च्याम्पियन्स लिग : नयाँ स्वरुपमा पीएसजी, उपाधिमाथि दाबेदारी

हिमाल प्रेस १७ असोज २०८० १५:०४
10
SHARES
च्याम्पियन्स लिग : नयाँ स्वरुपमा पीएसजी, उपाधिमाथि दाबेदारी

काठमाडौँ- यो सिजन सुरु हुनुअघि पेरिस सेन्ट जर्मेन (पीएसजी) मा निकै फेरबेदल भयो। ठूला स्टारहरूले क्लब छाडे। तिनलाई युवा खेलाडीहरूले प्रतिस्थापन गरे। परिवर्तनको सन्देश यही हो, पीएसजी पुनः निर्माणको अभियानमा छ। तर दुर्भाग्यवश कप्तान किलियान एम्बाप्पे अर्को सिजन यो अभियानको हिस्सा नरहन सक्छन्।

नयाँ स्वरुपको पीएसजी बुधबार राति मैदान उत्रिँदैछ। खेल हो च्याम्पियन्स लिग समूह चरणको। अनि विपक्षी हो, न्युकासल युनाइटेड। यो भिडन्तलाई विशेष मानिँदैछ। किनभने यी दुई क्लबमा खाडीका दुई देशको लगानी छ।

पीएसजी र न्युकासल समूह ‘एफ’ मा छन्। यो समूहको बाँकी दुई टिम, एसी मिलान र बोरुसिया डर्टमन्ड हुन्। आफ्नो पहिलो खेलमा पीएसजीले डर्टमन्डलाई हराएको थियो। न्युकासल र मिलानले भने बराबरी खेलेका थिए। यस्तोमा सेन्ट जेम्स पार्कमा जिते, पीएसजी नकआउट चरणको नजिक पुग्नेछ।

उसो त पीएसजीका लागि अन्तिम १६ मा पुग्ने लक्ष्य कठिन होइन। कठिन त अन्तिम आठ वा त्यसभन्दा अघि पुग्नु हुनेछ। किनभने पीएसजी पछिल्ला सात सिजनमा जम्मा दुई पटक मात्र क्वार्टरफाइनल पुगेको छ।

पीएसजीले सन् २०२० र २०२१ मा अन्तिम १६ पार गरेको थियो। सन् २०२० मा त पीएसजी प्रतियोगिताको उपविजेता नै बन्यो। त्यसपछिको सिजन भने पीएसजी सेमिफाइनलमा सीमित भयो।

यसपालि पीएसजीसँग नयाँ प्रशिक्षक छन्, लुइस एनरिके। उनीसँग बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएको अनुभव छ। अब प्रश्न उठ्छ, के उनले पीएसजीलाई युरोपेली च्याम्पियन बनाउलान्? भन्न सकिन्न। तर यति चाहिँ भन्न सकिन्छ, उनले पीएसजीलाई कम्तीमा अन्तिम १६ चाहिँ पार लगाउनु पर्नेछ। घरेलु लिग जित्ने जिम्मा त छँदैछ।

उता पीएसजीका अध्यक्ष नासेर अल खेलैफीले भने च्याम्पियन्स लिग जित्नै पर्ने बाध्यता नरहेको बताउँछन्। ‘हालका लागि हाम्रो प्राथमिकता नयाँ परिचय निर्माण गर्ने हो। हामी आफ्नै शैली र संस्कृतिको विकास गर्न चाहन्छौँ। यी लक्ष्यमा सफल भएपछि नतिजा त आफैँ देखिन थालिहाल्छ नि,’ खेलैफीले हालै भनेका छन्।

ध्यान बल पोसेसनमा

लामो समय पीएसजीले स्टार खेलाडी अनुबन्ध गर्ने नीति अंगाल्यो। त्यही नीति अन्तर्गत पार्क डेस प्रिन्स पुगेका लियोनल मेस्सी, नेयमार, मार्को भेराटी, सर्जियो रामोसले यसपालि पीएसजी छाडे। मेस्सी र नेयमारले पीएसजी छाड्दा उनीहरूसँगै अग्रपंक्ति सम्हालेका एम्बाप्पे भने त्यही छन्। पीएसजीसँग एम्बाप्पेको सम्झौता अर्को जुनमा सकिँदैछ। यसकारण उनले आउँदो सिजन फ्रान्सेली लिग खेल्ने सम्भावना न्यून छ। यही सिजन मात्र पीएसजी बस्ने भनिए पनि उनको वरपर नै टिमको निर्माण गरिएको छ।

अग्रपंक्ति कमजोर नहोस् भनेर पीएसजीले यसपालि दुई नयाँ फरवार्ड खरिद गरेको छ। ती हुन्, रान्डाल कोलो माउनी र उसमान डेम्बेले। यी दुई फ्रान्सेली फरवार्डका लागि पीएसजीले १४ करोड युरो खर्च गर्यो। मिडफिल्डमा पनि पीएसजीले खेलाडी थपेको छ। नयाँ मिडफिल्डर उरुग्वेका म्यानुएल उगार्टे हुन्। उनी प्लेमेकरको भूमिकामा देखिन्छन्।

नयाँ प्रशिक्षक आउन साथ कुनै पनि टिमको खेल शैली परिवर्तन हुन्छ नै। एनरिकेले पीएसजीलाई ४–३–३ को संरचनामा खेलाउने गरेका छन्। यसरी खेल्दा पीएसजी मुख्यगरी दुई पक्षमा ध्यान दिन्छ। पहिलो, बल पोसेसन। दोस्रो, काउन्टर प्रेसिङ।

एनरिकेले यही शैली बार्सिलोनामा पनि प्रयोग गर्ने गरेका थिए। पीएसजीमा पनि यसले काम गरिरहेको छ। लियोन, मार्से र डर्टमन्डमाथिको जितमा पीएसजीले धेरैजसो समय बल नियन्त्रणमा राखेको थियो। अरु धेरै खेलमा पनि पीएसजी ७० प्रतिशत वा बढी समय बल आफ्नो नियन्त्रणमा राखेको तथ्यांक छ।

पीएसजीमा पछिल्ला पाँच सिजन सबैभन्दा बढी गोल गर्ने एम्बाप्पे हुन्। गएको सिजन २९ गोल गरेका एम्बाप्पेले यो सिजन सात गोल गरिसकेका छन्। यस अर्थमा उनी फ्रान्सेली टिमका सबैभन्दा महत्त्वपूर्ण खेलाडी हुन्। तर उनी जत्तिकै प्रभावशाली देखिएका अर्का खेलाडी हुन्, अचरफ हाकिमी।

फुलब्याक हाकिमी आक्रामक स्वाभावका छन्। उनी विंगमा बल लिएर त दौडिन्छ नै मिडफिल्ड क्षेत्रमा पनि प्रवेश गर्छन्। गोलका अवसर सिर्जना गर्छन्।

प्राथमिकता युवालाई

पीएसजीमा ११ यस्ता खेलाडी छन्, जसले अरुभन्दा बढी समय खेल्ने मौका पाएका छन्। तिनको औसत उमेर २४ वर्ष छ। यीभन्दा पनि कान्छा खेलाडी छन् पीएसजीमा। उनी हुन्, वारेन जाइरे एम्री। उनी भर्खर १७ वर्षका भए।

युवा खेलाडीको बाहुल्य भएका कारण पीएसजी यसपल्ट फरक देखिएको छ। जबकि यसअघि पाका मेस्सी र नेयमारमाथि पीएसजी बढी भर परेको थियो।

यो सिजन च्याम्पियन्स लिगको सबैभन्दा बलियो दाबेदार म्यानचेस्टर सिटी हो। गएको सिजन इन्टर मिलानलाई पन्छाएर विजेता बनेको सिटी यसपालि पनि उत्तिकै बलियो देखिन्छ। युरोपेली क्लब फुटबलमा सिटीलाई थोरै टिमले मात्र टक्कर दिन सक्छन्। र ती टिमको सूचीमा पीएसजी पनि अवश्य पर्छ।

फेरि एम्बाप्पेका लागि पीएसजीबाट च्याम्पियन्स लिग जित्ने अन्तिम मौका सम्भवतः यही सिजन हो। एम्बाप्पे आफैँ पनि बलियो लयमा छन्। एनरिके त उनलाई विश्व फुटबलको सबैभन्दा उत्कृष्ट खेलाडी मान्छन्।

‘उनी शारीरिक र प्राविधिक रुपमा यति बलिया छन् कि उनलाई विश्वकै सबैभन्दा उत्कष्ट खेलाडी मान्न कर लाग्छ। उनको प्रशिक्षक भएका कारण म यस्तो दाबी गरिरहेको छैन,’ यही साता युईएफए डटकमसँगको अन्तरवार्तामा एनरिकेले भनेका छन्।

उता फ्रान्सको अखबार एल एलक्युपले भने एम्बाप्पेको लयमाथि प्रश्न उठाएको छ। ‘एम्बाप्पे जति आकर्षक र प्रभावकारी देखिन्छन् त्यति नै निराशाजनक पनि देखिन्छन्,’ एलएक्युपले लेखेको छ।

च्याम्पियन्स लिगमा राम्रो सुरुवात गरेको भए पनि घरेलु लिगमा भने पीएसजीको प्रदर्शन मिश्रित छ। शनिबार क्लेरमोन्टसँग गोलरहित बराबरी खेलेपछि पीएसजी पाँचौँ स्थानमा झरेको छ। एकनरिकेको प्रशिक्षणमा सात खेलेको पीएसजी जम्मा चार खेलमा मात्र विजयी भएको छ।

वर्तमान लय जे जस्तो भए पनि एनरिके पीएसजीलाई च्याम्पियन्स लिगको दाबेदार मान्छन्। ‘हामी पक्कै पनि उपाधि दाबेदार हो। खेलाडीको स्तर हेर्ने हो भने, हामीभन्दा बलिया टिम अर्को छैन,’ एनरिकेले भनेका छन्।

एएफपीको सहयोगमा

प्रकाशित: १७ असोज २०८० १५:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 + one =