पहिलो पटक हार्‍यो आर्सनल; सिटी लयमै, जोगियो युनाइटेड

हिमाल प्रेस १९ कार्तिक २०८० ९:०५
12
SHARES
पहिलो पटक हार्‍यो आर्सनल; सिटी लयमै, जोगियो युनाइटेड

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा आर्सनलको अपराजित शृंखलामा पूर्णविराम लागेको छ। लगातार १० खेल नहारेको आर्सनल शनिबार राति न्युकासल युनाइटेडसँग १-० ले पराजित भयो।

उता म्यानचेस्टर युनाइटेडले फुलहममाथि १-० को संघर्षपूर्ण जित दर्ता गर्‍यो। युनाइटेडको जितमा ब्रुनो फर्नान्डेजले इन्जुरी समयमा गोल गरेका थिए। शनिबार राति नै म्यानचेस्टर सिटीले बर्नमाउथलाई ६-० ले पन्छायो। यद्यपि ठूलो अन्तरको जित दर्ता गर्दा सिटीले महँगो मूल्य चुकायो। किनभने सिटीका मुख्य स्ट्राइर एर्लिङ हालान्ड घाइते हुँदै मैदान छाड्न बाध्य भएका थिए।

सेन्ट जेम्स पार्कमा न्युकासललाई जित दिलाउन एन्थोनी गोर्डनले ६४औँ मिनेटमा गोल गरे। तर त्यो गोल विवादित बन्यो। ज्याकब मर्फीले राइट विंगबाट निकालेको क्रस जोसेफ विलकले नियन्त्रणमा लिन सकेका थिएनन्।

कसैको निगरानीमा नरहेका उनले दोस्रो प्रयासमा बल भेटे र आर्सनलको बक्समा रहेका जोएलिन्टनलाई पास दिए। जोएलिन्टको प्रहार आर्सनलका गोलरक्षक डेभिड रायाले ब्लक गरे। त्यसपछि रिबाउन्डमा गोर्डनले गोल गरे।

यो गोलले अन्ततः मान्यता पाउनुअघि भीएआरले परीक्षण गरेको थियो। कम्तीमा तीन फरक विवादका लागि रेफ्रीले भीएआरको सहयोग लिएका थिए। गोल गर्ने प्रयास गर्दा जोएलिन्टनले आफूमाथि फाउल गरेको आर्सनलका रक्षक गाब्रियल मागालेसको दाबी थियो।

विल्लकले भेट्नुअघि बल बाहिर गइसकेको दाबी पनि आर्सनलको थियो। तर भीएआरले आर्सनलका सबै दाबीलाई खारेज गरिदिएको थियो। ‘यो नतिजा अर्कै हुनुपर्थ्यो। आज जे भयो, यो लज्जास्पद थियो। प्रिमियर लिगलाई विश्वकै उत्कृष्ट लिग भनिन्छ। तर उत्कृष्ट लिगमा यस्तो गोललाई मान्यता दिइन्छ, बडो अचम्म छ,’ खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने, ‘म यो देशमा विगत २० वर्षदेखि छु। आज चाहिँ मलाई लाज लागेको छ। यसरी रेफ्रीले गलत निर्णय गर्दा धेरै घाटा हुन्छ।’

पहिलो हारपछि आर्सनल तेस्रो स्थानमा छ। सिटी २७ अंकसहित शीर्षस्थानमा रहँदा आर्सनलको २४ अंक छ। दोस्रो स्थानको टोटनहमले २६ अंक बटुलेको छ। यद्यपि टोटनहमले सिटी र आर्सनलभन्दा एक खेल कम खेलेको छ।

यो हारले आर्सनलको लिग उपाधि दाबेदारीमा असर गर्नेछ। गत सिजनको लिग उपविजेता आर्सनल गत बुधबार लिग कपबाट पनि बाहिरिएको थियो।

जोगियो युनाइटेड

ओल्ड ट्राफोर्डमा हासिल गरेको जितले युनाइटेडलाई राहत भएको छ। सरासर दुई पराजय भोगेको युनाइटेडले फुलहमलाई उसकै मैदानमा हरायो। यसअघिका दुई खेलमा युनाइटेड ओल्ड ट्राफोर्डमा सिटी र न्युकासलसँग समान ३-० ले पराजित भएको थियो।

क्याराभान कटेजमा पनि युनाइटेडले गतिलो प्रदर्शन गरेको होइन। तर कप्तान ब्रुनोको गोलले युनाइटेडलाई जोगायो। पेनाल्टी बक्सको छेउबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो।

‘उनले हरेक खेलमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने गरेका छन्। टिमका अरु खेलाडीका लागि उनी उदाहरण हुन्। उनी सधैँ मेहनत गरेर खेल्छन्। आज पनि उनले त्यही गरे,’ लगातारको खराब प्रदर्शनका कारण दबाबमा रहेको युनाइटेडका प्रशिक्षक एरिक टेन हागले भने।

सिटीको जितमा डोकु नायक

इत्तिहाद रंगशालामा सिटीले बर्नमाउथलाई सजिलै हरायो। सिटीले ६-१ को जित दर्ता गर्दा जेरेमी डोकु नायक साबित भए। एक गोल गरेका उनले बाँकी चार गोलका लागि पास उपलब्ध गराए।

‘उनले हामी सबैलाई छक्क पारिरहेका छन्। निश्चय पनि उनी प्रतिभावान् खेलाडी हुन्। पेनाल्टी बक्सभित्र उनी खतरनाक मुभ बनाउँछन्। क्षणमा खेल परिवर्तन गर्नसक्छन्। ड्रिब्लिङमा उनी माहिर छन्। जब उनी ड्रिब्लिङ गर्न सक्दैनन्, तब उनी साथी खेलाडीका लागि पास निकालिहाल्छन्,’ सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले भने।

गोलको खाता खोल्न सिटीले आधा घण्टा पर्खनु परेको थियो। पहिलो गोल डोकुले गरेका थिए। गोल गर्न उजले रोड्रीसँग वान-टु पास खेलेका थिए। सिटीका बाँकी गोल बर्नादो सिल्भा, म्यानुएल अकान्जी, फिल फोडन र नाथन आकेले गोल गरेका थिए।

उता ब्रेन्टफोर्डले वेस्टह्याम युनाइटेडविरुद्ध ३-२ को पुनरागमन जित हात पार्‍यो। ब्रेन्टफोर्डको जितमा नाथन कोलिन्सले ६९औँ मिनेटका निर्णायक गोल गरेका थिए। घरेलु टिम वेस्टह्यामविरुद्ध बेन्टफोर्डले पहिलो हाफको ११औँ मिनेटमा अग्रता लिएको थियो। पछिल्ला ४५ खेलमा गोलविहीन रहेका निल मौपेले ब्रेन्टफोर्डको पहिलो गोल गरेका थिए।

ब्रेन्टफोर्ड अग्रता धेरैबेर भने टिकेन। आठ मिनेटपछि मोहम्मद कुडुस र २६ औँ मिनेटमा जेराड बोवेनले गोल गरेपछि वेस्टह्याम खेलमा अघि बढ्यो। तर कोस्टान्टिनोस माभ्रोपोनासले दोस्रो हाफमा आत्मघाती गोल गरेपछि भने खेल बराबरीमा पुग्यो। आत्मघाती गोल उपहार पाएको १४ मिनेटपछि कोलिन्सले गोल गरे र ब्रेन्टफोर्डले तीन अंक बटुल्यो।

यो सिजनको पहिलो जित दर्ता गर्ने क्रममा सेफिल्ड युनाइटेडले उल्भरह्याम्पटनलाई २-१ ले पन्छायो। सेफिल्डको जितमा ओलिभर नरउडले पेनाल्टीमा निर्णायक गोल गरेका थिए।

जितका बाबजुद सेफिल्ड अझैँ पुछारमै छ। सेफिल्डको ११ खेलबाट चार अंक छ। १९ औँ स्थानको बर्नलीको पनि चार अंक नै छ। यद्यपि गोल अन्तरमा बर्नली सेफिल्डभन्दा माथि रहेको हो।

शनिबार राति बर्नलीसँग रेलिगेसन क्षेत्रबाट उम्किने मौका थियो। तर बर्नली क्रिस्टल प्यालेससँग २-० ले पराजित भयो। बर्नली घरेलु मैदानमै पराजित भएको हो। यो नतिजासँगै बर्नली जारी सिजन घरेलु मैदानमा लगातार ६ खेल हार्ने पहिलो टिम बन्यो।

प्रकाशित: १९ कार्तिक २०८० ९:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 17 =