बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मलाई थप पारिश्रमिक, विद्यालयको विद्युत् महसुल पनि नगरले व्यहोर्ने

हिमाल प्रेस २६ साउन २०८३ १०:५३ | Tuesday, August 11, 2026
338
SHARES
बालविकास शिक्षकदेखि विद्यालय कर्मचारीसम्मलाई थप पारिश्रमिक, विद्यालयको विद्युत् महसुल पनि नगरले व्यहोर्ने बालविकास कक्षा । तस्बिर : एआई

काठमाडौँ- नेपालगन्ज उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत बालविकास शिक्षक, विद्यालय कर्मचारी, कार्यालय सहयोगी, नगर अनुदानका शिक्षक तथा सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताको पारिश्रमिक वृद्धि गर्नुका साथै विद्यालयको विद्युत् महसुलसमेत व्यवस्थापन गर्ने निर्णय गरेको छ।

उपमहानगरपालिकाले शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीलाई १३ महिनाको थप पारिश्रमिक उपलब्ध गराउने व्यवस्था गरेको पत्रमा उल्लेख छ।

निर्णयअनुसार प्रारम्भिक बालविकास शिक्षक, कार्यालय सहयोगी, स्रोत शिक्षक, विद्यालय सहायक (लेखापाल) तथा सामुदायिक सिकाइ केन्द्रका सहजकर्तालाई थप पारिश्रमिक उपलब्ध गराइनेछ।

त्यस्तै, विभिन्न विद्यालयमा आवश्यक जनशक्ति व्यवस्थापनका लागि नगर अनुदानअन्तर्गत शिक्षक दरबन्दी तथा विभिन्न पदमा बजेट व्यवस्थापन गर्ने निर्णयसमेत गरिएको छ।

नेपालगन्ज कन्या माध्यमिक विद्यालयलगायतका विद्यालयमा कम्प्युटर शिक्षक, सिलाइ प्रशिक्षक, उर्दू भाषा प्रशिक्षक तथा कार्यालय सहयोगीका लागि समेत व्यवस्था गरिएको पत्रमा उल्लेख छ।

उपमहानगरपालिकाले विद्यालयको शैक्षिक तथा प्रशासनिक कामकाज सहज बनाउन १२ महिनाको विद्युत् महसुलसमेत नगर अनुदानबाट व्यहोर्ने व्यवस्था गरेको छ।

यसैगरी, उपमहानगरपालिका अन्तर्गत सञ्चालित सामुदायिक तथा धार्मिक विद्यालयमा कार्यरत प्रधानाध्यापकहरूका लागि पनि प्रतिमहिना प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था गरिएको पत्रमा उल्लेख छ।

नेपाल बाल विकास शिक्षक केन्द्रीय संघर्ष समितिकी अध्यक्ष कृष्णकुमारी थापाले नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टलाई निर्णयका लागि धन्यवाद दिएकी छन्।

थापाले बालविकास शिक्षक, विद्यालय कर्मचारी, कार्यालय सहयोगी, नगर अनुदान शिक्षक तथा सामुदायिक सिकाइ केन्द्रका सहजकर्ताको तलब तथा पारिश्रमिक वृद्धि गर्नुका साथै विद्यालयको भौतिक पूर्वाधार र विद्युत् महसुल व्यवस्थापनमार्फत शैक्षिक विकासमा योगदान पुर्‍याउने कदमको स्वागत गरेकी हुन्।

उनले यस्तो निर्णयले शिक्षक तथा विद्यालय कर्मचारीको मनोबल बढाउनुका साथै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारमा सकारात्मक प्रभाव पार्ने बताउँदै नेपालगन्ज उपमहानगरपालिका र नगर प्रमुख विष्टप्रति हार्दिक आभार व्यक्त गरेकी छन्।

प्रकाशित: २६ साउन २०८३ १०:५३ | Tuesday, August 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast