गण्डकी कांग्रेसको चेतावनी : सभामुखले कठघरामा उभिएर जवाफ दिनुपर्ने अवस्था आउन सक्छ

हिमाल प्रेस २३ वैशाख २०८१ १६:४७
28
SHARES
गण्डकी कांग्रेसको चेतावनी : सभामुखले कठघरामा उभिएर जवाफ दिनुपर्ने अवस्था आउन सक्छ कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे।

काठमाडौँ-  नेपाली कांग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेले सभामुखले संसदीय मर्यादा बिर्सेमा कठघरामा उभिएर जवाफ दिनुपर्ने अवस्था आउन सक्ने चेतावनी दिएका छन्।

आइतबार मुख्यमन्त्री खगराज अधिकारीले मागेको विश्वासको मतको प्रस्तावमा छलफलमा बोल्दै निवर्तमान मुख्यमन्त्री समेत रहेका प्रमुख प्रतिपक्षी दल कांग्रेस संसदीय दलका नेता पाण्डेले उक्त चेतावनी दिएका हुन्।

मुख्यमन्त्री अधिकारीले ६० सदस्यीय प्रदेशसभामा बहुमत (३१ सदस्य) नपुग्ने भएपछि ३० लाई बहुमत हुने भन्ने ‘सर्वोच्चको व्याख्या’ भन्दै विश्वासको मत लिने तयारीमा छन्।

उनी गत २५ चैतमा एमालेका २२, सभामुखसहित माओवादीका ८ र राजीव गुरुङ (दीपक मनाङे) को समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए। विश्वासको मतमा बराबर भएमात्रै सभामुखले निर्णायक मत हाल्न पाउने संवैधानिक व्यवस्था छ।

तर गण्डकीमा बराबरी हुन सक्ने सम्भावना छैन। त्यसैले सभामुख कृष्णप्रसाद धितालले ३० लाई नै आधार मानेर मुख्यमन्त्री घोषणा गर्न सक्ने प्रवल सम्भावनाबीच पाण्डेको यस्तो चेतावनी आएको हो।

उनले भने, ‘संवैधानिक सर्वोच्चताको सवालमा सम्झौता हुन सक्दैन। संवैधानिक सर्वाैच्चतालाई ख्याल गरौं। कानुनी राज्यको कल्पना गरौं। सत्ता लिप्साको लागि कानुन कुल्चेर, संसदीय मर्यादा कुल्चेर अघि बढ्ने हो भने कांग्रेसलाई मान्य छैन।’

उनले अस्थिर राजनीतिका लागि संवैधानिक भावनाभन्दा बाहिर गएर आफूलाई प्रस्तुत गर्ने जुन व्यवहार हामीले देखिरहेका छौं त्यो सह्य नहुने स्पष्ट पार्दै मुख्यमन्त्रीको विश्वासको मत प्रस्तावमा दलले समर्थन नगर्ने बताए।

त्यसअघि, माओवादी संसदीय दलका नेता हरिबहादुर चुमानले मुख्यमन्त्रीलाई मत नदिए मध्यावधिको डर रहेको बताए। उनले सर्वोच्च अदालतको केही व्याख्या भएका छन्, हुँदै पनि जालान् भन्दै ३० लाई नै बहुमत हुने जिकिर गरे। राप्रपा संसदीय दलका नेता पञ्चराम गुरुङले आफ्नो दलले मुख्यमन्त्रीलाई विश्वासको मत नदिने स्पष्ट पारे।

प्रकाशित: २३ वैशाख २०८१ १६:४७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − eleven =