च्याम्पियन्स लिग : अन्त्य भएन युनाइटेडको खराब समय, मुस्किलले जोगियो बायर्न

हिमाल प्रेस १७ असोज २०८० ७:०१
12
SHARES
च्याम्पियन्स लिग : अन्त्य भएन युनाइटेडको खराब समय, मुस्किलले जोगियो बायर्न

काठमाडौँ- म्यानचेस्टर युनाइटेडले च्याम्पियन्स लिग समूह चरणमा फेरि अर्को पराजय भोगेको छ। युनाइटेडलाई मंगलबार राति ओल्ड ट्राफोर्डमै टर्कीको गालाटासारेले ३-२ ले पराजित गर्‍यो।

यसअघि समूह ‘ए’ को आफ्नो पहिलो खेलमा युनाइटेड बायर्न म्युनिखसँग ४-३ ले हारेको थियो। लगातार दोस्रो हारपछि युनाइटेड समूह चरणबाटै बाहिरिने खतरा बढेको छ। युनाइटेड च्याम्पियन्स लिग समूह चरणमा पहिलो पटक लगातार दुई खेलमा पराजित भएको हो।

घरेलु मैदानमा युनाइटेडका रास्मुल होइलन्डले दुई गोल गरेका थिए। तर उनको व्यक्तिगत प्रदर्शन हार टार्न पर्याप्त रहेन। च्याम्पियन्स लिगमा १० वर्षपछि पहिलो पटक ‘अवे’ खेलमा जित हात पारेको गालाटासारेका लागि विल्फ्रिड जाहा, केरेम आक्टुरकोग्लु र माउरो इकार्दीले एक-एक गोल गरे।

बायर्नसँगको हारमा युनाइटेडका गोलरक्षक आन्द्रे ओनानाले गल्ती गरेका थिए। खेलपछि उनले आफ्नो गल्तीका कारण युनाइटेड हारेको भन्दै दुःख मनाउ गरेका थिए। तर यसपालि पनि उनले गल्ती गरे।

दोस्रो हाफको ७६ औँ मिनेटमा ओनानले कासिमिरोलाई दिएको पास इकार्दीले पाएका थिए। त्यसपछि इकार्दीलाई कासिमिरोले लडाए, जसकारण ब्राजिलेली मिडफिल्डरलाई सीधा रातो कार्ड देखाइयो। तर पाएको पेनाल्टीमा इकार्दी असफल भए।

तर पाँच मिनेटपछि उनै इकार्दीले गालाटासारेको निर्णायक गोल गरे।

घरेलु मैदानमा युनाइटेडले पहिले अग्रता लिएको थियो। मार्कस रास्फोर्डको क्रसमा होइलन्डले हेडर गोल गर्दै युनाइटेडको गोलको खाता खोलेका थिए।

उनले दोस्रो हाफको ६७ औँ मिनेटमा युनाइटेडको दोस्रो गोल गरे। मैदानको मध्यभागबाट एक्लै बल अघि बढाएका डेनिस स्ट्राइकरको प्रहार गालाटासारेका गोलरक्षक फर्नान्डो मुस्लेराले रोक्न सकेनन्।

हारपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हागले आफ्नो टिम कठिन परिस्थितिबाट गुज्रिरहेको र यो बेला सबै एक हुनुपर्ने प्रतिक्रिया दिए। ‘म, क्लब व्यवस्थापन, खेलाडी सबै एक छौँ। एक भएर अहिलेको कठिन परिस्थितिलाई पार लगाउने प्रयासमा छौँ। यसका लागि हामीले अझ मेहनत गर्नुपर्छ। मलाई विश्वास छ, हामी यो परिस्थितिबाट मुक्त हुनसक्छौँ,’ टेन हागले भने।

टेन हाग गएको सिजन युनाइटेडको प्रशिक्षक बनेका हुन्। उनले पहिलो सिजनमा युनाइटेडलाई इंग्लिस प्रिमियर लिगमा तेस्रो बनाएका थिए। सँगै लिग कप पनि जिताएका थिए। जुन युनाइटेडले ६ वर्षपछि जितेको पहिलो उपाधि थियो।

तर यसपालि भने युनाइटेडले घरेलु र युरोपेली लिग दुवैमा अहिलेसम्मकै खराब सुरुवात गरेको छ। दुवै प्रतियोगितामा गरी युनाइटेडले नौ खेलमध्ये ६ मा हार व्यहोेरेको छ।

डच प्रशिक्षक टेन हागले आफ्ना गोलरक्षक ओनानाको भने आलोचना गर्न मानेन्। ‘आन्द्रे गत सिजन च्याम्पियन्स लिगको फाइनल खेलेका गोलरक्षक हुन्। त्यसअघि उनी आयाक्ससँग सेमिफाइनल पुगेका थिए। यसकारण म भन्नसक्छु, उनीसँग विश्वकै उत्कृष्ट गोलरक्षकमध्येको एक बन्ने क्षमता छ। उनले पटक पटक आफ्नो क्षमता देखाएका छन्। उनले गल्ती त गरेका छन्, तर सही लयमा फर्कन्छन् भन्नेमा शंका छैन,’ ओनानबारे टेन हागको टिप्पणी थियो।

क्यामरुनी गोदरक्षक ओनाना यही सिजन युनाइटेड पुगेका हुन्। स्पेनी गोलरक्षक डेभिड डे हायाको स्थानमा उनलाई अनुबन्ध गरिएको हो। उनका लागि युनाइटेडले इन्टर मिलानलाई चार करोड ७० लाख पाउन्ड तिरेको थियो।

ओनानाले गएको सिजन इन्टलाई च्याम्पियन्स लिग फाइनल पुग्न मद्दत गरेको थिए। सन् २०१९ मा टेन हागले आयाक्सलाई च्याम्पियन्स लिग सेमिफाइनलमा पुर्याउँदा ओनाना डच टिमको गोलरक्षक थिए।

समूह ‘ए’ को अर्को खेलमा बायर्न म्युनिखले डेनमार्कको एफसी कोपनहेगनमाथि २–१ को जित दर्ता गर्‍यो। च्याम्पियन्स लिग समूह चरणमा बायर्नको यो लगातार दोस्रो जित हो।

बायर्नका लागि फेरि एकपटक किशोर फरवार्ड माथिस टेल निर्णायक साबित भए। उनले बेन्चबाट मैदान प्रवेश गरी बायर्नको दोस्रो गोल गरेका थिए। टेललाई भेट्रान फरवार्ड थोमस मुलरले असिस्ट गरेका थिए। मुलरलाई पनि टेलसँगै मैदान प्रवेश गराइएको थियो।

यो सिजन आफ्नो मैदानमा एकै खेल नहारेको कोपनहेगनले दोस्रो हाफको ५६ औँ मिनेटमा अग्रता लिएको थियो। घरेलु टिमका लागि लुकास लेरागरले गोल गरेका थिए।

सेप्टेम्बर, २०१७ यता च्याम्पियन्स लिगमा एकै खेल नहारेको बायर्नले डेनिस विपक्षीविरुद्ध सोचे जस्तो खेल देखाउन सकिरहेको थिएन। तर जमाल मुसिआलाले एकल प्रयासमा ६७ औँ मिनेटमा गोल गरेपछि बायर्नले राहत महसुुस गर्‍यो।

त्यसैगरी मैदान टेलले ८३ औँ मिनेटमा बायर्नको अग्रता दोब्बर बनाए। मैदान प्रवेश गरेको ६ मिनेटपछि नै १८ वर्षीय फरवार्ड गोलकर्ता बनेका थिए। उनले यो सिजन सब्स्टिच्युट भएर पाँच खेलमा ६ गोल गरिसकेका छन्।

बायर्न जम्मा दुई सेन्टर ब्याकका साथ डेनमार्क पुगेको थियो। चोटका कारण माथ्थिस डे लिट मैदानबाहिर नै रहने भएपछि बायर्नले नयाँ सेन्टर ब्याकको खोजी सुरु गरेको थियो। यस्तोमा बायर्नले ३५ वर्षीय जेरोमे बोएटेङलाई क्लब टिममा फर्काएको छ। तर उनी अझ पनि बायर्नबाट खेल्न तयार भइसकेका छैनन्।

पछिल्ला चार खेलमा १० गोल खाइसकेको बायर्न रक्षापंक्तिमा कमजोर देखिएको छ। प्रशिक्षक थोमस टुकलले सिजनको सुरुवातबाटै आफ्नो टिममा पर्याप्त खेलाडी नरहेको गुनासो गर्दै आएका छन्। यति हुँदाहुँदै पनि टुकलले कोपनहेगनविरुद्ध बलियो पहिलो एघार मैदान उतारेका थिए।

गत शनिबार बुन्डेसलिगामा आरबी लाइपजिगसँग २–२ को बराबरी गरेको बायर्न कोपनहेगनविरुद्ध आक्रामक देखिन सकेन। पहिलो हाफको अन्त्यसम्म पनि बायर्नले कोपनहेगनको पोस्टमा बलियो प्रहार गर्न सकेको थिएन। दोस्रो हाफमा आक्रामक बन्ने लक्ष्यका साथ मैदान फर्किएको बायर्नले उल्टै गोल खाएको थियो।

जसोतसो जित हात पारेको बायर्नका कप्तान जोसुआ किमिकले बेन्च खेलाडीका कारण हार टरेको प्रतिक्रिया दिए। ‘बेन्चमा स्तरीय खेलाडी छन्। उनीहरुले हामीलाई यो सिजन पटक पटक जोगाएका छन्। आज पनि उनीहरु फेरि निर्णाक बने। यसको सन्देश हो, फुटबलमा ११ जना खेलाडी मात्र महत्त्वपूर्ण होइनन्,’ किमिकले भने।

फुलब्याकबाट मिडफिल्डर बनेको किमिकले गोलरक्षक सेभेन उल्रिचको पनि खुलेर प्रशंसा गरे। ‘खेल सकिन लाग्दा उनले कोपनहेगनको डरलाग्दो आक्रमण रोके। उनी असाधारण गोलरक्षक हुन्,’ पहिलो रोजाइका गोलरक्षक म्यानुएल नुएर मैदानबाहिर रहेकाले खेल्ने मौका पाइरहेका उल्रिचबारे किमिकले भने।

प्रकाशित: १७ असोज २०८० ७:०१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eighteen − nine =