बालन्यायको उचित र प्रभावकारी कार्यान्वयन गर्नु प्रत्येक सभ्य राष्ट्रको दायित्व : प्रधानन्यायाधीश श्रेष्ठ

हिमाल प्रेस २२ वैशाख २०८१ १९:५७
10
SHARES
बालन्यायको उचित र प्रभावकारी कार्यान्वयन गर्नु प्रत्येक सभ्य राष्ट्रको दायित्व : प्रधानन्यायाधीश श्रेष्ठ

काठमाडौँ- सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले बालन्यायको महत्त्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताएका छन्।

काठमाडौँमा आज आयोजित बाल न्यायसम्बन्धी राष्ट्रिय गोष्ठीमा उनले बालन्याय बालअधिकारको महत्त्वपूर्ण आयाम रहेकाले त्यसको महत्त्व र आवश्यकतालाई सम्बोधन गर्न राज्यले अभिभावकीय भूमिका खेल्ने बताए। उनले भने,‘बालन्यायको उचित र प्रभावकारी कार्यन्वयन गर्नु प्रत्येक सभ्य राष्ट्रको दायित्व हो । त्यसैले नेपाल पनि त्यसमा प्रतिवद्ध छ।’

उनले चालु आर्थिक वर्षमा काठमाडौँ उपत्यकामा एउटा छुट्टै बाल अदालतको स्थापना गर्ने सरकारको तयारी भएको बताउँदै बालन्याय प्रणालीलाई सुदृढीकरण गर्नेतर्फ विभिन्न प्रयासका बाबजुद थुप्रै समस्या र चुनौती विद्यमान रहेको औँल्याए।

कार्यक्रममा भारतीय सर्वोच्च अदालतका प्रधानन्यायाधीश धनञ्जय यशवंत चन्द्रचूडले बालबालिका समाजका भविष्य रहेका बताउँदै बालबालिकाको कमजोरी र आवश्यकता पहिचान गरी सम्बोधन गर्नुपर्ने बताए।

‘बालबालिका समाजको विभिन्न आयामसँग गुज्रिएका हुन्छन्। पारिवारिक विघटन, घरेलु हिंसा, गरिबी वा अरू कारणले गर्दा उनीहरूले आवश्यक मार्गदर्शन पाउँदैनन् र नकारात्मक प्रभावमा पर्दछन्’,उनले भने।

बालबालिकालाई न्याय दिने कुरामा सम्पूर्ण कोणतर्फ ध्यानदिनु आवश्यक रहेको भन्दै चन्द्रचूडले विशेषगरी सीमान्तीकृत र पछि पारिएका समुदायका बालबालिकाले न्याय नपाउनेतर्फ सचेत रहँदै उनीहरूका तर्फबाट पनि आवाज उठाउनुपर्नेमा जोड दिए।

विश्वभर नै साइबर क्राइमको जोखिम बढेको र त्यसमा मुख्य गरी बालबालिका निशानामा परेको पनि उनको भनाइ थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 12 =