च्याम्पियन्स लिग : दबाबमा युनाइटेड, स्थिरताको खोजीमा बायर्न

हिमाल प्रेस १६ असोज २०८० ६:३१
18
SHARES
च्याम्पियन्स लिग : दबाबमा युनाइटेड, स्थिरताको खोजीमा बायर्न

काठमाडौँ- च्याम्पियन्स लिग एक वर्षपछि ओल्ड ट्राफोर्ड फर्किदैछ। यद्यपि यो पुनरागमन सही समयमा भइरहेको छैन। किनभने यति बेला म्यानचेस्टर युनाइटेड खराब लयमा छ। इंग्लिस प्रिमियर लिगमा युनाइटेड १० औँ स्थानमा छ।

एरिक टेन हागको टिम घरेलु लिगको पछिल्लो खेलमा क्रिस्टल प्यालेससँग हारेको थियो। प्रिमियर लिगमा भोगिरहेको असफलतालाई युनाइटेड मंगलबार राति भुल्न चाहन्छ। ताकि फरक मानसिकतामा साथ गालाटासारेसँग भिड्न सकियोस्।

नयाँ सिजनको च्याम्पियन्स लिगको आफ्नो पहिलो खेलमा युनाइटेडले बायर्न म्युनिखको सामना गरेको थियो। समूह ‘ए’ को खेलमा युनाइटेडले ३–२ को पराजय भोगेको थियो। अब थप एक खेलमा हारे, युनाइटेड समूह चरणबाटै बाहिरिने खतरा उत्पन्न हुनेछ।

टेन हाग गत सिजन युनाइटेडको प्रशिक्षक बनेका हुन्। सन् २०१९ को च्याम्पियन्स लिगमा उनले आयाक्सलाई सेमिफाइनलसम्म पुर्‍याएका थिए। आयाक्सलाई चार सिजनमा तीन पटक डच च्याम्पियन बनाएपछि उनलाई युनाइटेड हाक्नसक्ने प्रशिक्षकका रूपमा हेरिएको थियो।

पहिलो सिजन युनाइटेडलाई शीर्ष चारमा पुर्‍याएका टेन हागले यो सिजन त्यस्तो सफलता हात पार्लान् शंका उत्पन्न भइरहेको छ। यद्यपि पछिल्ला नतिजालाई बिर्सिएर अघि बढ्नु पर्ने उनको भनाइ छ।

‘प्यालेससँगको हारले हामीलाई निराश बनाएको छ। तर त्यो खेललाई विश्लेषण गरी अघि बढ्नुबाहेकको विकल्प हामीसँग छैन,’ टेन हागले भनेका छन्।

प्यालेससँग हारेपछि युनाइटेड समर्थकले ओल्ड ट्राफोर्डमा आफ्ना खेलाडी तथा प्रशिक्षकप्रति चर्को असन्तुष्टि व्यक्त गरेका थिए। टेन हाग भने समर्थकको असन्तुष्टिले आफ्ना खेलाडीलाई अर्को खेलका लागि तयार हुन नरोक्ने बताउँछन्। गालाटासारेसँग खेल्दा समर्थकले पूर्ण समर्थन गर्ने पनि उनको विश्वास छ।

उता युनाइटेडकै रक्षक राफाएल भारानले आफ्नो टिम च्याम्पियन्स लिग जित्न सक्षम रहेको प्रतिक्रिया दिए। ‘हामीसँग पर्याप्त स्तरीय खेलाडी छन्। यसकारण च्याम्पियन्स लिग जित्न सकिन्छ। तर प्रदर्शनमा सुधार भने गर्नैपर्छ। हामीले सुरुवात ठिकठाक गरेका छैनौँ। यस्तोमा गालाटासारेविरुद्धको खेल जित लयमा फर्किने सही अवसर हो,’ रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका भारान भन्छन्।

युनाइटेड तीन पटकको युरोपेली च्याम्पियन हो। युनाइटेडले सन् १९६८ र १९९९ मा युरोपियन कप जितेको थियो। युरोपियन कप च्याम्पियन्स लिगमा रुपान्तरण भएपछि युनाइटेड सन् २००८ मा विजेता बन्यो। तीन वर्षपछि एकपटक फेरि फाइनलमा पुगेको युनाइटेड बार्सिलोनासँग हारेको थियो।

समूह ए कै अर्को खेलमा बायर्न मंगलबार राति एफसी कोपनहेगनसँग आमनेसामने हुँदैछ। बायर्नले युनाइटेडलाई हराएर च्याम्पियन्स लिगमा सुखद् सुरुवात गरेको थियो। यद्यपि इन्जुरी समयमा गोल गरेपछि मात्र बायर्नको जित सुनिश्चित भएको थियो।

त्यसपछि बायर्नले घरेलु लिगमा दुई जित हात पार्‍यो। तर गत साता भने आरबी लाइपजिगसँग बराबरीमा रोकियो। यस्तोमा कोपनहेगनमाथि जित रच्दै बायर्न बलियो लयमा फर्कन चाहन्छ।

‘बलिया टिमसँग हाम्रो प्रदर्शन केही खस्किएको छ। बायर लेभरकुजनसँग पनि बराबरीमा रोकियौँ। अहिले फेरि लाइपजिगलाई हराउन सकेनौँ। युनाइटेडविरुद्ध हामीले निकै गल्ती गर्यौँ। यस्तो लाग्छ बलिया टिमसँग हामी ९० मिनेट उही लयमा खेल्न सक्दैनौँ,’ बायर्नका कप्तान जोसुआ किमिकले चिन्ता व्यक्त गरेका छन्।

किमिकसँग बायर्नका अर्का खेलाडी जमाल मुसिआला सहमत छन्। यो सिजन आफूहरुले लगातार केही खेलमा राम्रो खेल्न नसकेको उनको भनाइ छ। ‘हामीले थप मेहनत गर्न जरुरी छ। कतिपय क्षणमा हामी योजना अनुसारको खेल्न सकिरहेका हुँदैनौँ,’ कोपनहेगनसँगको खेलअघि मुसिआलाको भनाइ थियो।

अस्थिर प्रदर्शनका कारण बायर्नका प्रशिक्षक थोमस टुकल निराश भने छैनन्। तर आफ्नो टिमले किन उहीस्तरको खेल्न नसकिरहेको भन्ने प्रश्नको जवाफ उनले दिएका छैनन्।

‘म निराश चाहिँ छैन। हामी विगतका खेलको विश्लेषण गरिरहेका छौँ। के निचोड निस्किन्छ, खेलाडीहरुसँग छलफल गरिनेछ,’ टुकलले भनेका छन्, ‘हामी यस्तो रणनीति बनाउने प्रयासमा छौँ, जसले घरबाहिर खेल्दा सही नतिजा हात पार्न सहयोग गरोस्।’

टुकलले डेनिस क्लब कोपनहेगनलाई कमजोर नआँकिएको पनि बताएका छन्। च्याम्पियन्स लिग खेल्ने हरेक टिमलाई बायर्नले सम्मान गर्ने उनको भनाइ थियो। ‘कोपनेहगन आक्रामक खेल्छ। उसका खेलाडी तीव्र गतिका छन्। मिडफिल्डरहरु शारीरिक रुपमा बलिया छन् भन्ने थाहा छ। रक्षकहरु पनि आरामले पास खेल्छन्। यो खेल सजिलो हुनेछैन,’ टुकलले भने।

कोपनहेगनले च्याम्पियन्स लिगको पहिलो खेलमा गलाटासारेलाई टर्कीमा बराबरीमा रोकेको थियो। डेनिस लिग विजेता कोपनहेगनले आफ्नो मैदानमा यसपल्ट युरोपेली खेल हारेको छैन। पार्केन रंगशालामा कोपनहेगनले घरेलु लिगका कुनै पनि खेल गुमाएको छैन। यो तथ्यबारे टुकल जानकार छन्।

‘कोपनहेगनले घरेलु मैदानमा जसरी खेलेको छ, त्यसले उसको स्तरबारे जानकारी दिन्छ। तर हामी पार्केनमा कोपनहेगनलाई हराउने पहिलो टिम बन्न चाहन्छौँ,’ टुकलले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + fourteen =