पुराना शक्तिसँग आत्मसमर्पण होइन नयाँ ढंगले अघि बढ्नुपर्छ : प्रवक्ता शर्मा

हिमाल प्रेस २८ साउन २०८३ १४:०१ | Thursday, August 13, 2026
10
SHARES
पुराना शक्तिसँग आत्मसमर्पण होइन नयाँ ढंगले अघि बढ्नुपर्छ : प्रवक्ता शर्मा

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का प्रवक्ता तथा निर्वाचन आयोग प्रमुख कृष्ण शर्माले राजनीतिमा विचार र नीतिसँगै त्यसलाई जनतासँग जोड्ने राजनीतिक कला, संगठनात्मक कौशल र जनसम्बन्ध पनि उत्तिकै आवश्यक रहेको बताएका छन्।

उनले नयाँ शक्ति, नेपाल स्थापनाको १२ वर्षको यात्राको समीक्षा गर्दै पार्टीले उठाएका एजेन्डाहरू नेपाली समाज र राष्ट्रिय राजनीतिको मूल बहसमा स्थापित भए पनि संगठनात्मक रूपमा निर्णायक शक्ति बन्न नसकेको बताए।

‘राजनीतिमा रूप पक्ष र सार पक्ष हुन्छन्। हामीले आत्मसात् गर्ने भनेको मूलतः सार पक्ष हो,’ शर्माले भने,‘हामीले १२ वर्ष अगाडि नयाँ शक्ति स्थापना गर्‍यौँ। त्यो नेपाली राजनीतिमा एउटा युगान्तकारी परिघटना थियो। नयाँ शक्तिले उठाएका एजेन्डाहरू विस्तारै समाज र राष्ट्रिय राजनीतिको मूल बहसमा स्थापित हुँदै गए तर त्यसअनुरूप नयाँ शक्ति भने नेपाली राजनीतिमा संगठनात्मक रूपले निर्णायक शक्ति बन्न सकेन।

उनका अनुसार नयाँ शक्तिको विगतको यात्राले राजनीतिमा विज्ञानसँगै कला र कौशलको पनि महत्त्वपूर्ण भूमिका हुने तथ्य प्रस्ट पारेको छ।

‘यसले एउटा महत्त्वपूर्ण सत्य उजागर गर्‍यो कि राजनीति विज्ञान मात्र रहेनछ, राजनीति विज्ञानसँगै कला पनि रहेछ,’ उनले भने, ‘हामीले विज्ञानलाई पक्रियौँ तर राजनीतिमा आवश्यक कला, कौशल, संगठनात्मक व्यवहार र जनसम्बन्धको पक्षलाई पर्याप्त रूपमा आत्मसात् गर्न सकेनौँ।’

शर्माले अहिले नयाँ शक्ति फेरि निर्णायक मोडमा उभिएको बताए। उनका अनुसार पुराना शक्तिसँग आत्मसमर्पण गर्ने, पार्टीलाई विसर्जन गर्ने वा नयाँ ढंगले पुनर्जीवन दिँदै अघि बढ्ने भन्ने प्रश्न अहिले मुख्य बनेको छ।

‘आज हामी फेरि एउटा निर्णायक मोडमा उभिएका छौँ। पुराना शक्तिसँग आत्मसमर्पण गर्ने, विसर्जन हुने वा पुनर्जीवन भएर नयाँ ढंगले नयाँ शक्तिलाई अघि बढाउने?’ उनले प्रश्न गरे।

विगतका कमजोरीको गम्भीर समीक्षा गरेर त्यहीँबाट नयाँ यात्रा सुरु गर्नुपर्ने उनको भनाइ छ। तर उनले विगतमा फर्किने नभई विगतबाट सिकेर अघि बढ्नुपर्नेमा जोड दिए।

‘हामीले जहाँबाट बाटो बिराएका हौँ, पुनः त्यहीँ फर्केर त्यसको गम्भीर समीक्षा गर्नुपर्छ। त्यही बिन्दुबाट अघि बढ्नुपर्दछ तर विगतमा फर्किने होइन, विगतबाट सिकेर विज्ञान र कलाको उचित संयोजनसहित अग्रगामी र वैकल्पिक राजनीतिसहित नयाँ यात्राको सुरुवात गर्नुपर्छ,’ उनले भने।

शर्माले विज्ञानले राजनीतिको दिशा, दृष्टि र नीति निर्धारण गर्ने तथा कलाले त्यसलाई जनतासँग जोड्ने क्षमता, संगठनात्मक जीवन्तता र राजनीतिक प्रभाव प्रदान गर्ने बताए।

‘विज्ञानले हामीलाई दिशा, दृष्टि र नीति दिन्छ, कलाले त्यसलाई जनतासँग जोड्ने क्षमता, संगठनात्मक जीवन्तता र राजनीतिक प्रभाव दिन्छ,’ उनले भने, ‘त्यसैले अबको बाटो विज्ञानलाई त्याग्ने होइन, कलालाई थप्ने हो, सारलाई छोड्ने होइन रूपलाई सारअनुकूल बनाउने हो।’

उनले नयाँ शक्तिको पुनर्जीवन पुरानै अवस्थामा फर्किनु नभएको बताए। पार्टीले विगतमा उठाएका एजेन्डालाई नयाँ राजनीतिक कला, संगठनात्मक संस्कृति र जनसम्बन्धसँग जोडेर परिपक्व ढंगले अघि बढाउनुपर्ने उनको भनाइ छ।

‘नयाँ शक्तिको पुनर्जीवन भनेको पुरानै अवस्थामा फर्किनु होइन। आफूले उठाएका युगान्तकारी एजेन्डालाई नयाँ राजनीतिक कला, नयाँ संगठनात्मक संस्कृति र नयाँ जनसम्बन्धसँग जोडेर अझ परिपक्व रूपमा अघि बढ्नु हो,’ अधिवक्तासमेत रहेका शर्माले भने।

उनले नयाँ शक्तिले नेपाली राजनीतिमा उत्कृष्ट विचारसहितको वैकल्पिक शक्ति निर्माण गर्न चाहेको बताए। उनका अनुसार विज्ञान र कलाबीच उचित सन्तुलन कायम गरेर अघि बढ्नु नै अहिलेको उपयुक्त बाटो हो।

‘हामी नेपाली राजनीतिको उत्कृष्ट विचारसहितको विकल्प दिन चाहन्छौँ। मेरो विचारमा, यही नै आजको सबैभन्दा उत्तम बाटो हो,’ उनले भने।

प्रकाशित: २८ साउन २०८३ १४:०१ | Thursday, August 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast