भिल्लासँग हारेपछि कोन्टे भन्छन्, टोटनहमका लागि शीर्ष चारको लक्ष्य अव्यावहारिक

हिमाल प्रेस १८ पुष २०७९ ८:५६
4
SHARES
भिल्लासँग हारेपछि कोन्टे भन्छन्, टोटनहमका लागि शीर्ष चारको लक्ष्य अव्यावहारिक

काठमाडौँ- टोटनहमका प्रशिक्षक एन्टोनियो कोन्टेले आफ्नो टिमले इंग्लिस प्रिमियर लिग शीर्ष चारमा रहेर समापन गर्नेमा शंका व्यक्त गरेका छन्। उनले शीर्ष चारको लक्ष्य अव्यावहारिक रहेको पनि बताए। आइतबार राति एस्टन भिल्लासँग २–० ले पराजित भएपछि कोन्टेको यस्तो भनाइ आएको हो।

इमिलियानो ब्युन्डिया र डौगलास लुइजले एक–एक गोल गरेपछि भिल्लाले टोटनहमाथि जित दर्ता गरेको थियो। यो हारले टोटनहमलाई शीर्ष चारबाहिर राखेको छ। पाँचौँ स्थानमा रहेको टोटनहमसँग १७ खेलबाट ३० अंक छ। जुन चौथो स्थानको म्यानचेस्टर युनाइटेडको भन्दा दुई अंक कम हो। युनाइटेडले टोटनहमको भन्दा एक खेल कम खेलेको छ।

टोटनहमको शीर्ष चार लक्ष्य कठिन बन्दै जानुको अर्को कारण लिभरपुल हो। पछिल्ला चार खेलमा अपराजित लिभरपुल हाल २८ अंकसहित छैटौँ स्थानमा छ। सोमबार राति ब्रेन्टफोर्डलाई पराजित गरे लिभरपुलले टोटनहमबाट पाँचौँ स्थान खोस्नेछ।

कान्टेले गत सिजन टोटनहमलाई शीर्ष चारमा पुर्‍याएका थिए। त्यो सफलतालाई चमत्कार मानेका उनी यसपालि टोटनहमको लक्ष्य व्यवहारिक हुनुपर्ने बताउँछन्। ‘प्रशिक्षक रुपमा मलाई टोटनहम कुन स्थितिमा छ भन्ने कुरा थाहा छ। यो परिस्थितिबारे म के सोचिरहेको छु, क्लब व्यवस्थापनलाई जानकारी नभएको होइन। म यो टिम र खेलाडीको समग्र लयमा सुधार ल्याउने प्रयत्न गरिरहनेछु,’ कोन्टेले भने।

उनले टोटनहम र ठूला भनिएका बाँकी क्लबबीच खेलाडीमाथि खर्च गर्ने मामलामा फरक फरक नीति रहेको बताए। ‘हामीले के बुझ्नुपर्छ भने प्रिमियर लिगमा २० वा ३० करोड पाउन्ड खर्च गर्नसक्ने क्लब छन्। हाम्रो नीति फरक छ। यो तथ्यलाई बिर्सन हुँदैन। बिर्सिए, यो टिमबाट अव्यवहारिक सफलताको आशा गर्न थालिन्छ,’ कोन्टेले टोटनहमको ‘कम खर्च’ गर्ने नीतितर्फ संकेत गर्दै असन्तुष्टि पोखे।

उनले आफूलाई टोटनहमका खेलाडीमाथि विश्वास रहेको र उनीहरू सबै एक भएर मेहनत गरिरहेको पनि प्रस्ट पारे। तर कसैले पनि आफूबाट कुनै किसिमको वाचाको अपेक्षा गर्न नहुने उनको भनाइ थियो। उनको यो भनाइ टोटनहम सिजनको अन्त्यमा शीर्ष चारमा पर्छ वा पर्दैन भनेर संशय व्यक्त गरिरहेको समर्थकतिर थियो।

कोन्टे नोभेम्बर, २०२१ बाट टोटनहमको प्रशिक्षकमा नियुक्त भएका थिए। नुनो स्पिरिटो सान्टोको प्रशिक्षणमा खराब प्रदर्शन गरिरहेको टोटनहमलाई कोन्टेले चौथो बनाएका थिए। यो सिजन उपाधि दौडमा सहभागी हुन टोटनहमले केही नयाँ खेलाडी भित्र्याएको थियो। तर टोटनहमले पछिल्लो समय अपेक्षा अनुसारको प्रदर्शन गनै सकिरहेको छैन।

विशेषगरी रक्षापंक्तिमा टोटनहमले लय समात्न सकिरहेको छैन। भिल्लासँगको खेललाई पनि गन्ती गर्ने हो भने, टोटनहमविरुद्ध विपक्षी टिमले पछिल्ला १० खेलमा सुरुवाती गोल गरेका छन्। आफ्नो मैदानमा पछिल्ला पाँचमध्ये तीन खेल हारेपछि टोटनहम समर्थक आक्रोशित बनेका छन्। उनीहरुले आइतबार राति आफ्नै खेलाडी र क्लब मालिक डानियल लेभीविरुद्ध नाराबाजी गरेका थिए।

‘गएको सिजन हामीले जे गर्‍यौँ, त्यो जादु थियो। यो सिजनको सुरुवातमा टोटनहम अब उपाधि दाबेदार भएको भन्न थालियो। तर यस्तो किसिमको अपेक्षा मेरा लागि अव्यवहारिक हो। नयाँ प्रशिक्षक आउने बित्तिकै उपधि जितिन्छ भन्ने धारणा त्याग्नु पर्छ। यो कुरा प्रत्येक सिजन उपाधि जित्ने क्लबमा मात्र सम्भव छ। लामो समय केही नजितेको क्लबमा भने वातावरण सिर्जना गर्न सक्नुपर्छ। हो, समर्थकले भन्न सक्छन् हामी लामो समय धैर्य छौँ। तर सत्य यही हो, टोटनहम सफलताको नजिक छैन,’ कोन्टेले भने।

प्रकाशित: १८ पुष २०७९ ८:५६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − two =