कोन्टेले किन छाडे टोटनहम?

हिमाल प्रेस १३ चैत २०७९ १६:२२
14
SHARES
कोन्टेले किन छाडे टोटनहम? टाेटनहमबाट बाहिरिएका एन्टाेनियाे काेन्टे

काठमाडौँ- उतारचढावपूर्ण एन्टोनियो कोन्टेको टोटनहम बसाइ अन्ततः अन्त्य भएको छ। कोन्टेले आपसी समझदारीमा आइतबारबाट इंग्लिस प्रिमियर लिगको क्लब टोटनहम छाडेको बताइएको छ। नोभेम्बर, २०२१ मा प्रशिक्षक बनेका कोन्टेले १६ महिनापछि टोटनहम छाडेका हुन्।

करिब डेढ वर्षको बसाइमा कोन्टेले क्लब व्यवस्थापन र खेलाडीको आलोचना गरिरहे। खेलाडी सरुवा बजारमा टोटनहमले पर्याप्त मात्रामा स्तरीय खेलाडी अनुबन्ध गर्न नसकेको भन्दै कोन्टेले असन्तुष्टि व्यक्त गरिरहे। टोटनहमसँग कोन्टेको सम्झौता यही सिजनको अन्त्यमा सकिँदै थियो।

टोटनहमले प्रिमियर लिगमा स्थिर प्रदर्शन गर्न नसक्नु र च्याम्पियन्स लिगको अन्तिम १६ बाटै बाहिरिनुले कोन्टेको भविष्य अनिश्चित बनेको टिप्पणी हुँदै थियो। गत मार्च १८ मा टोटनहम साउथह्याम्पटनसँग ३–३ को बराबरीमा रोकिएपछि कोन्टेले सार्वजनिक रुपमै खेलाडी तथा क्लब अध्यक्ष डानियल लेभीको आलोचना गरेका थिए।

यसरी खुलमखुला क्लब अध्यक्षको आलोचना गरेर कोन्टेले आफैँ टोटनहमबाट बाहिरिन चाहेको संकेत गरेका थिए।

जारी प्रिमियर लिगमा टोटनहम चौथो स्थानमा छ। पाँचौँ स्थानको न्युकासल युनाइटेडभन्दा दुई खेल बढी खेलेको टोटनहमले चौथो स्थानमा रहेर लिग समापन गर्ने सम्भावना भने कठिन छ।

बेलायती सञ्चारमाध्यमका अनुसार लेभीले प्रशिक्षक कोन्टेको ‘मुड स्विङ’ प्रति चासो व्यक्त गरिरहेका थिए। टोटनहमका खेलाडी पनि कोन्टेको व्यवहारले आजित हुन थालेको दाबी गरिँदै थियो। उता समर्थक भने कोन्टेको रक्षात्मक रणनीतिको आलोचना गरिरहेका थिए।

उसो त लेभीको चाहना, कोन्टे कम्तीमा यो सिजनभर टोटनहममा रहुन् भन्ने चाहन्थे। जारी सिजन निर्णायक मोडतिर पुग्नै लाग्दा प्रशिक्षक परिवर्तन गर्दा टिममा नकारात्मक असर पर्छ भन्ने लेभीको ठम्याई थियो। तर कोन्टे र खेलाडीहरूबीच नै सम्बन्ध बिग्रन थालेपछि लेभी निर्णायक कदम चाल्न बाध्य भएका हुन्।

कोन्टे किन खेलाडीहरूको आलोचनामा उत्रिए? यसको मुख्य कारण हो, अस्थिर प्रदर्शन। अग्रता लिए पनि आखिरमा अंक गुमाउनु। सिटीसँगको खेलमा टोटनहमले पहिलो हाफमा २–० को अग्रता लिएको थियो। तर दोस्रो हाफमा लगातार चार गोल खाएपछि टोटनहम पराजित हुन पुग्यो। लेस्टरसँग हारेको खेलमा पनि टोटनहमले सुरुमै अग्रता लिएको थियो। तर टोटनहमले न त अग्रता बचाउन सक्यो, न त गोल नै थप्न सक्यो।

एएफए कपमा सेफिल्ड युनाइटेड र लिगमा उल्भरह्याप्टनसँग टोटनहमले उत्तराद्र्धमा गोल खाएको थियो। साउथह्याप्टनविरुद्ध ३–१ ले अघि बढेको टोटनहमले १३ मिनेटभित्र दुई गोल खाएपछि जितबाट वञ्चित हुनपुग्यो।

साउथह्याम्पनटसँगको बराबरीपछि कोन्टे निकै आक्रोशित देखिएका थिए। ‘मलाई लाग्छ यो टिमबारे बोल्ने सही समय हो। यो खेलले टोटनहम टिमका रुपमा क्षतविक्षत छ भनेर प्रमाणित गरेको छ। खेलाडीहरूमा टिमका लागि खेल्नुपर्छ भन्ने भावना छैन। उनीहरू एकअर्कालाई सहयो गर्न तयार छैनन्,’ कोन्टेले भनेका थिए।

टोटनहमलाई प्रिमियर लिगकै सबैभन्दा ठूलो ‘अन्डरएचिभर्स’ मानिन्छ। सन् २००८ मा लिग कप जितेयता टोटनहम उपाधिविहीन छ। टोटनहम अन्तिम पटक लिग च्याम्पियन बनेको सन् १९६१ मा हो। ह्यारी केन जस्ता कीर्तिमानी स्ट्राइकर टिममा भए पनि टोटनहम ठूला क्लबहरूसँग लिग उपाधिका लागि भिड्न लगातार असफल भइरहेको छ।

यही परिस्थितिबाट मुक्त गराउने शर्तमा कोन्टे टोटनहमको प्रशिक्षक बनेका थिए। हुन त उनीअघिका प्रशिक्षकहरूको लक्ष्य पनि त्यही थियो, टोटनहमलाई इंग्लिस फुटबलको शक्तिका रुपमा स्थापित गराउने।

‘टोटनहमको कथा हो, २० वर्षदेखिको असफलता। टोटनहमलाई असफल हुने बानी लागेको छ। यो क्लब महत्त्वपूर्ण उपलब्धिका लागि प्रतिस्पर्धामा उत्रदैन। न त दबाब सहेर खेल्नसक्छ,’ कोन्टेको आरोप थियो।

कोन्टे प्रमाणित विजेताका रुपमा टोटनहमसँग आबद्ध भएका थिए। सन् २०२१ मा इन्टर मिलानलाई सिरी ए विजेता बनाएर टोटनहम पुगेका कोन्टेले चेल्सीलाई सन् २०१७ मा प्रिमियर लिग च्याम्पियन बनाएका थिए। त्यसअघि युभेन्टसले कोन्टेकै प्रशिक्षणमा तीन पटक सिरी ए उपाधि हात पारेको थियो।

टोटनहममा कोन्टेको सुरुवात कमजोर भने थिएन। संघर्षरत टोटनहमलाई कोन्टेले पहिलो सिजन शीर्ष चारमा पुर्‍याएका थिए। त्यसो गर्दा टोटनहमले सहरी प्रतिद्वन्द्वी आर्सनललाई पछि पारेको थियो। तर गत ‘समर विन्डो’ मा टोटनहमले कोन्टेले अपेक्षा गरेको अनुसारका अनुसारका खेलाडी खरिद गर्न नसकेपछि कोन्टेमा निराशा देखिन थालेको थियो।

प्रकाशित: १३ चैत २०७९ १६:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =