प्रिमियर लिग

चेल्सीलाई राहत

हिमाल प्रेस २१ कार्तिक २०८० ९:३५
8
SHARES
चेल्सीलाई राहत

काठमाडौँ- निकोलस ज्याक्सनले ह्याट्रिक गरेपछि चेल्सीले इंग्लिस प्रिमियर लिगमा टोटनहमलाई ४–१ ले हराएको छ। सोमबार राति घरेलु मैदानमा पराजित भएसँगै टोटनहमको नौ खेलको अपराजित शृंखला टुंगियो।

टोटनहम रंगशालामा खेल सामान्य ढंगमा अन्त्य भने भएन। भीएआरले पटक पटक हस्तक्षेप गरेको खेलमा टोटनहमका दुई खेलाडीले रातो कार्ड पाए। टोटनहमले ३३ औँ मिनेटमा त्रिस्टउन रोमेरो र ५५ औँ मिनेटमा इएनोमा उडिगीलाई गुमाएको थियो।

टोटनहमले दुई रक्षक गुमाएको फाइदा चेल्सीले मज्जाले उठायो। फेरि यो जित चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनोका लागि सम्झनलायकको रह्यो। किनभने उनी सन् २०१९ पछि पहिलो पटक टोटनहम फर्किएका हुन्।

टोटनहमले उनलाई सन् २०१९ को नोभेम्बरमा बर्खास्त गरेको थियो। गत मेमा टोटनहमको प्रतिद्वन्द्वी चेल्सीको प्रशिक्षक बनेका उनी पूर्वक्लब फर्कंदा तीन अंक बटुल्न सफल भए।

उसो त खेलमा अग्रता टोटनहमले लिएको थियो। डेयान कुलुस्भेस्कीले छैटौँ मिनेटमा गोल गरेका थिए। तर चेल्सी ३५ औँ मिनेटमा खेलमा फर्कियो। कोल पाल्मरले पेनाल्टीमा गोल गरेपछि खेल बराबरीमा पुगेको थियो। चेल्सीले पेनाल्टी रोमेरोको फाउलका कारण पाएको थियो।

रोमेरोले पटक पटक चेल्सीका खेलाडीमाथि फाउल गरेका थिए। विजयी टिमका लेभी कोलविललाई लात हानेवापत नै उनले रातो कार्ड पाउनु पर्ने थियो। तर त्यसबेला उनी बचे। यद्यपि केही मिनेटपछि उनी रेफ्रीको नजरमा परिहाले।

मोइसेस काइसेडोले बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएको थियो। तर रेफ्रीले अफसाइडको निर्णय सुनाए। यद्यपि यो गोलको बिल्डअपमा रोमेरोले इन्जो फर्नान्डेजलाई लडाएकाले भीएआरले चेल्सीलाई पेनाल्टीको अवसर दिएको थियो।

रोमेरोलाई गुमाएपछि पनि अगाडि बढेर खेलिरहेको टोटनहमको रक्षापंक्तिलाई चेल्सीले दण्डित गर्‍यो। त्यहीबीचमा गोलको मुभ बनाइरहेका रहिम स्टर्लिङलाई उडिगीले लडाए। र रातो दोस्रो पहेलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भए।

टोटनहम नौ खेलाडीमा सीमित भएको २० मिनेटपछि चेल्सीले अग्रता लियो। स्टर्लिङले दायाँ विंगबाट निकालेको क्रसमा ज्याक्सनले गोल गरे। गोल खाएपछि टोटनहमले पनि केही अवसर सिर्जना गरेको थियो। एरिक डायरले त गोल नै गरे, तर उनको गोललाई भीएआरले मान्यता दिएन। त्यसपछि रोड्रिगो बेन्टाकुर पनि गोलनजिक पुगेका थिए।

इन्जुरी समयमा ज्याक्सनले थप दुई गोल गरे। कोनोर गालागरको क्रसमा गोल गरेका उनले केही बेरपछि मिडफिल्डबाट आएको बललाई नियन्त्रणमा लिँदै टोटनहमका गोलरक्षक गुगलिएल्मो भिकारियोलाई बिट गरेर तेस्रो गोल गरे।

हारपछि टोटनहम २६ अंकसहित दोस्रो स्थानमा छ। गत शनिबार बर्नमाउथलाई पराजित गरेर शीर्षस्थानमा उक्लिएको म्यानचेस्टर सिटीसँग २७ अंक छ। तेस्रो स्थानको लिभरपुल र चौथो स्थानको आर्सनलले २४–२४ अंक बटुलेका छन्।

हारपछि टोटनहमका प्रशिक्षक आग्ने पोस्टेकोग्लुले भीएआरको आलोचना गरे। ‘प्रत्येक पटक भीएआरले खेल रोक्नसाथ थाहा भइहाल्थ्यो, निर्णय हाम्रो विपक्षमा आउँदैछ। भीएआरका सैब निर्णयको अध्ययन हुनुपर्छ। निर्णय त निर्णय हो, माने पनि नमाने पनि। तर जसरी खेलाइयो, मलाई चाहिँ ठिक लागेन,’ पोस्टेकोग्लुले भने।

उनले भीएआरभन्दा रेफ्री र लाइन्सम्यानको निर्णय प्रधान हुनुपर्ने पनि विचार राखे। ‘रेफ्रीको निर्णय मान्नुपर्छ, यही विचारसहित म फुटबलमा हुर्किएको हो। तर अब रेफ्री र लाइन्सम्यानसँग धेरै अधिकार छैन। सबै अधिकार कोठाभित्र टेलिभिजनमा खेल हेर्नेसँग छ। मलाई यो तरिका ठिक लागेको छैन,’ पोस्टेकोग्लुले थपे।

उता चेल्सीका प्रशिक्षक पोचेटिनोले भने स्वाभाविक रुपमा रेफ्री र भीएआरको निर्णयको आलोचना गरेनन्। ‘हामी यो जितको हकदार थियौँ। अहिलेको फुटबलमा प्रविधि छ र प्रविधिले दिने निर्णय स्वीकार गर्नुपर्छ,’ पोचेटिनोको भनाइ थियो।

यो खेलका कारण आफू टोटनहम फर्किएर क्लबका सबैजनासँग औपचारिक बिदा माग्ने अवसर पाएको पनि पोचेटिनोको भनाइ थियो। ‘मैले पहिल बिदा माग्न पाएको थिइनँ। यो खेलका लागि फर्कदा सबैलाई भेटेँ र बिदा मागेँ,’ उनले भने।

टोटनहममाथिको जित पोचेटिनकोका लागि राहत हो। किनभने उनको स्टाम्फोर्ड ब्रिज बसाइ भनेजस्तो भइरहेको छैन। लिभरपुलसँगको बराबरीबाट सिजनको सुरुवात गरेको चेल्सीले दोस्रो खेलमै वेस्टह्याम युनाइटेडसँग पराजित भएको थियो।

त्यसपछिका आठ खेलमध्ये तीनमा पराजय भोगेपछि पोचेटिनोमाथि दबाब बढेको थियो। उसो त खेलाडीको चोटका कारण पनि चेल्सी राम्रोसँग ‘सेट’ हुन पाएको थिएन। ‘सुरुका कयौँ खेलमा हामीसँग बलियो टिम थिएन, धेरै खेलाडी घाइते थिए। अब भने हामी सकारात्मक नतिजा हात पारिरहेका छौँ। यो लयलाई जारी राख्न आवश्यक छ,’ पोचेटिनोले भने।

सहरी प्रतिद्वन्द्वीलाई हराएपछि चेल्सीको ११ खेलबाट १५ अंक भएको छ। चेल्सी १० औँ स्थानमा छ, जुन चौथो स्थानमा रहेको अर्को प्रतिद्वन्द्वी आर्सनलभन्दा नौ अंकले कम हो।

प्रकाशित: २१ कार्तिक २०८० ९:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + one =