गण्डकीको मुख्यमन्त्री नियुक्ति विवादको बहस सकियो, लेखिँदै छ आदेश

हिमाल प्रेस १७ वैशाख २०८१ १९:०१
8
SHARES
गण्डकीको मुख्यमन्त्री नियुक्ति विवादको बहस सकियो, लेखिँदै छ आदेश सर्वोच्च अदालत

काठमाडौँ- गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीको नियुक्ति विवादबारे सर्वोच्च अदालतमा वादी–प्रतिवादी वकिलहरूको बहस सकिएको छ। गत १० वैशाखमा नभ्याइएको दुवै पक्षको बहस सकिएको र आदेश आउन केही समय लाग्ने सर्वोच्चका सूचना अधिकारी गोविन्दप्रसाद घिमिरेले जानकारी दिए। उनका अनुसार आजै आदेश आउनेछ।

न्यायाधीश सपना प्रधान मल्ल र शारङ्गा सुवेदीको इजालसमा सोमबार यो रिटको सुनुवाइ भएको हो। कांग्रेसले सभामुखलाई प्रयोग गरेर सरकार बनाउनु गैरसंवैधानिक हुने जिकिर गरेको छ। एमाले–माओवादीले संसद् सदस्यको संख्या सभामुखसमेत गरेर ३० भएकाले बहुमत पनि सभामुखसहित हुनु जायज भएको दाबी गरेका छन्।

अदालतले मुख्यमन्त्री नियुक्तिबारे आज सुनाउने अन्तिम फैसलामा यही कानुनी अन्योलको व्याख्या हुनेछ। गत २५ चैतमा एमालेका २२, सभामुखसहित माओवादीका आठ र एक जना स्वतन्त्र सांसदको समर्थनमा बहुमत पुर्‍याएर अधिकारी मुख्यमन्त्री बनेका थिए।

सभामुखलाई पनि गणना गरेर सरकारमा दाबी गरेको विषयमा विरोध जनाउँदै कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले गत २७ चैतमा सर्वोच्च अदालतमा रिट हालेका थिए। उनले प्रदेश प्रमुख डिल्लीराज भट्ट, सभामुख कृष्णप्रसाद धिताल, एमाले दल नेता एवं मुख्यमन्त्री खगराज अधिकारी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पोखरालाई प्रतिवादी बनाएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ १९:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 1 =