधि र शीर्ष चारमा पर्ने प्रतिस्पर्धामा ठूला टिम थिए। यो प्रतिस्पर्धा सोमबारबाट फेरि सुरु हुनेछ।

विश्वकप खेलेर फर्कदै गरेका खेलाडीका लागि लिगका बाँकी खेल कठिन हुने लिभरपुलका प्रशिक्षक योर्गन क्पलको अनुमान छ। सोमबार राति एस्टन भिल्लाको सामना गर्नुअघि आयोजित पत्रकार सम्मेलनमा क्लपले यस्तो अभिव्यक्ति दिएका हुन्।

‘विश्वकप खेलेका खेलाडी थकित छन्। उनीहरूलाई आराम चाहिएको छ। तर लिग सुरु हुन लागेकाले उनीहरूसँग आरामको सुविधा छैन। यसकारण उनीहरूका लागि सन् २०२३ कठिन हुनेवाला छ,’ क्लपले भनेका छन्।

यस्तो परिस्थितिका कारण आफ्नो टिम पनि अप्ठ्यारोमा परेको क्लपको भनाइ थियो। ‘सिनियर खेलाडीहरू विश्वकपका लागि कतारमा थिए। उनीहरूको शारीरिक अवस्था कस्तो छ भनेर असाध्यै चनाखो हुनुपर्ने अवस्था छ। यसले गर्दा टिमको खेल योजनामै असर परिरहेको छ,’ केही दिनअघि काराबओ कपमा म्यानचेस्टर सिटीसँग हार व्यहोरेको लिभरपुलका क्लपले भने।

लिगमा लिभरपुल हाल छैटौँ स्थानमा छ। सिजनको सुरुवात खराब ढंगमा गरेको लिभरपुल सम्हालिने प्रयासमा छ। यस्तोमा १२ औँ स्थानमा रहेको भिल्ला लिभरपुलका लागि कठिन परीक्षा हो। उनाई एम्री प्रशिक्षक बनेपछि भिल्लाले मजबुत प्रदर्शन गरिरहेको छ।

यही बेला लिभरपुलका केही मुख्य खेलाडी घाइते भएका छन्। केही खेलाडी पहिलेबाटै मैदान बाहिर थिए। जेम्स मिल्नर र रोबर्टो फरमिन्हो पछिल्लो समय घाइते भएका खेलाडी हुन्। विश्वकपबाट फर्किएका फुलब्याक ट्रेन्ट अलेक्जान्डर आर्नोल्डले अझै पूर्णरुपमा अभ्यासको हिस्सा बनेका छैनन्।

एलेक्स अक्सलेड चेम्बरलेन र भर्जिल भान डाइक भने भिल्लासँगको खेलका लागि तयार छन्। यो खबरले क्लपलाई राहत दिएको छ।

घरेलु कपमा हारे पनि लिगमा सिटीलाई भेट्ने लक्ष्यमा क्लप आशावादी छन्। ‘हामीबीच दूरी छ। तर त्यो दूरी कम गर्न हामी सक्षम छौँ। काराबाओ कपमा हारे पनि म आशावादी छु। हारका बाबजुद त्यस खेलबाट म सकारात्मक बनेको छु,’ क्लपले भने।

उनले आफ्नो टिम ताजा सुरुवातका लागि उत्साहित रहेको पनि बताए। ‘हामीले सुधार गर्नुपर्ने निकै कुरा छन्। मलाई लाग्छ हामी त्यसमा सफल हुन्छौँ। लामो विश्रामपछि लिग सुरु हुन लागेकाले यो हाम्रा लागि अवसर हो, नयाँ सुरुवातको,’ क्लपको भनाइ थियो।

प्रकाशित: १० पुष २०७९ ११:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × one =