च्याम्पियन्स लिग

रियल र बायर्न नकआउटमा, युनाइटेड बहिर्गमनको खतरामा

हिमाल प्रेस २३ कार्तिक २०८० ६:४९
10
SHARES
रियल र बायर्न नकआउटमा, युनाइटेड बहिर्गमनको खतरामा

काठमाडौँ- एफसी कोपनहेगनसँग हारेपछि म्यानचेस्टर युनाइटेड च्याम्पियन्स लिग समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। बुधबार रातिको यो खेलमा युनाइटेड ४-३ ले पराजित भएको हो।

युनाइटेड पराजित हुँदा रियल म्याड्रिड र बायर्न म्युनिख भने विजयी भएका छन्। रियलले घरेलु मैदानमा ब्रागालाई ३-० र बायर्नले गालाटासारेलाई २-१ ले हराएका हुन्।

आआफ्ना खेल जितेपछि यी दुवै क्लब च्याम्पियन्स लिगको नकआउट चरणमा पुगे। रियल समूह ‘सी’ र बायर्न समूह ‘ए’ को विजेता बन्दै नकआउटमा पुगेका हुन्।

यसअघि म्यानचेस्टर सिटी र आरबी लाइपजिगले अन्तिम १६ मा स्थान बनाइसकेका छन्। उता इन्टर मिलान र रियल सोसिडाड पनि अन्तिम १६ मा प्रवेश गरे। बुधबार नै भएका खेलमा इन्टरले साल्जबर्गलाई १-० र सोसिडाडले बेनफिकालाई ३-१ ले पन्छाए।

समूह ‘डी’ बाट सोसिडाड र इन्टर समूह विजेता र उपविजेताको हैसियतमा अन्तिम १६ मा पुगेका हुन्। यी दुवैसँग १०-१० अंक छ। समूहका बाँकी टिम साल्जबर्गसँग तीन अंक छ भने बेनफिका अंकविहीन छ।

कोपनेहगनमा युनाइटेड खेलमा २-० ले अघि बढेको थियो। तर मार्कस रासफोर्डले रातो कार्ड पाएपछि १० खेलाडीमा सीमित युनाइटेडविरुद्ध डेनिस टिमले पुनरागमन जित हात पा¥यो।

डेनिस राजधानीमा युनाइटेडले पहिलो हाफको तेस्रो मिनेटमा अग्रता लिएको थियो। सुरुवाती गोल रास्मुस होइलन्डले गरे। पहिलो गोलका लागि उनलाई आरोन वान विसाका र स्कट म्याकटोमिने सहयोग गरे। विसाकाले राइट विंगमा म्याक टोमिनेका लागि पास निकालेका थिए। पास पाएपछि स्कटिस मिडफिल्डरले डेनिस स्ट्राइकरलाई क्रस दिए। जसमा होइलन्डले ट्याप इन गोल गरे।

होइलन्डले आफ्नो पूर्वक्लबविरुद्ध २८ औँ मिनेटमा दोस्रो गोल गरे। काउन्टर अट्याक गरेको युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले अलेहान्द्रो गार्नाचोलाई पास दिएका थिए। गार्नाचोले प्रहार गर्न भ्याए तर उनको प्रहार कोपनहेगनका गोलरक्षक कामिल ग्राबाराले रोके। तर बल क्लियर भएन। त्यहीबेला पेनाल्टी बक्समा पुगेका होइलन्डले रिबाउन्ड बल पाए र गोल गरे।

एटलान्टाबाट यही सिजन युनाइटेड पुगेका होइलन्डले इंग्लिस प्रिमियर लिगमा गोलको खाता खोल्न सकेका छैनन्। छ करोड ४० लाख पाउन्ड मूल्यका यी स्ट्राइकरले च्याम्पियन्स लिगमा भने चार खेलमा पाँच गोल गरिसकेका छन्।

दुई गोल गरिसकेको युनाइटेडले ४२ औँ मिनेटमा झट्का बेहोर्यो। यो सिजन गोल गर्न संघर्षरत रासफोर्डले रातो कार्ड पाए। बल नियन्त्रणमा राख्ने क्रममा कोपनहेगनका इलियास जेलेर्टको कुर्कुच्चा कुल्चिएका उनलाई भीएआर रिभ्युपछि रातो कार्ड दिइएको थियो।

पहिलो हाफ नसकिँदै कोपनेहगनले पहिलो गोल फर्कायो। मोहम्मद एल्योनौसीले पेनाल्टी बक्सभित्र डिओगो गोन्साल्भेसबाट आएको सटिक पासमा सजिलै गोल गरे। त्यसपछि इन्जुरी समयमा कोपनहेगनले बराबरी गोल ग¥यो। ह्यारी मग्वायरले ह्यान्ड गरेपछि कोपनहेगनले पेनाल्टी पाएको थियो। जसमा गोन्साल्भेस चुकेनन्।

दोस्रो हाफमा युनाइटेडले पनि पेनाल्टी पायो। लुकास लेरागरले ह्यान्ड गरेपछि युनाइटेडलाई ६९ औँ मिनेटमा पेनाल्टीको अवसर दिइएको थियो। कप्तान ब्रुनोले गोल गरेपछि खेलमा युनाइटेडले फेरि एकपल्ट अग्रता लिनसक्यो।

तर लेरागेरले ८३ औँ र सब्स्टिच्युट रुनी बारदजीले ८७ औँ मिनेटमा गोल गरेपछि कोपनहेगनले तीन पटकको च्याम्पियन्स लिग विजेता युनाइटेडलाई स्तब्ध बनाउन सक्यो।

हारपछि युनाइटेड समूह ‘ए’ को पुछारमा छ। युनाइटेडसँग चार खेलबाट तीन अंक छ भने बुधबार नै बायर्न म्युनिखसँग हारेको गालाटासारे तेस्रो स्थानमा छ। टर्कीको गालाटासारेले चार अंक बटुलेको छ। शीर्ष दुईमा बायर्न र कोपनहेगन छन्। बायर्नसँग १२ अंक छ। कोपनहेगनले भने गालाटासारेलाई गोल अन्तरमा पछाडि धकेलेको हो।

रियलको जितमा हालका पहिलो रोजाइका गोलरक्षक केपा अरिजाबालागाले खेल्न पाएनन्। वार्मअपमा घाइते भएका उनलाई आन्द्रे लुनिनले प्रतिस्थापन गरेका थिए। लुनिनले ब्रागाका अल्भारो यालोले छैटौँ मिनेटमा प्रहार गरेको पेनाल्टी रोकेका थिए।

ज्युड बेलिङहमलाई आराम दिइएको खेलमा ब्राहिम डियाजले रियलको पहिलो गोल गरेका थिए। त्यसपछि भिनिसियस जुनियर र रोड्रिगोले एक-एक गोल गरे।

बायर्नले घरेलु मैदानमा टर्कीस विपक्षीलाई पन्छाउँदा ह्यारी केनले दुई गोल गरे। निर्धारित समय सकिन १० मिनेट बाँकी छँदा उनले पहिलो गोल गरेका थिए। त्यसको ६ मिनेटपछि उनले बायर्नको अग्रता दोब्बर बनाए। बायर्नमा पहिलो सिजन खेलिरहेका उनले १५ खेलमा १९ गोल गरिसकेका छन्।

गालाटासारेका लागि सेडरिक बाकाम्बुले इन्जुरी समयमा गोल फर्काएका थिए। तर पाहुना टिमले हार टार्न अर्को गोल थप्न सकेन।

उता समूह ‘बी’ मा आर्सनलले सेभियालाई २-० ले पराजित ग¥यो। आर्सनलको जितमा बुकायो साका र लियान्द्रो टोसार्डले एक-एक गोल गरे। जितपछि आर्सनल नकआउट चरणको नजिक पुगेको छ। आर्सनलसँग अब चार खेलबाट नौ अंक छ। दोस्रो स्थानको पीएसभी आइन्डहोभन र तेस्रो स्थानको लान्ससँग पाँच-पाँच अंक छ। सेभिया दुई अंकसहित पुछारमा छ।

प्रकाशित: २३ कार्तिक २०८० ६:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =