ग्राहम पोर्टरलाई राहत

हिमाल प्रेस २४ फागुन २०७९ १३:४८
12
SHARES
ग्राहम पोर्टरलाई राहत

काठमाडौँ- चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा प्रवेश गरेसँगै प्रशिक्षक ग्राहम पोर्टरले राहत महसुस गरेका छन्। इंग्लिस प्रिमियर लिगमा १० औँ स्थानमा रहेको चेल्सी बोरुसिया डर्टमन्डलाई पन्छाउँदै च्याम्पियन्स लिगमा अघि बढेको हो।

बुधबार राति स्टाम्फोर्ड ब्रिजमा चेल्सीलाई २–० को जित दिलाउन रहिम स्टर्लिङ र काई हाभर्ट्सले एक–एक गोल गरेका थिए। चेल्सी पहिलो लेगमा १–० ले पराजित भएको थियो।

चेल्सीले प्रिमियर लिगका १० खेलमा तीनमा मात्र जित हासिल गरेपछि पोर्टरको जागिर धरापमा परेको बताइँदै थियो। घरेलु प्रतियोगिता एफए कप र लिग कपबाट चाँडै बाहिरिएकाले पनि पोर्टर दबाबमा थिए।

यस्तोमा डर्टमन्डमाथिको जितले पोर्टर मात्र होइन, चेल्सीको स्वामित्व लिएका टोड ब्हेली र बेहदाद एघबालीलाई पनि दंग बनाएको छ। अमेरिकी व्यापारिक समूहको नेतृत्व गरेर चेल्सी खरिद गरेका ब्हेलीले खेलाडी बजारमा ५० करोड पाउन्ड खर्च गरिसकेको छन्।

तर खर्च अनुसारको नतिजा ननिस्किएपछि ब्होली निराश बनेको खबर आइरहेका थिए। मंगलबार स्टाम्फोर्ड ब्रिजमा देखा परेका उनी खेलपछि ताली बजाउँदै मैदानमा निस्किए।

क्लब मालिकद्वयसामु चेल्सीलाई जित दिलाएपछि पोर्टरको प्रारम्भिक प्रतिक्रिया थियो, ‘खराब समय सधैँ चलिरहँदैन।’

च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगे पनि पोर्टरले चेल्सीका सबै समस्या समाधान गरिसकेका छैनन्। चेल्सीका खेलाडी अझ पनि गोल गर्ने मामलामा कमजोर देखिइरहेका छन्। पाएका मौकालाई गोलमा परिणत गर्न नसक्ने बानीकै कारण चेल्सी पहिलो लेगमा परािजत भएको थियो। दोस्रो लेगमा पनि चेल्सीले निकै अवसर खेर फाल्यो।

चेल्सीलाई अग्रता दिलाउनुअघि र पछि रहिम स्टर्लिङले बग्रेल्ती मौका खेर फाले। हाभर्ट्सले सुरुमा पेनाल्टी खेर फालेका थिए। तर डर्टमन्डका खेलाडी तुरुन्तै बक्सभित्र प्रवेश गरेपछि रेफ्रीले हाभर्ट्सलाई फेरि पेनाल्टी प्रहार गर्ने मौका दिएका थिए। दोस्रोपल्ट भने हाभर्ट्स असफल भएनन्।

इंग्लिस फुटबलको नवौँ श्रेणीको लिगबाट प्रशिक्षण करियर सुरु गरेका पोर्टरले चेल्सीलाई च्याम्पियन्स लिगको अन्तिम आठमा पु¥याउँदा विशेष महसुस गरेको बताए। ‘यो नतिजा विशेष हो। च्याम्पियन्स लिगको क्वार्टरफाइनल पुग्नु मेरा लागि सामान्य सफलता होइन,’ पोर्टरले भने।

चेल्सीले सन् २०१२ र २०२१ मा च्याम्पियन्स लिग जितेको थियो। रोचक के छ भने, ती दुवै खेप चेल्सीले मध्य सिजन प्रशिक्षक परिवर्तन गरेर च्याम्पियन्स लिग जितेको थियो। आगामी खेलमा चेल्सीले जित लय जारी राख्न सकेन भने एक महिनापछि हुने च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पोर्टर नहुन सक्छन्।

जर्मन बुन्डेसलिगामा शीर्षस्थानको बायर्न म्युनिखको जति नै अंक बटुलेको डर्टमन्डविरुद्ध पोर्टरले ‘ब्याक थ्री’ खेलाएका थिए। यो सिजन गोल गर्न कमजोर देखए पनि चेल्सी धेरैजसो खेलमा रक्षात्मक रुपमा बलियो देखिएको छ। पोर्टर रक्षापंक्तिलाई स्थिर राख्दै गोलको स्रोत बढाउने योजनामा छन्।

डर्टमन्ड लगतार १० खेल जितेको लयसाथ चेल्सीको मैदान पुगेको थियो। तर चेल्सीसँगको खेलमा डर्टमन्डका खेलाडी फिक्का देखिए। कप्तान मार्को रुइसको फ्रिकिकबाहेक चेल्सीका गोलरक्षक केपा अरिजाबालागाले अरु बलिया प्रहार रोक्नु परेन।

चोटका कारण केही समय मैदानबाहिर रहेको रिस जेम्स, बेन चिलवेल र वेस्ले फोफानाको निगरानीका कारण डर्टमन्डका फरवार्डहरू खासै चल्न पाएनन्। ‘चेल्सीसँग खेल्न ग्राहो भयो। किनभने चेल्सीको टिम बलियो छ। चेल्सीले खेलाडी खरिद गर्दा संख्यामा मात्र होइन, स्तरमा पनि ध्यान दिएको छ। उनीहरू सधैँ खतरनाक देखिन्छन्,’ डर्टमन्डका प्रशिक्षक इडिन टेरजिकले भने।

प्रकाशित: २४ फागुन २०७९ १३:४८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 + 18 =