प्रिमियर लिग राउन्डअप : शीर्षस्थानमा सिटी, जोगियो आर्सनल; डर्बीमा लिभरपुलको जित

हिमाल प्रेस ५ कार्तिक २०८० ७:२५
4
SHARES
प्रिमियर लिग राउन्डअप : शीर्षस्थानमा सिटी, जोगियो आर्सनल; डर्बीमा लिभरपुलको जित

काठमाडौँ– म्यानचेस्टर सिटी शनिबार राति इंग्लिस प्रिमियर लिगको शीर्षस्थानमा फर्किएको छ। इत्तिहादमा ब्राइटनलाई २-१ ले पन्छाएपछि सिटीले शीर्षस्थानमाथि कब्जा जमाएको हो।

शनिबारको प्रिमियर लिग बबी चाल्टर्नको निधनको खबरले छायामा परेको थियो। इंग्ल्यान्डलाई विश्वकप जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका चाल्टर्नले बेलायती समयअनुसार शनिबार बिहान प्राण त्यागेका थिए। ८६ वर्षका चाल्टर्नको निधनमा इंग्लिस फुटबल र प्रिमियर लिगका धेरैले दुःख व्यक्त गरे।

डेभिड बेक्हमले युनाइटेडका पूर्वखेलाडी चाल्टर्न इंग्ल्यान्डको राष्ट्रिय नायक रहेको प्रतिक्रिया दिए। उता सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले ब्राइटनसँगको खेलपछि समवेदना प्रकट गरे।

‘म्यानचेस्टर युनाइटेड र इंग्ल्यान्डको फुटबल परिवारका लागि यो ठूलो क्षति हो। अर्को साता हामी ओल्ड ट्राफोर्ड जाँदैछौँ, त्यहाँ हामी उनको विशेष सम्झना गर्नेछौँ,’ ग्वार्डिओलाले भने।

शनिबार नै मर्सिसाइड डर्बीमा जित हात पारेपछि लिभरपुल शीर्षस्थानमा पुगेको थियो। तर ब्राइटनमाथिको जितले सिटीलाई पहिलो स्थानमा फर्कायो।

उसो त शीर्षस्थानमाथि कब्जा गर्ने अवसर आर्सनलसँग थियो। तर चेल्सीसँग २-२ को बराबरी खेलेपछि आर्सनलले त्यो अवसर गुमायो।

सिटीको जितमा दुई स्ट्राइकर युलियान अल्भारेज र एर्लिङ हालान्डले एकएक गोल गरे। ब्राइटनबाट आन्सु फातीले एक गोल फर्काए। सिटीले घरेलु रंगशाला इत्तिहादमा लगातार २१ औँ जित दर्ता गरेको हो।

अल्भारेजले सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए। जेरेमी डोकुले ब्राइटनको बक्सको बायाँ भागबाट निकालेको पासमा अल्भारेजले सहजै गोल गरेका थिए। हालान्डले १९ औँ मिनेटमा अग्रता दोब्बर बनाए। १८ यार्ड बक्सबाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भएको थियो। उनका लागि लिगमा यो नवौँ गोल थियो।

दोस्रो हाफमा ब्राइटनले केही मौका सिर्जना गर्नसक्यो। जसमध्ये ७३ औँ मिनेटमा सिर्जना भएको मौकामा ब्राइटनले गोल फर्काउन सक्यो। कारु मिटोमाले निकालेको लो-क्रसलाई सिटीका रक्षक म्यानुएल आकान्जीले रोकेका थिए। पहिलो टचमै क्लियर गर्ने उनको प्रयास खराब पासमा परिणत भएको थियो। त्यसपछि बल फातीले भेटे र गोल गरे।

चेल्सी र आर्सनलको बराबरी

लियोन्द्रो ट्रोसार्डले खेलको उत्तरार्धमा गोल गरेपछि आर्सनल शनिबार राति चेल्सीसँगको हारबाट जोगियो।

आर्सनल यो सिजनको पहिलो लिग हारबाट मात्र १३ मिनेट पर थियो। कोल पाल्मरले पेनाल्टीमा गोल गरेपछि स्टाम्फोर्ड ब्रिजमा अघि बढेको चेल्सीले दोस्रो हाफको सुरुवातमा अग्रता दोब्बर बनाएको थियो।

दोस्रो हाफको ७७ औँ मिनेटमा आर्सनलले पहिलो गोल फर्कायो। चेल्सीका गोलरक्षक रोबर्ट सान्चेजले गल्ती गरेपछि डेक्लान राइसले गोल गरेका थिए। त्यसपछि निर्धारित समय सकिनै लाग्दा ट्रोसार्डले आर्सनलको दोस्रो गोल गरे।

चेल्सीसँगको बराबरीका कारण नयाँ सिजनको प्रिमियर लिगमा आर्सनलले अपराजित यात्रालाई जारी राख्न सक्यो। अब आर्सनल र शीर्षस्थानको म्यानचेस्टर सिटीबीच अंक बराबर भएको छ। दुवैसँग नौ-नौ खेलबाट २१-२१ अंक भएको छ। गोल भिन्नताका आधारमा आर्सनल दोस्रो स्थानमा रहेको हो।

पहिलो हाफको १५ औँ मिनेटमा मुड्रिकको हेडर आर्सनलका विलियाम सलिबाले हातले ब्लक गरेपछि चेल्सीले पेनाल्टी पाएको थियो। सुरुमा रेफ्री क्रिस काभानागले पेनाल्टी दिन मानेका थिएनन्। तर भीएआरले सुझाव दिएपछि भने उनी पेनाल्टी दिन तयार भएका थिए। पेनाल्टीमा पाल्मरले सजिलै गोल गरे।

दोस्रो हाफको सुरुवातमै मुड्रिकले गरेको प्रहार रायाले अनुमान लगाउन सकेनन्। जसकारण चेल्सी २-० ले अघि बढ्यो। आरोन राम्सडेलको स्थान लिएका रायाले यो खेलमा निकै पटक गल्ती गरिरहे।

चेल्सीका गोलरक्षक सान्चेजले पनि गल्ती गरे। उनले गरेको खराब पास नियन्त्रणमा लिँदै राइसले गोल गरेका थिए। पहिलो गोल खाएपछि दबाबमा परेको चेल्सीले ८४ औँ मिनेटमा दोस्रो गोल खायो। बुकायो साकाले दिएको क्रसमा ट्रोसार्डले चेल्सीका रक्षक मालो गुस्टोको अघि रहँदै नजिकबाट गोल गरेका थिए।

विवादित मर्सिसाइड डर्बी

यसपालि पनि लिभरपुलले स्थानीय प्रतिद्वन्द्वी एभरटनमाथिको दबादबा कायम राख्यो। एनफिल्डमा भएको खेलमा लिभरपुलले एभरटनलाई २-० ले पन्छायो।

पहिलो हाफको ३७ औँ मिनेटमा आस्ले योङले रातो कार्ड पाएपछि एभरटन १० खेलाडीमा सीमित भएको थियो। यद्यपि लिभरपुलले तत्काल यसको फाइदा उठाउन सकेन। एभरटनको जब्बर रक्षापंक्ति तोड्न निकै मेहनत गरेको लिभरपुलले पहिलो गोल दोस्रो हाफको ७५ औँ मिनेटमा मात्र गर्न सक्यो। त्यो पनि पेनाल्टीमा।

एभरटनका रक्षक माइकल किनले ह्यान्ड गरेपछि लिभरपुलले पेनाल्टी पाएको थियो। पेनाल्टी बक्समा लुइस डियाजको प्रहार किनको हातमा लागेको थियो। त्यसपछि पेनाल्टी पाएको लिभरपुललाई मोहम्मद सलाहले अग्रता दिलाए।

इन्जुरी समयमा सलाहले नै लिभरपुलको अग्रता दोब्बर बनाएका थिए। सब्स्टिच्युट डार्विन नुनेजको पासमा सलाहले गोल गरेका थिए। यसपालिको लिगमा उनको यो सातौँ गोल हो।

जितपछि लिभरपुल तेस्रो स्थानमा छ। नौ खेलबाट लिभरपुलको २० अंक छ। जुन एक खेल कम खेलेको टोटनहमसँग बराबर हो भने सिटी र आर्सनलभन्दा एकएक अंकले कम हो।

सन् १९९९ यता लिभरपुल एनफिल्डमा एभरटनसँग हारेको छैन। लिभरपुल पछिल्ला २९ मर्सिसाइड डर्बीमा एकपटक मात्र हारेको छ। प्रिमियर लिग इतिहासमा यो खेलको विशेषता पनि छ। त्यो हो, सर्वाधिक धेरै रातो कार्ड देखाइएको खेल।

१८ औँ मिनेटमा डियाजमाथि फाउल गरेका योङले पहेँलो कार्ड पाए थिए। त्यसपछि ३७ औँ मिनेटमा फेरि उही विपक्षीलाई बक्सको छेउमै लडाएपछि उनले रातो कार्ड पाएका थिए।

लिभरपुलका रक्षक इब्राहिमा कोनाटेलाई रातो कार्ड नदेखाइएपछि एभरटन आक्रोशित बनेको थियो। फ्रान्सेली रक्षक कोनाटेले ५० औँ मिनेटमा ओनानालाई लडाए वापत पहेलो कार्ड पाएका थिए। निर्धारित समय सकिन २५ मिनेट बाँकी छँदा कोनाटेले फेरि फाउल गरेका थिए।

कोनाटेले बारम्बार फाउल गरेपछि उनलाई प्रशिक्षक योर्गन क्लपले परिवर्तन गरेका थिए। बेटोलाई लडाएका उनले दोस्रो पहेँलो कार्ड देखाइएन। यद्यपि एभरटनलाई फ्रिकिकको अवसर भने दिइएको थियो। सो फ्रिकिकपछि कोनाटेले मैदान छाडेका थिए। उनलाई जोएल माटिपले प्रतिस्थापन गरे।

‘मलाई थाहा छैन रेफ्रीले किन रातो कार्ड दिएनन्। यो खेल हेर्ने धेरैले सोचेको हुनुपर्छ, कोनाटेले दोस्रो पहेँलो कार्ड पाउने खालको फाउल गरेका थिए भनेर,’ एभरटनका प्रशिक्षक सन डाइचले भने।

आफ्ना सर्वकालिन महान् खेलाडीमध्येका एक चाल्टर्नको निधन भएकै दिन युनाइटेडले सेफिल्ड युनाइटेडलाई २-१ ले पन्छायो। सेफिल्डको मैदानमा खेलअघि युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेजले चाल्टर्नको तस्बिरमाथि माला अर्पण गरेका थिए। त्यसबेला ब्रामल लेन रंगशालामा उपस्थित ३१ हजार दर्शकले चाल्टर्नको सम्मानमा ताली बजाएका थिए।

लयमा फर्कने प्रयासमा युनाइटेड

युनाइटेडलाई लिगमा लगातार दोस्रो जित दिलाउन स्कट म्याकटोमिन र डिएगो डालोटले एक-एक गोल गरे। सेफिल्डका तर्फबाट ओलिभर म्याकबर्नीले एक गोल फर्काए।

गत महिना ब्रेन्टफोर्डमाथिको जितमा दुई गोल गरेका म्याकटोमिनेले २८ औँ मिनेटमा युनाइटेडलाई अग्रता दिलाएका थिए। तर ६ मिनेटपछि उनैले जेम्स म्याकआटीको प्रहारमा ह्यान्ड गरेपछि सेफिल्डले पेनाल्टी पाएको थियो। जसमा म्याकबर्नीले बराबरी गोल गरे।

सिजनको पहिलो बराबरीतर्फ अघि बढेको युनाइटेडका प्रशिक्षक एरिक टेन हागले ६० मिनेट कटेपछि तीन खेलाडी परिवर्तन गरेका थिए। टेन हागले निर्णायक गोलको खोजी गर्न एन्थोनी मार्सियल, अलेहान्द्रो गार्नाचो र क्रिस्टियन एरिक्सनलाई मैदान प्रवेश गराएका थिए।

तर तीन अंक दिलाउने गोल भने फुलब्याक डिएगो डालोटले गरे। ७७ औँ मिनेटमा भिक्टर लिन्डेलोफले दिएको पासमा डालोटले १८ यार्ड बक्सबाहिरबाट गरेको शक्तिशाली प्रहार सुन्दर गोलमा परिणत भएको थियो।

जितपछि युनाइटेड आठौँ स्थानमा उक्लियो। युनाइटेड र पाँचौँ स्थानको न्युकासल युनाइटेडबीच जम्मा एक अंकको मात्र दूरी छ। न्युकासलले शनिबार नै क्रिस्टल प्यालेसलाई हराएर शीर्ष चारको नजिक पुगेको हो।

अन्य खेलमा ब्रेन्टफोर्डले बर्नलीलाई ३-० र उल्भरह्याम्पटनले बर्नमाउथलाई २-१ ले पन्छाए। लुटनले भने नटिङहम फरेस्टलाई २-२ को बराबरीमा रोक्यो। यो नतिजापछि लुटन १७ र फरेस्ट १५ औँ स्थानमा छन्। युनाइटेडसँग हारेको सेफिल्ड एक अंकका साथ पुछारमा छँदा बर्नली र बर्नमाउथ क्रमशः १८ र १९ औँ स्थानमा छन्।

प्रकाशित: ५ कार्तिक २०८० ७:२५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × 5 =