सिटीलाई बचायो ‘बेन्च’ले, पोर्चुगलमा बार्सिलोनाको जित : मोराटाको लय कायमै

हिमाल प्रेस १८ असोज २०८० १०:३२
8
SHARES
सिटीलाई बचायो ‘बेन्च’ले, पोर्चुगलमा बार्सिलोनाको जित : मोराटाको लय कायमै

काठमाडौँ- बेन्चका खेलाडी चम्किँदा म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा आरबी लाइपजिगलाई ३-१ ले पन्छाएको छ। सिटीलाई जिताउन जुलियान अल्भारेज र जेरेमी डोकुले खेलको उत्तर्राद्धमा एक-एक गोल गरेका थिए।

रेडबुल एरिनामा सिटीले सुरुबाटै लाइपजिगलाई दबाबमा राखेको थियो। आधा घण्टा नबित्दै सिटीले अग्रता लिएको थियो। राइट विंगबाट रिको लुइसले निकालेको क्रसमा फिल फोडनले गोल गरेका थिए।

सुरुको ४५ मिनेटमा हरेक पक्षमा कमजोर देखिएको जर्मन टिम लाइपजिगले दोस्रो हाफको सुरुवातमै बराबरी गोल फर्काउन सक्यो। आक्रमणको प्रयासमा रहेका ज्याक ग्रिलिसबाट निकोल सिवाल्डले बल खोसेपछि लाइपजिगले काउन्टर अट्याक गरेका थियो। जसमा लोइस ओपेन्डा गोल गर्न सफल भए।

घरेलु मैदानमा गत सिजनको विजेता सिटीलाई रोक्ने उद्देश्यमा रहेको लाइपजिग मूलतः एर्लिङ हालान्डमाथि केन्द्रित थियो। पछिल्लो पटक लाइपजिगविरुद्ध ६० मिनेटभित्र पाँच गोल गरेकाले हालान्डलाई निगरानीमा राख्नु स्वाभाविक थियो।

तर लाइपजिगले अल्भारेजलाई रोक्न सकेन। ७९ औँ मिनेटमा मैदान प्रवेश गरेका अल्भारेजले ८४ औँ मिनेटमा सिटीलाई अग्रता दिलाए। अल्भारेजका लागि यो तेस्रो च्याम्पियन्स लिग गोल हो। समूह चरणको पहिलो खेलमा सिटीले क्रभेना भेज्दालाई ३-१ ले पन्छाउँदा अल्भारेजले दुई गोल गरेका थिए।

आरबी लाइपजिगविरुद्ध दोस्रो गोल गरेपछि म्यानचेस्टर सिटीका खेलाडी। तस्बिर : रोयटर्स

अल्भारेजभन्दा केही अगाडि मैदान छिरेका जेरेमी डोकुले इन्जुरी समयमा सिटीको अन्तिम गोल गरे।

खेलपछि गोलकर्ता फोडनले अल्भारेजका कारण जित्न हात पार्न सकेको प्रतिक्रिया दिए। उता लाइपजिगका प्रशिक्षक मार्को रोसले सिटी जितको हकदार रहेको स्वीकार गरे। ‘हामीले सिक्ने भनेको यस्तै टिमसँग खेलेर हो,’ रोसको भनाइ थियो।

सिटी र लाइपजिग च्याम्पियन्स लिगमा लगातार तेस्रो सिजन भिडेका हुन्। जर्मन विपक्षीमाथि फेरि एकपल्ट जित पार्दा आफ्ना खेलाडी सबै पक्षमा बलियो देखिएको सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले बताए। ‘हरेक खेलाडीले उम्दा खेले। हामी सबै पक्षमा बलियो थियौँ,’ ग्वार्डिओलाले भने।

जितपछि सिटी समूह ‘जी’ को शीर्षस्थानमा छ। सिटीसँग ६ अंक छ भने दोस्रो स्थानको लाइपजिगले तीन अंक जम्मा गरेको छ। लाइपजिगले आफ्नो पहिलो खेलमा योङ ब्वोइजलाई ३-१ ले हराएको थियो। बुधबार रातिकै खेलमा योङ ब्वोइज र भेज्दाले २-२ को बराबरी खेले। यी दुई टिमसँग अब एक-एक अंक छ।

उता बार्सिलोनाले समूह ‘एच’ मा लगातार दोस्रो जित दर्ता गर्‍यो। बार्सिलोनाले एफसी पोर्टोलाई १-० ले पराजित गरेको हो। फेरान टोरेसले पहिलो हाफको अन्तिम क्षणमा गरेको गोल बार्सिलोनाको जितका लागि पर्याप्त रह्यो।

पछिल्ला दुई सिजन समूह चरणबाटै बाहिरिएपछि बार्सिलोना यसपालि दबाबमा छ। तर पोर्टोविरुद्ध हात पारेको जितले बार्सिलोनालाई नकआउट चरणतिर डोर्‍याएको छ।

बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले पोर्टोसँगको खेल समूह चरणका अरू खेलभन्दा कठिन हुने बताएका थिए। भयो पनि त्यस्तै। भीएआरका कारण पेनाल्टीबाट बचेको बार्सिलोनाले इन्जुरी समयमा गाभीलाई गुमाएको थियो। गाभी दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट निस्किन बाध्य भए।

‘हामी अत्तालियौँ। धैर्य पनि गुमायौँ। तर च्याम्पियन्स लिगमा यस्तो हुन्छ। त्यसमाथि विपक्षी पोर्टो थियो। पोर्टो जत्तिको बलियो टिमसँग उसकै मैदानमा खेल्न अवश्य पनि सजिलो हुँदैन,’ बार्सिलोनाको प्रशिक्षकका रूपमा एक सयौँ खेल पूरा गरेका जाभीले भने, ‘नकारात्मक कुरा गर्ने हो भने धेरै छन्। तर सकारात्मक पक्ष पनि धेरै छन्।’

जाभीले बार्सिलोना अन्ततः भूतबाट मुक्त भएको प्रतिक्रिया पनि दिए। ‘हामी अब युरोपेली प्रतियोगितामा बलिया टिमलाई उनीहरूकै मैदानमा पनि हराउन सक्ने भएका छौँ। हामी भूतबाट मुक्त भएका छौँ,’ जाभीको भनाइ थियो।

सन् २०१५ मा च्याम्पियन्स लिग जितेको बार्सिलोना पछिल्लो समय यो प्रतियोगितामा कमजोर साबित भइरहेको थियो। जाभी यसपालि च्याम्पियन्स लिगमा फड्को मार्न चाहन्छन्।

खेलपछि खुसी साटासाट गर्दै एट्लेटिको म्याड्रिडका खेलाडी। तस्बिर : रोयटर्स

पोर्टोविरुद्ध जाभीले लामिन यमाललाई मौका दिए। पोर्चुगाली टिमविरुद्ध खेलेसँगै उनी च्याम्पियन्स लिगको खेलमा कुनै पनि टिमको पहिलो एघारमा पर्ने सबैभन्दा कान्छा खेलाडी बने। राइट विंगमा खेलेका उनको उमेर १६ वर्ष ८३ दिन छ।

स्पेनकै अर्को टिम एट्लेटिको म्याड्रिडले घरेलु मैदानमा फियोनार्डमाथि ३-२ को पुनरागमन जित दर्ता गर्‍यो। घरेलु लिग ला लिगामा पछिल्लो खेलमा काडिथमाथि पनि पुनरागमन जित हात पारेको एट्लेटिकोका लागि फेरि एकपल्ट अल्भारो मोराटा नायक साबित भए। वान्डा मेट्रोपोलिटानोमा उनले दुई गोल गरे।

डच विपक्षी फियोनार्डविरुद्ध एट्लेटिकोले स्थिर प्रदर्शन गरेको होइन। तर मोराटा र उनका साझेदार एन्टोइन ग्रिजमनले पाएको मौका खेर नफालेपछि एट्लेटिकोले तीन अंक बटुलेको हो।

जितले एट्लेटिकोलाई समूह ‘ई’ को पहिलो स्थानमा पुर्‍याएको छ। पहिलो खेलमा लाजियोसँग बराबरी खेलेको एट्लेटिकोसँग चार अंक छ। बुधबार राति सेल्टिकलाई पन्छाएको लाजियोको पनि चार अंक नै छ। तर गोल भिन्नतामा एट्लेटिको शीर्षस्थानमा रहेको हो।

मारियो हेर्मेसोले सातौँ मिनेटमा आत्मघाती गोल गरेपछि एट्लेटिको पछि परेको थियो। तर मोराटाले पाँच मिनेटपछि नै बराबरी गोल गरेका थिए। डेभिड हान्कोले ३४ औँ मिनेटमा गरेको गोलले भने एट्लेटिकोलाई फेरि पछाडि धेलेको थियो। यद्यपि ग्रिजमनले पहिलो हाफको इन्जुरी समय र मोरोटाले दोस्रो हाफको सुरुवातमा गोल गरेपछि एट्लेटिको हारबाट जोगियो।

‘च्याम्पियन्स लिग कठिन प्रतियोगिता हो। विपक्षी बलिया हुन्छन्। यसकारण जितका लागि संघर्ष गर्नैपर्छ। हामीले संघर्ष गर्न छाडेनौँ। फेरि समर्थकले पनि साथ दिइरहेका छन्। यही स्थिति कायम रहने हो भने हामीलाई हराउन अरू टिमका लागि सजिलो हुनेछैन,’ यो सिजन सात गोल गरिसकेका मोराटाले भने।

प्रकाशित: १८ असोज २०८० १०:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + 2 =