‘मनसरा’ को प्रिमियर : ‘नेपाली फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित’

हिमाल प्रेस २० वैशाख २०८१ ११:१७
706
SHARES
‘मनसरा’ को प्रिमियर : ‘नेपाली फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित’

काठमाडौँ-  फिल्म ‘मनसरा’ को बुधबार ललितपुरस्थित क्युएफएक्स अन्तर्गत लबिम मलमा भव्य प्रिमियर गरिएको छ। फिल्म वैशाख २१ गते अर्थात् आगामी शुक्रबारबाट प्रदर्शन हुनेछ।

प्रिमियरमा फिल्म हेर्न सेलिब्रेटी र पत्रकारको बाक्लो उपस्थिति रहेको थियो। फिल्म हेरिसकेपछि निर्देशक निश्चल बस्नेतले उपेन्द्र सुब्बाले नेपाली फिल्ममा साहित्य जरुरी छ भन्ने प्रमाणित गरेकाे बताए। ‘उपेन्द्र सुब्बा दाईले नेपाली फिल्ममा साहित्य जरुरी छ है भन्ने प्रमाणित गरिदिनु भयो’, निर्देशक बस्नेतले भने  ‘उपेन्द्र दाईको पहिलो फिल्म हेर्दा नै पहिलो हो जस्तो लागेको थिएन। ‘मनसरा’ त्यो भन्दा अझ उत्कृष्ट र परिस्कृत बनेको छ। एक पटक सम्पूर्ण दर्शकलाई यो फिल्म हेर्न अनुरोध गर्छु।’ निर्देशक बस्नेतले सबै कलाकारको काम उत्कृष्ट लागेको बताए।

अभिनेत्री सुरक्षा पन्तले मनसरा हेर्दा आनन्द आएको बताइन्। ‘उपेन्द्र दाई माया कसरी बुझ्नु हुन्छ भन्ने प्रश्न सोध्न मन लाग्छ।’ उनले भनिन् ‘यस्तो सिरियस प्रेम, समाजमा पाच्य नहुने अथवा हामीलाई पश्न गरिरहने प्रेम सम्बन्धलाई पनि साधारण र पोयट्रीक माध्यमबाट प्रस्तुत गर्न सफल हुनु भएको छ।’ सफलताको शुभकामना दिँदै उनले पनि एक पटक यो फिल्म हलमा पुगेर सबै दर्शकले हेरिदिन आग्रह गरिन्।

निर्देशक प्रदीप भट्टराईले फिल्म फरक फरक आउनु पर्ने र त्यही फरक फिल्ममध्ये एक ‘मनसरा’ भएको प्रतिक्रिया दिए। ‘फिल्म उद्योग भनेको साँच्चिकै बगैँचा जस्तै हो। त्यसैले त्यहाँ एकथरीमात्रै फूल फुल्यो भने त कामै भएन नि! त्यहाँ थरीथरीका फूल फुल्न जरुरी छ।’ निर्देशक भट्टराईले भने। ‘जारी’मा उपेन्द्र दाई बगैँचामा एकदुई थरी फूल फुलाउनु भएको थियो। यसपाली ‘मनसरा’लाई पुरै बगैँचा नै बनाउनु भएको छ। सुन्दर बगैँचा एक पटक घुम्नै पर्ने खालको छ।’

अभिनेता खगेन्द्र लामिछानेले पनि फिल्म निकै मन परेको बताए। ‘निर्देशक उपेन्द्र सुब्बा दाई सामाजिक कथा अनि हामीले देखेका र सुनेका घटनालाई गहन रुपमा प्रस्तुत गर्नु भएको छ।’ उनले भने। ‘फिल्ममा साहित्यलाई एकदमै मज्जाले कनेक्ट गरिदिनु भएको छ। त्यसैले एक पटक सबैले हेरिदिनुहोला।’

निर्माता तथा निर्देशक अशोक शर्माले पनि निर्देशक उपेन्द्र सुब्बाको काम र फिल्मको प्रस्तुतिकरण उत्कृष्ट लागेको बताए। फिल्म हेर्न निर्देशक निश्चल बस्नेत, प्रदीप भट्टराई, दीपेन्द्र लामा, वितरक तथा निर्देशक अशोक शर्मा, निर्माता रवीन्द्र सिंह बानिया, कवि विप्लप प्रतिक, गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, अभिनेता खगेन्द्र लामिछाने, अभिनेत्री सुरक्षा पन्त, मलिका महत, परिक्षा लिम्बू, पोयट आइडलका निर्देशक अनम प्रताप अधिकारीलगायत थुप्रै लबिम मल पुगेका थिए।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधानका अलावा हेमन्त बुढाथोकी शान्ति गिरी, नेनहान राईको अभिनय छ। निर्देशक सुब्बाकै लेखन रहेको फिल्मका निर्माता छायाकार शैलेन्द्र ध्वज कार्की हुन्।

फिल्म निमेश श्रेष्ठको सम्पादन, अर्जुन कार्कीको रंग संयोजन, श्रवल राज पाण्डेको साउण्ड डिजाइन, मानाहाङ लावती, मनिक शंखर र सुभम चाम्लिङ राईको संयुक्त कला निर्देशनमा बनेको छ।

फिल्मको बुधबारदेखि नै टिकट बुकिङ सुरु भइसकेको छ।

प्रकाशित: २० वैशाख २०८१ ११:१७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen + sixteen =