व्यक्तित्व

जीवन त संघर्ष हो, हार्छु भनेर सोच्न नहुने रहेछ…

विवेक विवश रेग्मी १६ वैशाख २०८१ ७:२२
468
SHARES
जीवन त संघर्ष हो, हार्छु भनेर सोच्न नहुने रहेछ…

इटहरी- छुस्स दाह्री, सेतै फुलेका कपाल। होचो कद तर व्यक्तित्वको उचाइको मापन गर्न निकै कठिन। जहाँ, जसले जे भने पनि उनको मुखबाट निस्किने पहिलो वाक्य हुन्छ : लु राम्रो।

वरिष्ठ भाषाविद् प्रा.डा. टंकप्रसाद न्यौपानेलाई चिन्नका लागि साधारण परिचय यति मात्रै होइन। उनी अहिले अवकाशप्राप्त भए पनि आफ्नो जीवनमा उत्तिकै सक्रिय छन्। समाजकै आदर्श पात्र उनी सम्मानित जीवन बाँचिरहेछन्।

करिब पाँच दशक प्राध्यापन क्षेत्रमा सक्रिय भएका उनी हाल अवकाशप्राप्त जीवन बाँचेपनि ज्ञान अरुहरूलाई बाँड्नका निम्ति जतिखेरै तत्पर हुन्छन्। विद्यावारिधि गर्नेहरू उनीकहाँ अहिले पनि हरेक दिनजसो ‘थेसिस’ लेख्नका लागि आउँछन्।

प्रा.डा. न्यौपाने धरान उपमहानगरपालिका १४ विजयपुरस्थित आफ्नै निवासमा अति सादगी जीवन बाँचिरहेका भेटिन्छन्। जीवन के रहेछ भन्ने जिज्ञासामा फ्याट्टै उनी भन्छन्: ‘जीवन संघर्ष हो। संघर्षमा हार्छु भन्ने सोच्नुहुँदैन। त्यसलाई अनुभव गर्नुपर्छ। त्यसबाट जहिल्यै पनि विजय हुन्छ। मेरो जीवनमा अहिलेसम्म अवरोह भन्ने छैन।’

कदले होचो रहेका उनका उचाइको मापन गर्न नसकिने उनका विद्यार्थीहरू स्वयम् नै बताउँछन्। उनका लाखौँ विद्यार्थीहरू छन्। पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसमेत उनका विद्यार्थी हुन्। भण्डारीबारे सम्झदैँ उनी भन्छन्: ‘मैले भोजपुरमा हुँदा पढाएको हुँ। निडर नेतृत्व थिइन्, त्यसैबेला।’ विद्यालाई मदन भण्डारीकी श्रीमती भनेर मात्रै चिन्न नहुने र उनी आफैँमा सक्षमा नेत्री रहेको न्यौपानेले सम्झिए।

प्रा.डा न्यौपानको परिचय प्राध्यापन मात्रै होइन। उनी समाजका एउटा यस्ता पात्र हुन्, जसले आम मानिसलाई संघर्ष गर्नका निम्ति प्रेरित गर्छ।

खासमा न्यौपाने सडकछाप मान्छे हुन्। उनी आफैँलाई पनि सडकछाप नै भन्न रुचाउँछन्। ‘म जन्मेको छ, सात महिना कति भएको थियो, आमा खस्नुभएछ। मैले छिमेकी आमाको दूध खाएर हुर्किएँ,’ उनी आफ्नो बालापन स्मरण गर्छन्, ‘बुबालाई प्यारालाइसिस भयो। पहाडमा त खन्नुपर्‍यो, जोत्नुपर्‍यो। नसक्ने भएपछि मलाई सानै उमेरमा धरानमा ल्याएर छोडिएछ।’

वि.सं. २००५ माघ ६ गते धनकुटाको चुङमाङ ३ मा जन्मिएका उनको संघर्षको जीवन बालापनदेखि नै सुरुआत भयो। आफू जन्मिएको छ महिनामै आमा हर्कमाया न्यौपानेको निधन भएपछि उनले छिमेकी आमाको दूध खाएर हुर्किए।

०१३ सालतिरको घटना सम्झिंदै उनी भन्छन्, ‘धरान आएपछि पिण्डेश्वर विद्यापीठ मन्दिरमा मेरो शैक्षिक जीवन सुरु भयो। त्यहाँ मैले मन्दिरमा चढाएका अक्षताहरू पखालेर भात खाएँ।’

उनी बालापनलाई भुल्दै गएका छन्। सम्झिएर मनमा पिर पर्ने भएकाले पनि न्यौपाने बालापन सम्झन चाहँदैनन्। ‘म मेरो बालापनलाई बिर्सिदैँ गएको छु। सम्झनयोग्य बालापन नरहेका कारण पनि हुनसक्छ,’ उनी थप्छन्।

मन्दिरमा दर्शनार्थीले चढाएको अक्षताको भात पकाएर खाएका न्यौपाने अध्ययनका क्रममा तीक्ष्ण बन्दै गए। उनले दस वर्ष पिण्डेश्वर विद्यापीठमा अध्ययन गरे।त्यसपछि उनलाई धरानमै नगरपरिक्रमा गराइयो। ‘म प्रथम डिभिजनमा पास भएँ,’ उनी भन्छन्, ‘अनौठो कुरा के भने मलाई त्यहाँका साथीहरूले नगर परिक्रमा गराए। त्यसको कारण मैले अहिलेसम्म बुझेको छैन।’

त्यसलगत्तै उनी आचार्य पढ्न भनेर काठमाडौँ गए। काठमाडौँमा संस्कृत व्याकरणमा आचार्य पढ्दा पढ्दै नेपाली विषयमा पनि अध्ययनकै क्रममा थिए। उनलाई त्यसबैला धरानमा रहेको शारदा बालिका विद्यालयमा अध्यापन गराउनका निम्ति ताकेता गरियो। आफू पढ्न गएको मान्छे, पढाउनका निम्ति उनी पुनः धरानमै आए।

०२६ सालदेखि ०२८ सालसम्म उनले निरन्तर पढाए। सोही क्रममा वी.पी. कोइरालाले पञ्चायतविरुद्ध सशस्त्र क्रान्ति आह्वान गरेका थिए। सशस्त्र क्रान्तिका वातावरण निर्माणका लागि पर्चा, पम्प्लेट छाप्नुपर्ने भयो। संयोगवश ती पर्चाहरू लेख्ने जिम्मा पाएका थिए उनै न्यौपानेले।

‘मैले लेखेकै पर्चा छापियो र त्यो पर्चा दिउँसै सिनेमा हलमा बाँडिएछ। बाँड्ने साथीहरू पक्राउ परेपछि तत्कालै म जेल परिहालेँ,’ उनी सम्झन्छन्, ‘दुई वर्षसम्मसेन्ट्रल जेलमा राखियो। त्यहाँ कृष्णप्रसाद भट्टराई पनि हुनुहुन्थ्यो।’

पर्चामा ‘निरङ्कुश पञ्चायती व्यवस्थाका विरुद्ध सशस्त्र क्रान्ति गर्न सम्पूर्ण जनता एक होऔँ’ शीर्षक रहेको उनको स्मरणमा छ। जहाँ लेखिएको थियो, ‘किसानहरू हो, धानका बम फलाओ, कामीहरू हो, हतियारमा साँध लगाओ, मजदुरहरू हो, आरा र गैँती बोकेर हिँड…’ यस्तै यस्तै।

उनले पटकपटक गरी तीन वर्षसम्म जेल जीवन बिताए। त्यसक्रममा कृष्णप्रसाद भट्टराईसँग जेल जीवन सँगै बिताउन पाएको घटना सम्झँदा उनी भावुकजस्तै बने।

जेल जीवनमै रहँदा लेखिएका खण्डकाव्यहरू किसुनजीलाई आफूले सुनाउने गरेको र त्यसबेला स्विटजरल्यान्डबाट आएको एक पत्रबारे उनी घोत्लिए। केही सम्झिए। र, थपे, ‘मिस एभेलिन कोनिग एन्ड फ्रेन्ड्स भन्ने नाउँबाट त्यसबेला मलाई एउटा चिट्ठी आयो। अंग्रेजीमा पत्र आएको थियो। त्यो पत्र मैले बुझ्ने अवस्था थिएन।आएको पत्र किसुनजीलाई दिएँ। उहाँले अर्थ लगाइदिनुभयो।’

आफूले लेखेको काव्य छाप्ने प्रस्ताव आएको थियो। तर, अंग्रेजीमा अनुवाद गर्न नसक्ने भएकाले नपठाएको उनले सुनाए। ‘मैले लेखेको खण्डकाव्य छाप्ने प्रस्ताव भएपनि आफैँ अंग्रेजीमा अनुवाद गर्न सक्ने अवस्था थिएन, त्यसैले पठाइनँ,’ उनले भने, ‘तर जेल जीवनमा हुँदा किसुनजीले मलाई लेख्नका लागि हौस्याइरहनुहुन्थ्यो।’

तत्कालीन समयमा नेपाली कांग्रेससँग आबद्ध रहेका उनी कांग्रेस भएकै कारण आफू जेलमा परेको सुनाउँछन्। ‘खासमा भन्ने हो भने म कांग्रेसको नेता नै थिएँ। अहिले चैँ म स्वतन्त्र छु। त्यसबेला कांग्रेसकै नेता भएर जेल परेको हुँ।’ न्यौपाने भन्छन्।

उनी जेल जीवनबाट छुटेर आएपछि पुनः पढाउनका निम्ति धरान नै आए। त्यसबेला नयाँ शिक्षा प्रणाली लागू भएको थियो। ‘यो कांग्रेसी हो भनेर पढाउन दिएनन्, अहिले सम्झिँदा लाग्छ पढाउन नदिएको राम्रै भयो,’ हँस्यौली पारामा न्यौपाने भन्छन्। उनले पढाउन नपाएपछि अध्ययनका लागि त्रिभुवन विश्वविद्यालयमा धाए।

०३२ सालमा अध्यापनका क्रममा उनी भैरहवा क्याम्पस पुगे। पछि भोजपुर क्याम्पस गए। धनकुटा क्याम्पस, हुँदै धरानस्थित महेन्द्र बहुमुखी क्याम्पस आए। धरानमा अध्यापन गराइरहँदा क्याम्पस प्रमुख भएर गोरखा क्याम्पस पुगे। गोरखामा हुँदा वि.सं. २०४५ सालमा भूकम्प गएको थियो। त्यसबेला धरानमा पनि ठूलो क्षति भएको र न्यौपानेको घरमा पनि क्षति भएको उनी स्मरण गर्छन्।

‘म परीक्षाका लागि प्रश्नपत्र लिन काठमाडौँ थिएँ। धरानमा पनि निकै क्षति भएको सुनेपछि घरमा फोन गरेँ,’ उनी विगततिर हाम फाले, ‘श्रीमतीले मान्छेलाई केही नभएको र घरमा क्षति भएको सुनाएपछि ढुक्क भयो।’ न्यौपानेको ‘लु राम्रो’ भन्ने थेगो पहिल्यैदेखि हो। उनले भूकम्पले घरमा क्षति भएको सुनेपनि ‘लु राम्रो’ भने। यत्तिकैमा ठट्यौली बनिहाल्छन्, न्यौपाने।

यसबारे उनको सरल प्रतिक्रिया छ,‘जीवनमा चिन्ताले आफूलाई निल्छ, त्यसैले चिन्ता गरेर समस्याको समाधान हुँदैन, चिन्ता लिनु हुँदैन।’

गोरखाबाट फर्किएपछि पुनः महेन्द्र क्याम्पस धरानमै आए। महेन्द्र क्याम्पसमा ५१ सालदेखि क्याम्पस प्रमुख भए। यसरी न्यौपानेले अध्यापनको क्रममा देश दौडाहाजस्तै गरे।

०५८ सालमा न्यौपानेलेआठपरिया राईहरूको भाषामा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधि गरे। ‘०६३ सालतिर प्राध्यापक भएँ, त्यो पनि एक नम्बरकै प्राध्यापक,’ न्यौपाने सम्झन्छन्, ‘०७२ सालदेखि सेवाबाट निवृत्त भएँ। तरपनि अहिलेसम्म म उत्तिकै सक्रिय छु। विद्यावारिधि को शोध निर्देशक भएर काम गरिरहेको छु।’

जीवनमा गीत, कविता, नाटक, समालोचना लेखेका उनका दुई दर्जन बढी पुस्तक छन्। न्यौपाने भन्छन्, ‘ती पुस्तकहरू अहिले पनि आधिकारिक छन्। राम्रो मानिएका छन्।’

अहिलेको साहित्य लेखन प्रभावकारी छैन…

उनले आफूहरूको समयमा साहित्य लेखनमा सन्देश हुने भएपनि अहिलेको लेखनमा त्यो सन्देश नरहेको सुनाए।

‘हाम्रो बेलाको साहित्य लेखनसन्देशमूलक हुन्थ्यो। अहिलेको लेखनमा सन्देश छैन, तर कला चैँ छ,’विगतको कुरा स्मरण गर्दै वर्तमान अवस्थाका लेखनप्रति उनको तर्क छ, ‘अहिलेको साहित्यिक लेखन प्रभावकारी छैन।’

उनकाअनुसार साहित्य तीन किसिमले लेखिन्छ : वाचनका लागि, पठनका लागि र मननका लागि। कसैको वाचनमा राम्रो हुन सक्छ। तर, त्यसमा कुनै गुदी नहुन सक्छ। कसैको पढ्दा पनि ठिकै हुन्छ। कसैको मननयोग्य हुन्छ। उनी भन्छन् : ‘देवकोटाको शाकुन्तल कृति मननका लागि हो। लेखनाथका कृतिहरू पनि मननका लागि हुन्। अहिलेकाहरू वाचनका लागि मात्रै लेख्छन्। एकछिनलाई राम्रो हुन्छ, गुदी नहुन सक्छ। फरक यो हो।’

न्यौपानेका समकालीनहरू धरानमा सबै बामपन्थी विचारधाराका थिए। साहित्यकारहरूमानबहादुर शाक्य, बम देवान, कुन्ता शर्मा, गोविन्द विकल, कृष्ण पाख्रिन, वेणु आचार्यहरूबामपन्थी विचारधारामा लेख्थे। तर, न्यौपाने भने स्वतन्त्रता अभिव्यक्ति दिन्थे। उनी भन्छन्, ‘म पहिलेदेखि नै स्वतन्त्रतावादी हुँ।’ उनी आफू अहिले जे छन्, त्यसको श्रेय आफैँलाई दिन्छन्।

‘म आत्मनिर्मित मान्छे हुँ। मेरो भौतिक पृष्ठभूमि केही छैन। जति गरेँ, म आफैँले गरेँ, एक्लैले गरेँ।’प्रा.डा. न्यौपाने कहिलेकाहीँ आफैसँग बात मार्छन्।

मातृभाषाको संरक्षण, साहित्यमा आएका चिन्तन, प्रवृत्तिका लागि नेपालका संस्कृतिहरूको संरक्षण र विकासका लागि काम गरिरहेको अवस्थामा भेटिन्छन्, न्यौपाने।

‘मैले के दिएँ, दिइनँ भन्ने कुरा आफूले खोज्नुहुँदैन। त्यो त अरुले हेर्ने हो,’ न्यौपानेको सहज जवाफ छ, ‘कति सक्छु, थाहा छैन। संस्कृति र मातृभाषाको संरक्षणमा काम चैँ गर्दैछु।’

न्यौपानेले जीवनमा अति दुःख पाएपनि आफूलाई अवरोह नभएको तर्क राख्छन्।

‘मेरो जीवनमा आरोह छ, अवरोह छैन। मैले कहिल्यै जीवनमा अवरोह गरेको अनुभूति गरेको छैन। भगवान्ले राम्रै गरेको जस्तो लाग्छ,’उनी भन्छन्।

जीवन चैँ के रहेछ? भन्ने जिज्ञासामा प्रा.डा. न्यौपाने भन्छन्, ‘जीवन संघर्ष हो। संघर्षमा हार्छु भन्ने सोच्नुहुँदैन। त्यसलाई अनुभव गर्नुपर्छ। त्यसबाट जहिल्यै पनि विजय हुन्छ।’

जीवनमा थाक्न नहुने र आइपरेका सबै समस्याहरूलाई सहजै स्वीकार गर्नुपर्ने उनको सुझाव छ। ‘म त थाकेको छैन, जेजे हुन्छ गर्ने हो। भएको घटनाक्रमलाई स्वीकार गर्नुपर्छ,’ न्यौपानले अलिकता गम्भीर मुद्रामा सुनाउँछन्।

विद्या आफूसँग राख्ने होइन, बाँड्ने हो…

प्रा.डा. न्यौपाने हरेक दिनजसो ल्यापटपमा घोरिन्छन्। विद्यावारिधि गर्नेहरू उनीकहाँ ‘थेसिस’ लेख्न आउनेको लर्को लाग्छ।

उनलाई यस क्षेत्रले नै अभिभावकका रूपमा ग्रहण गरेको छ। ‘अरु काममा पनि फोन गर्छन्। विद्यावारिधि गर्नेहरू पनि थेसिसका लागि आउँछन्, अभिभावकत्व ग्रहण गरेजस्तो लाग्छ,’ न्यौपाने भन्छन्, ‘मलाई विश्वास गर्नेहरूलाई अविश्वासमा परिणत गर्दिनँ।’

आफूसँग भएको विद्या आफैसँग राख्नुभन्दा अरुहरूलाई बाँड्नुपर्ने उनको सुझाव छ। ‘विद्या भनेको कुरा बाँड्ने हो, आफूभित्र राखेर हुँदैन। जसले सहयोग माग्छ, किन भ्याउँदिन भन्नु?’ उनी केही सोचेजस्तो गर्छन्, ‘मलाई के लाग्छ भने सहयोग माग्नेहरूले माया गरे भने मैले पनि गर्नुपर्छ। अवकाशप्राप्त भए पनि काम गर्दिनु भन्नेलाई गर्नुपरेन त?’

जीवनको उचाइमा निकै माथि पुगेपनि साधारण जीवन बाँचेकोमा उनी आफैँ खुसी हुन्छन्। माथि पुगेकाहरू घमण्ड गर्छन्, असाधारण जीवन बाँचेजस्तो गर्छन् नि? भन्ने प्रश्नमा न्यौपानेको सहज जवाफ छ, ‘घमण्ड गरेर के गर्नु? आफैँमा बस्नु? घमण्ड गर्नु गलत हो। जीवन किन असाधारण हुनु? मानिस असाधारण हुनु भनेको समाजबाट बहिष्कृत हुनु हो। त्यसैले साधारण जीवन बाँच्नुपर्छ।’

उनी विभिन्न ठाउँमा भएका साहित्यिक, वैचारिक कार्यक्रमहरूमा जहीँतहीँ पुगिरहेका हुन्छन्। भेटेजति र चिनेजतिलाई नामै लिएर सोध्छन्, हालखबर। लाग्छ, उनी सबैबारे जानकार छन्। सबैको जीवनबारे चिन्तित छन्। कार्यक्रमतिर पुग्दा कसैलाई नयाँ कुरा प्रेरित गरिरहेका हुन्छन्। कतिपय ओहोदामा पुगेका मानिसहरू प्रमुख अतिथि नै हुन पुग्छन्। तर, न्यौपानेलाई प्रमुख अतिथिको भोक छैन। साधारण जीवन नै सहज हुने उनको जीवनले अनुभव लिएको छ।

अहिले विचारबिनाको राजनीति

न्यौपानेले आफ्नो जीवनको कालखण्डमा थुप्रै राजनीतिक घटनाक्रमलाई नियालेका छन्। झट्ट केही प्रतिक्रिया नदिएपनि उनी वर्तमान राजनीतिप्रति आजित छन्। अहिलेको राजनीति विचारविनाको राजनीति रहेको उनको टिप्पणी छ।

पञ्चायतकालमा दलीय व्यवस्थामा प्रतिबन्ध थियो। त्यतिबेला राजनीति अत्यन्त राम्रो थियो,’ उनी सम्झन्छन्, ‘किनभने पूर्वको कांग्रेस वा कम्युनिस्ट मर्‍यो भने पश्चिमेलीहरू रुन्थे। यसको अर्थ के हो भने त्यसबेला आदर्शको राजनीति थियो भन्ने हो।’

वर्तमान अवस्थामा दलको नेतृत्व गर्नेहरू सबैजसो सत्ताकेन्द्रित मात्रै राजनीतिमा विलीन भएको उनको भनाइ छ।

पञ्चायतमा महेन्द्रका पालामा एउटा चिन्तन र विचार थियो। ‘अहिले दलबाटसत्ता प्रमुख भएकाहरूमा, चिन्तन सकियो,’ न्यौपानेको तर्क छ, ‘सत्ताप्रमुख भएसँगै विचारमा शून्यता आयो। सत्ताका लागि जे पायो त्यही गरियो। अब आदर्श सकियो, चिन्तन सकियो। राम्रो, नराम्रो नभनौँ तर अहिलेको राजनीतिको वैचारिक शून्यता विषय भयो।’

वर्तमान राजनीतिक पृष्ठमा कुनै विचार र आदर्श नै नहुनुले मुलुुकमा सामाजिक परिवर्तन नभइरहेको भन्ने उनको भनाइ छ।

उनले देशको राजनीति जस्तै समाज पनि दिशाविहीन भएको बताए। खासमा अहिलेको समाज कता गइरहेको छ भन्ने जिज्ञासामा उनी भन्छन्, ‘समाज दिशाविहीन छ। दिशाविहीन किन छ भने चिन्तन, विचार नै छैन। राजनीति विचारमा शून्य भएपछि समाज के हुन्छ?’

जीवनमा साथ त चाहिन्छ…

न्यौपानेको विवाह वि.सं. २०२८ साल असार १५ गते भएको थियो। पं. छविलाल पोखरेलका जेठा छोरा डा. गोविन्द पोखरेलकी जेठी छोरी मीना पोखरेलसँग न्यौपाने विवाह बन्धनमा बाँधिए। उनको विवाहको कथा रोचक छ। पं. छविलाल तीनै व्यक्ति हुन्, जसले न्यौपानलाई अक्षरांश चिनाउन सहयोग गरे। उनी त्यसबेला पिण्डेश्वर विद्यापीठका प्रधानाचार्यथिए। हरेक दसैँमा न्यौपाने उनीकहाँ टिका ग्रहणका लागि जान्थे। ‘म उहाँको घरमा दसैँमा टिका लगाउन जान्थेँ। सधैँजसो विवाह गर्नेबेला मलाई सोध्नु भन्नुहुन्थ्यो। म कुरै बुझ्दिनथेँ,’ प्रा.डा. न्यौपाने हासोमिश्रित मुद्रामा सुनाउँछन्,‘भरे उहाँले आफ्नी नातिनी मलाई दिनु रहेछ।’

जीवनमा साथ आवश्यक पर्ने उनको भोगाइ छ। ‘जीवनमा साथ त चाहिन्छ, एक्लै त बाँच्न सकिदैँन। म विवाहबाट सन्तुष्ट छु,’ न्यौपाने फेरि एकफेर विगततिर हाम फाले,‘किनभने म जेल पर्दा श्रीमतीले दुःख नै गरेर बाँचिन्। हामी सधैँभर एकै मनमा बाँचेका छौँ। ठिकै छ, चलिरहेकै छ।’

आफू श्रीमतीको साथले जीवनभर सन्तुष्ट भएको बताउँदै उनले थपे, ‘उनी पनि सन्तुष्ट नै भएजस्तो लाग्छ। म त सन्तुष्ट नै छु।’

न्यौपानेका जेठा छोरा अमेरिकामा छन् भने कान्छा छोरा र एक छोरी क्यानडामा छन्। उनी अमेरिका र क्यानडा गरी करिब एक वर्ष बसे। तर, उनी सन्तुष्ट भएनन्। ‘मलाई विदेश मन परेन। सबै छोराछोरी काममा जान्छन्, दिनभर के गर्नु?,’ उनी भन्छन्, ‘विदेश राम्रो होइन। छोराछोरीलाई राम्रो छ, हामीलाई राम्रो छैन।’

यिनै विशेषताले गर्दा डा. न्यौपानेका सम्मानमा प्रा. डा. टंकप्रसाद न्यौपाने अध्ययन अनुसन्धान केन्द्र नामक संस्था केही साहित्यिक र प्राज्ञिक व्यक्तिहरुले धरानस्थित विजयपुरमा गठन गरेका छन्। यसका भवन निर्माणका लागि विजयपुरकै एक दानवीर बिर्खबहादुर डंगोलले करिब एक करोड पर्ने जग्गा पनि दान गरेका छन्। यसमा बन्ने भवनमा न्यौपानेका घरमा रहेका शोधग्रन्थहरू र सम्मानपत्रहरू राखिने योजना बनाइएको बुझिएको छ। यसरी डा. न्यौपाने नेपालकै एक सम्मानित व्यक्तित्व देखिएका छन्।

प्रकाशित: १६ वैशाख २०८१ ७:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =