पोखरा- गण्डकी प्रदेश सरकारमा मन्त्रिपरिषद् हेरफेर भएको छ। गत वर्ष जेजनी आन्दोलनमा मन्त्री पदबाट राजीनामा दिएका फणीन्द्र देवकोटा पुनः मन्त्री बनेका हुन्।
उनले नेपाली कांग्रेस नेतृत्वको सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री रहेको गण्डकी सरकार टिकाउन पुनः साथ दिएका छन्। उनले पहिलेकै मन्त्रालय ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयको जिम्मेवारी पाए।
उक्त मन्त्रालय सम्हाल्दै आएका कांग्रेसका नन्दप्रसाद न्यौपानेलाई मुख्यमन्त्री पाण्डेले महत्त्वपूर्ण भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मा दिए।
बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्टले मुख्यमन्त्री पाण्डेको उपस्थितिमा देवकोटालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराए।
पोखराको ड्यामसाइडस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा भएको कार्यक्रममा सरकारका उच्चपदस्थ व्यक्तित्वहरूको उपस्थिति थियो।
केन्द्रमा नेपाल एमालेर नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच प्रदेश सरकारमा सहकार्यबारे सहमति भए पनि गण्डकी प्रदेशमा भने यो विषय पेचिलो बनेको थियो।
गत साता एमालेका ४ जना मन्त्रीहरूले राजीनामा बुझाइसकेका थिए। गण्डकीमा सरकार फेरबदल हुने चर्चाबीच माओवादीको चुनाव चिन्हबाट निर्वाचित नेपाल समाजवादी पार्टी (नेसपा नयाँ शक्ति) का सांसद फणीन्द्र देवकोटालाई मुख्यमन्त्री पाण्डेले पुनः मन्त्री दिएर सरकार टिकाए।

देवकोटा गत २०७९ सालको प्रदेश सभा चुनावमा गोरखा २ (क) बाट निर्वाचित भएका थिए। उनले डा.बाबुराम भट्टराई नेतृत्वको नेसपा र नेकपा माओवादी केन्द्रबीच चुनावी तालमेल भएको थियो। जसमा उनी माओवादी केन्द्रको चुनाव चिन्हबाट चुनाव जितेका थिए।
यसअघि देवकोटाले मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत दिँदा पार्टीकै ह्वीप उल्लंघन गरी साथ दिएका थिए। जसबापत मुख्यमन्त्री पाण्डेले उनलाई ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रीको उपहार दिएका थिए।
तीन पटकसम्म मन्त्री बनेका देवकोटाले प्रदेश सरकारको स्थिरताका साथ पुनः साथ दिएको बताएका छन्।
गण्डकी प्रदेशमा कुल ६० सदस्य प्रदेश सांसद हुन्। तर स्वतन्त्र उम्मेदवार दीपक मनाङेलाई जेल सजाय सुनाइएपछि बहुमतका लागि ३० सिट आवश्यक पर्छ।

यहाँ सबैभन्दा ठूलो दल कांग्रेसको मात्रै २७ सिट छ। राप्रपाका २ सांसदले साथ दिएका छन्। एमालेका २२ सांसद छन्। नेकपाका सभामुखसहित ७ सिट छ।


