न्युकासलको स्मरणीय जित

हिमाल प्रेस १८ असोज २०८० ८:४२
6
SHARES
न्युकासलको स्मरणीय जित

काठमाडौँ- युरोपेली च्याम्पियन्स लिगमा बुधबार राति न्युकासल युनाइटेडले पेरिस सेन्ट जर्मेन (पीएसजी) माथि ४–१ को जित हात पारेको छ।

घरेलु मैदान सेन्ट जेम्स पार्कमा बलियो पीएसजीलाई स्तब्ध बनाउन न्युकासलका मिगेल अल्मिरन, डान बर्न, सन लंगस्टाफ र फाबियान सारले एक–एक गोल गरे। पीएसजीबाट लुकास हर्नान्डेजले एक गोल फर्काए।

दुई दशकपछि च्याम्पियन्स लिगमा फर्किएको न्युकासलले समूह चरणको पहिलो खेलमा एसी मिलानसँग गोलरहित बराबरी खेलेको थियो। घरेलु मैदानमा हात पारेको यो जितले न्युकासलको नकआउट चरणमा पुग्ने सम्भावना बलियो भएको छ।

‘हामी यो प्रतियोगितामा सफल हुन चाहन्छौँ। आशा छ यो जित हाम्रा लागि प्रेरणा बन्नेछ। आफूलाई प्रमाणित गर्न पनि यस्तो जितको खाँचो पर्छ,’ न्युकासलका प्रशिक्षक एड्डी हाउले भने।

दुई खेलबाट चार अंक बटुलेको न्युकासल समूह ‘एफ’ को शीर्षस्थानमा पुगेको छ। ‘ग्रुप अफ डेथ’ मानिएको यो समूहको अर्को खेलमा बोरुसिया डर्टमन्ड र मिलानले बराबरी खेले। यो नतिजापछि मिलानको दुई र डर्टमन्डको एक अंक भएको छ। डर्टमन्ड आफ्नो पहिलो खेलमा पीएसजीसँग हारेको थियो।

न्युकासल र पीएसजीबीचको खेललाई अत्यधिक चासोका साथ हेरिएको थियो। यसको मुख्य कारण हो, दुई क्लबमा खाडी देशहरुको लगानी। न्युकासलको स्वामित्व साउदी अरबसँग छ। उता पीएसजीमा कतारले लगानी गरेको १० वर्षभन्दा बढी भइसक्यो।

यही सिजन पीएसजीको प्रशिक्षक बनेका लुइस एनरिकेले न्युकासललाई बलियो विपक्षी मानेका थिए। खेलको पूर्वसन्ध्यामा भएको पत्रकार सम्मेलनमा उनले न्युकासलसँग कुनै टिम पनि भिड्न नचाहेको प्रतिक्रिया दिएका थिए। न्युकासललाई कमजोर नआँकेका उनले बुधबार राति बलियो टिम उतारेका थिए।

पूर्वबार्सिलोना प्रशिक्षक एनरिकेले फ्रान्सेली राष्ट्रिय टिमका किलियान एम्बाप्पे, उसमान डेम्बेले र रान्डाल कोलो माउनीसँग पोर्चुगाली फरवार्ड गोन्सालो रामोसलाई अग्रपंक्तिको जिम्मा दिएका थिए।

तर यी कुनै पनि फरवार्डले अपेक्षाकृत खेल देखाउन सकेनन्। ‘यस्तो किसिमको खेल हरेक प्रशिक्षकका लागि कठिन हुन्छ। यो गोलअन्तर न्यायपूर्ण होइन। तर हामीसँग स्वीकार गर्नुबाहेकको विकल्प छैन। न्युकासलले राम्रो खेल्यो, तर ४–१ कै नतिजा आउनु पर्ने खेल थिएन,’ हारपछि एनरिकेको प्रतिक्रिया थियो।

५२ हजार दर्शक क्षमताको सेन्ट जेम्स पार्कमा न्युकासलका समर्थकले सुरुबाटै पीएसजीलाई खुल्न दिएनन्। पहिलो हाफको १७ औँ मिनेटमा गोल खाएपछि न्युकासल झन् खुम्चिएको थियो।

पीएसजीले पहिलो गोल आफ्नै गल्तीका कारण खायो। कप्तान मार्किन्योसले आफ्नो मिडफिल्डलाई दिएको पास न्युकासलका मिडफिल्डर ब्रुनो गिमिरासले ‘इन्टरसेप्ट’ गरेका थिए। ब्राजिलेली गिमिरासले हेडर पास पाएपछि अलेक्जान्डर इसाकले पीएसजीको पोस्टमा प्रहार गरे। स्विडेनका यी युवा स्ट्राइकरको प्रहार पीएसजीका गोलरक्षक जियानलुइजी डोनारुमाले रोके। तर रिबाउन्ड बल पीएसजीका खेलाडीले क्लियर गर्न सकेनन्। फलतः बल कसैको निगरानप्मा नरहेका अल्मिरनले भेटे र गोल गरे।

स्थानीय खेलाडी चम्किँदा

पीएसजी जत्तिकै धनाढ्य लगानीकर्ता पाएको न्युकासलले खेलाडी बजारमा मनग्गे खर्च गरेको छ। महँगा खेलाडी भित्र्याएको छ। तर पीएसजीको जितमा महँगा स्टार होइन स्थानीय खेलाडी नायक साबित भए।

बालख हुँदै न्युकासलको समर्थक बनेका बर्नले न्युकासलको दोस्रो गोल गरेका थिए। इंग्लिस फुटबलको छैटौँ श्रेणीबाट करियर सुरु गरेका बर्नले पहिलो पटक युरोपेली प्रतियोगितामा गोल गरेका हुन्। बर्नले हेडरमा गोल गरे।

उनले हेडर गर्नुअघि न्युकासलकै जमाल लासेल्सले ह्यान्ड गरेको शंका थियो। यस्तोमा पीएसजीले दोस्रो गोल टरेको आशा गरेको थियो। तर भीएआरले गोललाई मान्यता दिएपछि न्युकासल खेलमा अघि बढ्यो।

पहिलो हाफमा दुई गोल खाएको पीएसजीले दोस्रो हाफमा पुनरागमन गर्ने आशा गरिएको थियो। तर दोस्रो हाफ सुरु भएको पाँच मिनेटपछि नै पीएसजीले तेस्रो गोल खायो। फुलब्याक केइरन ट्रिपियरले दिएको पासलाई लंगस्टाफले गोलमा परिणत गरेका थिए।

३–० ले पछि परेपछि पीएसजी केही हदसम्म जुर्मुराएको थियो। यसको मुख्य कारण थिए, किशोर मिडफिल्डर वारेन जैर एम्र्री। उनकै लामो पासमा लुकास हर्नान्डेजले हेडर गोल गरेका थिए।

तर यो गोल पीएसजीलाई खेलमा फर्काउन पर्याप्त भएन। बरु उल्टै न्युकासलले गोल थप्यो। इन्जुरी समयमा फाबियान सारले बक्सबाहिरबाट गरेको प्रहार गोलमा परिणत भएपछि न्युकासलले ठूलो अन्तरको जित पक्का ग¥यो।

न्युकासलसँगको हारले पीएसजीमाथि फेरि एकपल्ट गम्भीर प्रश्न उठेको छ। प्रश्न पीएसजीको क्षमतामाथि उठेको हो। घरेलु लिगमा दबदबा कायम गरे पनि पीएसजीको च्याम्पियन्स लिग जित्ने लक्ष्य पूरा हुन सकेको छैन। सन् २०२० मा फाइनलसम्म पुगेको पीएसजी बायर्नसँग पराजित भएको थियो। त्यसपछिका तीन संस्करणमध्ये दुई संस्करणमा पीएसजी अन्तिम १६ पनि कट्न सकेन।

च्याम्पियन्स लिग जित्नकै लागि लगातार प्रशिक्षक परिवर्तन गर्ने पीएसजीले एनरिकेलाई यही सिजन नियुक्त गरेको हो। सन् २०१५ मा लियोनल मेस्सीसम्मिलित बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका एनरिकेले पीएसजीमा सोचेजस्तो सुरुवात गर्न सकेका छैनन्। गत सिजन फ्रान्सेली लिग जितेको पीएसजी हाल पाँचौँ स्थानमा छ।

यो सिजन पीएसजीले एकनरिकेको प्रशिक्षणमा नौ खेल खेलेको छ। ती खेलमा पीएसजी हासिल गरेको जित संख्या हो, चार। पीएसजीले तीन जित घरेलु लिगमा र एक जित च्याम्पियन्स लिगमा हात पारेको हो। पीएसजीले सात लिग खेलबाट १२ अंक बटुलेको छ। पीएसजीका लागि यो सन् २०११ यताकै खराब लिग सुरुवात हो। सन् २०११ मा पीएसजीमा कतारी लगानी भित्रिएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 4 =