च्याम्पियन्स लिग : आर्सनललाई लान्सको पाठ

हिमाल प्रेस १७ असोज २०८० ८:४६
54
SHARES
च्याम्पियन्स लिग : आर्सनललाई लान्सको पाठ

काठमाडौँ- पाँच वर्षपछि च्याम्पियन्स लिग फर्किएको आर्सनलले पहिलो खेलमा पीएसभी आइन्डहोभनलाई सजिलै पन्छाएको थियो। यो जितले आर्सनलको मनमा लागेको हुनुपर्छ, च्याम्पियन्स लिग अरुले भनेजस्तो कठिन प्रतियोगिता होइन।

तर कम्तीमा अहिलेका लागि आर्सनल यो भ्रमबाट मुक्त भएको छ। यसरी आर्सनललाई झसंग बनाउने टिम हो, लान्स। जसले घरेलु मैदानमा आर्सनललाई २–१ ले पराजित गर्‍यो।

मंगलबार राति आर्सनलले फ्रान्समा जे अनुभव गर्‍यो, च्याम्पियन्स लिगको यथार्थ यही हो। युरोपेली क्लब फुटबलको सर्वोच्च प्रतियोगिता आर्सनल जस्ता क्लबका लागि वास्तविक परीक्षा हो। र यो परीक्षाबाट पार पाउन सजिलो छैन।

मिकेल आर्टेटाका लागि यो हार गतिलो पाठ बनेको हुनुपर्छ। खासमा च्याम्पियन्स लिग भनेकै यस्तै हो, अचम्मलाग्दो यात्रा, फरक शैलीमा खेल्ने विपक्षी, अप्रत्याशित नतिजा निस्किने सम्भावना आदि।

आर्सनल सजिलै लान्स पुगेको होइन। लान्स जाने जहाज चढ्न लुटन विमानस्थल पुगेको आर्सनलको टोली पाँच घण्टा त्यही रोकिएको थियो। एक्कासी हावाहुरी आएपछि चार्ट्ड फ्लाइट समयमा भएन।

ढिलोगरी फ्रान्स पुगेको आर्सनललाई लान्सले तीव्र गतिको फुटबल खेलेर स्वागत गर्‍यो। यो एक वा दुई वर्षमा आर्सनलमाथि यत्तिको कडा हमला सायदै कुनै टिमले गरेका छन्।

स्टाडे बोलाइर्ट डेलेलिसमा अग्रता आर्सनलले लिएको थियो। गाब्रियल जेजुसको गोलले अघि बढेको आर्सनलका लागि खेलको अन्त्य पीडादायी भयो। आर्सनल पराजित त भयो नै, प्रभावशाली फरवार्ड बुकायो साका पनि घाइते भए।

साका पछिल्ला केही खेलमा पनि पूर्ण रुपमा फिट थिएनन्। मंगलबार राति भने उनी पहिलो हाफमा मैदान छाड्न बाध्य भए।

‘ब्याकहिल गर्दा साकाले मांसेपसीमा दुखाइ भएको बताए। त्यसपछि उनलाई नखेलाएको हो। उनी मैदानमा नहुँदा अवश्य पनि ठूलो फरक पर्छ,’ खेलपछि आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले भने।

साका लगातार तेस्रो खेलमा घाइते भएका हुन्। उनलाई यसअघिका दुई खेलमा पनि सबिस्टच्युट गरिएको थियो। यी २२ वर्षीय विंगर आर्सनलको पुनः उदयमा महत्त्वपूर्ण साबित भएकै हुन्। तर बारम्बार घाइते भएपछि प्रश्न उठेको छ, के उनले पर्याप्त आराम पाएका छन् तरु वा उनीमाथि भएका ती तमाम फाउलको अन्ततः प्रभाव देखिन त थालेको होइन?

यद्यपि आर्टेटाले साकाको नयाँ समस्या पुराना चोटसँग सम्बन्धित नभएको बताएका छन्। आर्सनल इंग्लिस प्रिमियर लिगको पछिल्लो खेलमा बर्नमाउथको सामना गर्दा साका ७६ औँ मिनेटमा घाइते भएका थिए। त्यसअघि टोटनहमविरुद्ध भने ८९ औँ मिनेटसम्म मैदानमै थिए।

‘बर्नमाउथसँगको खेलमा उनी घाइते भएको भए पनि यो खेल खेल्न उनी फिट थिए,’ आर्टेटाले प्रष्टिकरण दिए। आर्सनल प्रिमियर लिग फर्कदा म्यानचेस्टर सिटीको सामना गर्नेछ। यस्तोमा प्रश्न उठेको छ, के उनी सिटीसँगको भिडन्तका लागि तयार हुनेछन्रु ‘मलाई थाहा छैन,’ आर्टेटाको जवाफ थियो।

च्याम्पियन सिटीसँग भिड्न उपविजेता टिमका मुख्य फरवार्ड तयार हुन्छन् कि हुँदैनन् यसको जवाफ साकाले नै दिनेछन्। तर यतिबेला आर्सनलको समस्या खालि साको चोट मात्र होइन। अग्रपंक्तिमा देखिएको असन्तुलन र आक्रामकतामा आएको कमी आर्टेटाले समाधान गर्नुपर्ने अरु समस्या हुन्।

समस्या रक्षापंक्तिमा पनि देखिएको छ। पहिलो हाफमा गोलरक्षक डेभिड रायाले गल्ती गरेका थिए। उनले टाकेहिरो टोमियासुलाई दिएको खराब पासका कारण लान्सले धावा बोल्न सकेको थियो। जापानी रक्षक टोमियासुले बल नियन्त्रणमा लिन नसकेपछि डेइभर माचाडोले बल भेटे र एल्य वाहीका लागि क्रस गरे। त्यसपछि वाहीले पहिलो टचमै एड्रियान थोमासनका लागि पास निकाले। जसलाई थोमासनले सहजै गोलमा परिणत गरे।

ढिलोगरी लान्स पुगेकाले आर्सनलका खेलाडी थकित देखिन्थे। तर यसलाई आर्टेटा हारको बहानाका रुपमा प्रस्तुत गर्न तयार छैनन्। २१ वर्षपछि च्याम्पियन्स लिग खेल्दै गरेको लान्सका समर्थकको दबाबका कारण पनि आर्सनलका खेलाडी खुल्न सकेनन्। लान्स सहरमा जति मान्छे बस्छन्, त्योभन्दा बढी मान्छे लान्सको रंगशालामा थिए।

खेल सुरु हुनुअघि नै लान्स समर्थकले रंगशालाको माहोल आर्सनलका खेलाडीका लागि कठिन बनाइसकेका थिए। लान्सको रंगशालामा करिब ३७ हजार दर्शक उपस्थित थिए। तीमध्ये बहुमत लान्सका समर्थक हुने भइगए। गोलपोस्ट पछाडिभन्दा मुख्य ‘स्ट्यान्ड’ तिर बस्ने लान्सका समर्थकले विपक्षी खेलाडीको सातो लिने गर्छन्। मंगलबार राति पनि त्यही भयो।

‘यहाँको वातावरणबारे थाहा थियो। म आफैँ कुनै समय फ्रान्समा खेलेका कारण लान्स र यो रंगशालाबारे जानकार थिएँ। यो रंगशालालाई फ्रान्सकै सबैभन्दा कठिन मानिन्छ। घरेलु समर्थकको समर्थनका बाबजुद हामीले लान्सलाई धेरैजसो समय नियन्त्रणमा राखेका थियौँ। तर हामीले आफैँ गल्ती गरेपछि गोल खायौँ,’ आर्टेटाको भनाइ थियो।

च्याम्पियन्स लिगमा लान्स जस्तो कठिन विपक्षीको उसकै मैदानमा गर्दा, आर्सनलले सकेसम्म सुरुवाती गोल गर्नुपर्छ। आर्सनलले अपनाएको राणनीति त्यही थियो, सुरुवाती गोल। यो गोल जेसुसले गरे पनि, सम्भव भने साकाका कारण भयो। साकाले लान्सका खेलाडीको खराब पास ‘इन्टरसेप्ट’ गरेर जेजुसका लागि अवसर सिर्जना गरिदिएका थिए।

तर आर्सनलले दबाब सिर्जना गरिरहन सकेन। जब लान्सले बराबरी गोल फर्कायो, तब लाग्न थाल्यो यो फरक खेल हो।

आर्सनलको खेल रणनीति हो, बढीभन्दा बढी समय बल नियन्त्रणमा राख्ने। हरेक राणनीतिको जस्तै यो पनि कमजोरीरहित छैन। जब रक्षक वा गोलरक्षकले रक्षापंक्तिबाट ‘बिल्डअप’ गर्न खोज्छन्, तब उनीहरुबाट कुनै किसिमको गल्ती हुनु हुँदैन। तर रायाले गल्ती गरे। र यो गल्तीको फाइदा लान्सले उठायो। लान्सका खेलाडी यस्तै गल्तीको पर्खाइमा थिए।

दोस्रो हाफमा आर्सनलले गोल थप्ने अवसर नपाएको होइन। लियान्द्रो ट्रोसार्ड र टोमियासु गोलको नजिक पुगेका पनि हुन्। यद्यपि गोल भएन। बरु लान्सले पो अग्रता लियो।

लान्सका रक्षक केभिन डान्सोले दिएको पास नियन्त्रणमा लिएका प्रेज्मीस्ल फ्रान्कोस्कीले फ्लोरियन सोटोकासँग वान–टु पास खेले। त्यसपछि फ्रान्कोस्कीले वाहीका लागि क्रस निकाले। जसलाई वाहीले वान–टच गोलमा परिणत गरे।

२० वर्षीय वाहीका लागि यो पहिलो च्याम्पियन्स लिग गोल थियो। केही महिनाअघि प्रिमियर लिगको वेस्टह्याम युनाइटेडले उनलाई अनुबन्ध गर्न चाहेको थियो। आर्सनलविरुद्धको यो गोलले उनको चर्चा फेरि एकपल्ट बढाउने नै छ।

दोस्रो गोल खाएपछि आर्सनल क्रसित देखिएको थियो। मिडफिल्डर डेक्लान राइसले आफ्ना साथी खेलाडीहरुलाई सम्हाल्ने प्रयास गरेका हुन्। तर उनको प्रयासले नतिजा दिएन। जब खेल उत्तराद्र्धतिर धकेलिँदै गयो, तब आर्सनल फरक रणनीतिमा देखियो। आर्सनलका खेलाडी लामा लामा पास खेल्न थालेका थिए, ताकि लान्सको बक्समा बल पुर्याउन सकियोस्। तर आर्सनलको यस्तो प्रयास लान्सले सफल हुन दिएन।

प्रकाशित: १७ असोज २०८० ८:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + 18 =