ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मका माग पूरा गर्न शिक्षामन्त्री सकारात्मक

हिमाल प्रेस ३१ वैशाख २०८१ ६:५०
9.9k
SHARES
ईसीडी शिक्षकदेखि विद्यालय कर्मचारीसम्मका माग पूरा गर्न शिक्षामन्त्री सकारात्मक

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठ शिक्षक, विद्यालय कर्मचारी, बालविकास शिक्षकका माग र मुद्दामा सकारात्मक देखिएकी छन्।

नेपाल शिक्षक महासंघका नवनिर्वाचित अध्यक्ष लक्ष्मीकिशोर सुवेदी नेतृत्वको टोलीसँग आइतबार मन्त्रालयमा भएको भेटमा मन्त्री श्रेष्ठले सामुदायिक विद्यालय सुधारका लागि आफू शिक्षकसँग मिलेर अघि बढ्न तयार रहेको बताएकी हुन्।

भेटमा सहभागी नेपाल शिक्षक संघका संघीय कार्यसमिति अध्यक्ष सोमनाथ गिरीले शिक्षामन्त्रीलाई उधृत गर्दै भने, ‘तपाईँहरूसँग सहकार्य गर्ने हो, तपाईँ र हामी एउटै हो।’

महासंघले मन्त्रालयमा रहेको शैक्षिक संवाद समितिलाई ब्युँताएर शिक्षक, विद्यालय कर्मचारी, बाल विकास शिक्षकका पेसागत मुद्दासहित विद्यालय शिक्षाका बारेमा नियमित छलफल गर्नुपर्ने प्रस्ताव गरेको छ।

यसैगरी महासंघले संसद्मा विचाराधीन विद्यालय शिक्षा विधेयकलाई जतिसक्दो छिटो अगाडि बढाउनका लागि अग्रसरता लिन मन्त्री श्रेष्ठसँग अनुरोध गरेको छ।

महासंघ र सरकारबीच पछिल्लोपटक भएको सहमतिलाई आधार बनाएर बजेट विनियोजन गर्नुपर्ने, विद्यालय कर्मचारीले नियमित तलब पाउनुपर्ने, बालविकास शिक्षकको तलब बढाउनुपर्ने, शिक्षकलाई मासिक रुपमा तलब उपलब्ध गराउनुपर्ने विषयमा महासंघले मन्त्री श्रेष्ठको ध्यानाकर्षण गराएको छ।

शिक्षक अस्पताल नबन्दासम्म शिक्षकहरुले प्रादेशिक अस्पताल, सिभिल अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पतालबाट स्वास्थ्य उपचार सुविधा पाउनुपर्ने, सबै तहका शिक्षकको ग्रेड समायोजन हुनुपर्ने, परिषद् नभएका कारण पालिकाहरुबाट शिक्षकले तलब नपाउने अवस्थाको अन्त्य हुनुपर्ने विषयमा मन्त्रीको ध्यानाकर्षण गराइएको गिरीले जानकारी दिए।

शिक्षक सेवा आयोगले नियमित रुपमा विज्ञापन गर्दा अस्थायी शिक्षकहरु विस्थापन भइरहेको हुनाले उनीहरुको पेसागत सुरक्षाको सुनिश्चितता गर्न पनि महासंघले सरकारसँग माग गरेको छ।

जिल्लान्तर सरुवा तुरुन्त खोल्न माग गरिएको गिरीले बताए। शिक्षकहरुले राजनीति गरे भनेर जुन भाष्य निर्माण भएको छ, त्यसलाई गलत रुपमा व्याख्या गरिएको मन्त्री श्रेष्ठले बताएकी थिइन्।

महासंघका पदाधिकारीले विद्यालय व्यवस्थापनमा पालिकाहरुले हस्तक्षेप गरेको तर खुरुखुरु पढाइरहेका शिक्षकलाई राजनीति गरे भनेर दोष लगाउन नहुने बताएका थिए।

मन्त्री श्रेष्ठ नवनिर्वाचित पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिएकी थिइन्।

प्रकाशित: ३१ वैशाख २०८१ ६:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =