‘चेल्सी अन्डरडग होइन’

हिमाल प्रेस २५ कार्तिक २०८० ११:३१
28
SHARES
‘चेल्सी अन्डरडग होइन’

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आइतबार राति चेल्सीले म्यानचेस्टर सिटीलाई स्वागत गर्दैछ। यो सिजन संघर्षपूर्ण सुरुवात गरेको चेल्सीले गत मंगलबार टोटनहमलाई हराएको थियो। आफूभन्दा निकै उत्कृष्ट लयमा रहेको टिमलाई हराएपछि चेल्सी अन्ततः सही बाटोमा आइपुगेको हो कि भन्ने अनुमान हुँदैछ।

यस्तोमा सिटीसँगको भिडन्त चेल्सीका कठिन परीक्षा हुनेछ। खासमा यो खेलमा चेल्सीलाई अन्डरडग मान्नेको कमी छैन। किनभने पछिल्लो समय सिटीविरुद्ध चेल्सीले भनेजस्तो खेल्न सकेको छैन। गएका ६ खेलमा पराजित भएको छ। एक गोल पनि गर्न सकेको छैन।

चेल्सीका प्रशिक्षक माउरिसियो पोचेटिनो भने आफ्नो टिमलाई अन्डरडग मान्न तयार छैनन्। अन्डरडगको मानसिकता लिएर सिटीविरुद्ध उत्रिन नहुने उनको भनाइ छ। यद्यपि उनी सिटी प्रिमियर लिगको सबैभन्दा बलियो टिम रहेको स्वीकार गर्छन्।

‘मान्नैपर्छ, सिटी यो लिगको सर्वाधिक बलियो टिम हो। खासमा सिटीको व्यवस्थापन पनि अब्बल छ। संस्थाका रुपमा सिटी विश्वकै उत्कृष्टमध्येको हो,’ यही सिजन चेल्सीको प्रशिक्षक बनेका पोचेटिनोले भनेका छन्, ‘सिटीले लगातार सकारात्मक नतिजा निकालिरहेको छ। क्लबभित्र हरेक पक्ष बलियो हुँदा, गर्नुपर्ने सबै काम गरेपछि यस्तो हुने हो।’

सिटीको तारिफ गरिरहँदा पोचेटिनोले आफ्ना खेलाडी प्रतिभावान् छन् भन्न बिर्सिएका छैनन्। लगातार १० खेलमा अपराजित टोटनहमलाई ४–१ ले हराएर आफ्ना खेलाडीले प्रतिभाको प्रमाण देखाएको उनको भनाइ थियो।

‘चेल्सीले आफूलाई कहिले पनि अन्डरडग मानेको छैन। यस्तो भावना चेल्सीका खेलाडीमा छँदै छैन। हामी चेल्सी हो भन्ने भावना मात्र छ। चेल्सीको विगत हेरौँ न, कस्तो छरु यस्तो विगत भएको क्लब अन्डरडग हुन सक्दैन। तर यो पनि सत्य हो, सिटीसामु हामील् घमण्ड चाहिँ गर्नु हुँदैन। बस् आफ्नो स्तर अनुसारको खेल देखाउनु पर्छ,’ पोचेटिनोले भनेका छन्।

हालको अंक तालिकामा सिटी शीर्षस्थानमा छ। पछिल्ला तीन खेलमा लगातार जित हात पारेको सिटीसँग ११ खेलबाट २७ अंक छ। एक अंक कम भएको टोटनहम दोस्रो स्थानमा छ। तेस्रो र चौथो स्थानमा लिभरपुल र आर्सनल छन्। यी दुईले हालसम्म २४–२४ अंक बटुलेका छन्। हालसम्म चार खेल जितेको चेल्सी भने १० औँ स्थानमा छ।

अंक तालिकामा जहाँ भए पनि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले चेल्सीले दिनसक्ने चुनौतीबारे आफू चनाखो रहेको बताउँछन्। ‘इंग्लिस फुटबलमा चेल्सी एक महत्त्वपूर्ण क्लब हो। चेल्सीले हामीलाई हराएर च्याम्पियन्स लिग जितेको मैले बिर्सिएको छैन। हो, पछिल्ला केही सिजन चेल्सी लिग उपाधि दौडमा रहन सकेको छैन। तर पनि यो टिम बलियोमध्येको हो,’ ग्वार्डिओलोको भनाइ छ।

आफूले चेल्सीले खेलेको हेरिरहेको र खेल शैली तथा स्तरका हिसाबले चेल्सी मजबुत टिम रहेको पनि ग्वार्डिओले बताए। ‘चेल्सी हाम्रा लागि कमजोर विपक्षी होइन। किनभने चेल्सी आक्रामक फुटबल खेल्छ। यो खेल जारी सिजनकै कठिनमध्येको एक हुनेछ। तर हामी त्यहाँ सकारात्मक मानसिकताका साथ जानेछौँ,’ ग्वार्डिओलाले थपे।

स्टाम्फोर्ड ब्रिजमा हुने खेलमा सिटीका पहिलो रोजाइका रक्षक जोन स्टोन्स हुने छैनन्। उनी बर्नमाउथसँगको खेलमा घाइते भएका थिए। उनलाई मांसेपसीको समस्याले सताएको छ। यद्यपि उनको समस्या गहिरो नभएको बताइएको छ।

सिटीका अर्का मुख्य खेलाडी केभिन डे ब्रुएना पनि हाल मैदानबाहिर नै छन्। गत अगस्टमा घाइते भएका उनी सन् २०२४ लाग्नुअघि नै टिममा फर्कंने खबर छ। ‘हुनसक्छ डे ब्रुएना अबको दुई वा तीन सातामा अभ्यासमा सामेल हुनेछन्। उनलाई हतारमा फर्काउन खोजेका छैनौँ। किनभने उनले सामना गरेको चोट सामान्य खालको होइन। यसबाट मुक्त हुन उनलाई पर्याप्त समय दिनुपर्छ। जब डाक्टर र फिजियोले उनी तयार भए भन्छन्, तब उनी खेल्नेछन्,’ ग्वार्डिओलाले भने।

प्रकाशित: २५ कार्तिक २०८० ११:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + 20 =