फेरि हार्‍यो टोटनहम, दबाबमुक्त हुँदै युनाइटेड; न्युकासल बर्नमाउथसँग स्तब्ध

हिमाल प्रेस २६ कार्तिक २०८० ७:४०
10
SHARES
फेरि हार्‍यो टोटनहम, दबाबमुक्त हुँदै युनाइटेड; न्युकासल बर्नमाउथसँग स्तब्ध

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडले लुटनमाथि १–० को संघर्षपूर्ण जित हात पार्दा टोटनहम भने उल्भरह्याम्पटनसँग २–१ ले पराजित भएको छ। त्यसैगरी न्युकासल युनाइटेडलाई बर्नमाउथले स्तब्ध बनायो।

शनिबार राति ओल्ड ट्राफोर्डमा युनाइटेडलाई जिताउन भिक्टर लिन्डेलोफले दोस्रो हाफमा गोल गरे। यो जित युनाइटेडले लिगका पाँच खेलमा हासिल गरेको चौथो जित हो। यो जितपछि युनाइटेड छैटौँ स्थानमा उक्लिएको छ।

युनाइटेड शीर्ष ६ मा छिरेसँगै प्रशिक्षक एरिक टेन हागमाथिको दबाब कम भएको मानिँदैछ। केही दिनअघि च्याम्पियन्स लिगमा एफसी कोपनहेगनसँग हारेका कारण घरेलु लिगमा युनाइटेड जितको खोजीमा थियो।

युनाइटेडले यो सिजनको सुरुवाती १० खेलमध्ये पाँचमा पराजय भोगेको थियो। इंग्ल्यान्डको सर्वाधिक सफल क्लबका लागि यो सन् १९३०–३१ यताकै खराब सुरुवात हो। त्यस सिजन युनाइटेड रेलिगेट भएको थियो।

 

अधिकांश हार घरेलु मैदानमा बेहोरेका पनि युनाइटेडभित्र तनाव बढेको थियो। समर्थकले क्लब व्यवस्थापन परिवर्तनको माग राख्दै आएकाले पनि वातावरण ठिकठाक थिएन।

यस्तोमा नवप्रवेशी लुटनसँगको खेल टेन हाग र उनका टिमका लागि महत्त्वपूर्ण बनेको थियो। यही सिजन प्रिमियर लिगमा बढुवा भएको लुटन सन् १९९१ यता पहिलो पटक ओल्ड ट्राफोर्ड पुगेको हो।

‘आजको दिन असाध्यै राम्रो रह्यो। हामीलाई जितको आवश्यकता थियो, जितियो। तर यो जित सजिलै भने प्राप्त भएन। हामी आफैँले आफ्ना लागि जित कठिन बनायौँ। खासमा हामीले पहिलो हाफमै गोल गर्नुपर्ने थियो। तर त्यसो हुन सकेन,’ टेन हागले भने, ‘गोलको खाता खोल्न समय लागे पनि जितका लागि पर्याप्त भयो। सबै खेलाडीले मेहनत गरे, व्यवस्थित भएर खेले, विपक्षीलाई कुनै अवसर दिएनन्।’

गत साता चेल्सीसँग फराकिलो हार व्यहोरेको टोटनहम लगातार दोस्रो खेलमा पराजित भयो। उल्भरह्याम्पटनको मैदानमा टोटनहमले ब्रेनान जोन्सनको गोलमार्फत तेस्रो मिनेटमै अग्रता लिएको थियो। तर दोस्रो हाफको इन्जुरी समयमा दुई गोल खाएपछि टोटनहमले शीर्ष स्थानमा उक्लिने मौका गुमायो।

उल्भरह्याम्पटनका लागि पाब्लो साबारियाले थपिएको समयको पहिलो मिनेटमा बराबरी गोल गरेका थिए। त्यसपछि ९७औँ मिनेटमा मारियो लेमिनाले निर्णायक गोल गरे। जेम्स म्याडिसन र मिकी भान डे भेन जस्ता खेलाडीबिना मैदान ओर्लिएका टोटनहमले स्वाभाविक प्रदर्शन गर्न सकेन।

जबकि टोटनहमले यो सिजनको सुरुवात बलियो ढंगमा गरेको थियो। सुरुका १० खेलमा टोटनहम अपराजित थियो। तर गत साता चेल्सीलसँग हारेसँगै टोटनहमको अपराजित शृंखला अन्त्य भयो।

‘हामीलाई थाहा थियो, उल्भरह्याम्पटनले दबाब सिर्जना गर्छ भनेर। उल्भरह्याम्पटनको दबाब बढ्न थालेपछि हामी थाक्दै गयौँ। उनीहरूले सुन्दर गोल पनि गरे,’ हारपछि टोटनहमका प्रशिक्षक आन्ज पोस्टेकोग्लुको प्रतिक्रिया थियो।

टोटनहम पराजित हुँदा उसको सहरी प्रतिद्वन्दी आर्सनल भने विजयी भयो। आर्सनलले बर्नलीलाई ३–१ ले पराजित गर्‍यो र टोटनहमको कब्जामा रहेको दोस्रो स्थान खोस्यो। आर्सनलको अंक अब २७ पुगेको छ। जुन एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग बराबर हो। सिटीजस्तै ११ खेल मात्र खेलेको लिभरपुल २४ अंकका साथ चौथो स्थानमा छ।

आर्सनलको पहिलो गोल लियान्द्रो ट्रोसार्डले गरेका थिए। यो गोल इमिरेट्स रंगशालामा आर्सनलका तर्फबाट भएको एक हजारौँ गोल थियो। आर्सनल सन् २००६ मा हाइबरीबाट इमिरेट्समा सरेको हो।
पहिलो हाफको उत्तरार्द्धमा गोल गरेको आर्सनलले दोस्रो हाफ सुरु भएको १० मिनेट नबित्दै बराबरी गोल खाएको थियो। बर्नलीका जोस ब्राउनहिलले गरेको प्रहार आर्सनलका रक्षक गाब्रियालसँग ठोक्किदै गोलमा परिणत हुन पुगेको थियो।

तर लगत्तै विलियाम सलिबाले गोल गरेपछि आर्सनल फेरि अगाडि बढ्यो। त्यसपछि गोल गर्न पालो आयो, अलेक्जान्डर जिन्चेन्कोको। उनले ७४औँ मिनेटमा गरेको ‘भली’ गोल गरेका थिए।

जिततर्फ अग्रसर आर्सनल ८३औँ मिनेटमा १० खेलाडीमा सीमित भएको थियो। ब्राउनहिलमाथि फाउल गरेपछि फाबियो भिएराले सीधा रातो कार्ड पाएका थिए। उता डोमिनिक सोलान्केले दोस्रो हाफमा दुई गोल गरेपछि बर्नमाउथले न्युकासललाई २–० ले हरायो।

न्युकासलका लागि यो हार जारी सिजनको चौथो हार हो। पछिल्लो खेलमा आर्सनललाई हराएको न्युकासलले लिगमा १२ खेल सकिँदा मिश्रित प्रदर्शन गरिरहेको छ। फलतः न्युकासल सातौँ स्थानमा छ।

शनिबार रातिकै खेलमा एभरटनले क्रिस्टल प्यालेसमाथि ३–२ को जित दर्ता गर्‍यो। एभरटनको जितमा इद्रिसा गाना गुएले ८६औँ मिनेटमा निर्णायक गोल गरेका थिए। यो जितपछि एभरटन अंक तालिकाको मध्यतिर अघि बढेको छ। यो सिजनमा चार खेल जितेको एभरटन १४ अंकसहित १४औँ स्थानमा छ।

प्रकाशित: २६ कार्तिक २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fourteen =