फेरि सर्वाधिक खर्चालु बन्यो प्रिमियर लिग, चेल्सी एक्लैको खर्च ३२ करोड

हिमाल प्रेस १८ माघ २०७९ २०:०३
24
SHARES
फेरि सर्वाधिक खर्चालु बन्यो प्रिमियर लिग, चेल्सी एक्लैको खर्च ३२ करोड

काठमाडौँ- खेलाडी बजारमा खर्च गर्ने मामलामा इंग्लिस प्रिमियर लिगले फेरि एकपल्ट युरोपका अन्य ठूला लिगलाई पछि पारेको छ। आधा सिजन सकिँदा खुल्ने जनवरी ‘ट्रान्सफर विन्डो’ मा प्रिमियर लिगका क्लबले यसपल्ट ८१ करोड ५० लाख पाउन्ड खर्च गरे।

मंगलबार राति बन्द भएको ‘ट्रान्सफर विन्डो’ मा चेल्सी एक्लैले ३२ करोड ३० लाख पाउन्ड खर्च गर्‍याे। रोचक के छ भने चेल्सीले इटालियन, जर्मन, फ्रेन्च र स्पेनिस लिगका सबै क्लबको भन्दा बढी खर्च गरेको छ।

चेल्सीले सोमबार राति मात्र अर्जेन्टाइन मिडफिल्डर इन्जो फर्नान्डेजलाई अनुबन्ध गर्न १० करोड पाउन्डभन्दा बढी खर्च गरेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्। चेल्सी स्थान्तरणसँगै इन्जोफर्नान्डेज प्रिमियर लिगको इतिहासकै सबैभन्दा महँगा खेलाडी बने। यसअघि म्यानचेस्टर सिटीका ज्याक ग्रिलिस प्रिमियर लिगका सर्वाधिक महँगा खेलाडी थिए।

यसपालिको ‘जनवरी ट्रान्सफर विन्डो’ मा प्रिमियर लिग विगतमा भन्दा खर्चालु बन्यो। यसअघि प्रिमियर लिगले जनवरीमा गरेको सबैभन्दा धेरै खर्च ४३ करोड पाउन्ड थियो। सन् २०१८ मा गरेको त्यो खर्चलाई यसपालिको खर्चले सजिलै उछिनेको हो।

प्रिमियर लिगको १० औँ स्थानमा रहेको चेल्सीले फर्नान्डेजबाहेक मिखाइलो मुड्रिक, बेनाइट बाडिएसिल, नोनी माडुएके र जाओ फिलिक्स जस्ता खेलाडीलाई अनुबन्ध गरेको छ।

बेनफिकाबाट चेल्सी पुगेका फर्नान्डेज कतार विश्वकपमा उत्कृष्ट युवा खेलाडी घोषित भएका थिए। उनलाई गत जुलाईमा मात्र बेनफिकाले अनुबन्ध गरेको थियो। त्यसबेला पोर्चुगिज क्लबले यी मिडफिल्डरका लागि मात्र एक करोड पाउन्ड खर्च गरेको थियो। २२ वर्षीय फर्नान्डेजले चेल्सीसँग साढे आठ वर्षका लागि सम्झौता गरेका हुन्।

प्रिमियर लिगका क्लबहरूले धमाधम नयाँ खेलाडी भित्र्याउँदा उपाधि दौडमा रहेको म्यानचेस्टर सिटीले भने आफ्ना मुख्य फुलब्याकलाई बिक्री गरेको छ। सिटीले जाओ कान्सेलोलाई बायर्न म्युनिख जान दिएको हो। हाल ऋण सम्झौतामा अनुबन्ध गरे पनि बायर्नले उनलाई सिजनको अन्त्यमा स्थायी रुपमै राख्न सक्नेछ।

२८ वर्षीय कान्सेलो सन् २०१९ मा युभेन्टसबाट सिटी गएका थिए। ‘बायर्न विश्वकै उत्कृष्ट क्लबमध्येको एक हो। बायर्नमा विश्वस्तरीय खेलाडी छन्। उनीहरुसँग खेल्ने अवसर पाउँदा खुसी लागेको छ,’ कान्सेलोले भनेका छन्।

सिटीलई उपाधि दौडमा पछि पारिरहेको आर्सनलले पनि मिडफिल्ड मजबुत बनाएको छ। आर्सनलले चेल्सीबाट अनुभवी मिडफिल्डर जर्जिन्होलाई एक करोड २० लाख खर्च गरेर भित्र्यायो। इटालीका जर्जिन्होले आर्सनलसँग १८ महिनाका लागि सम्झौता गरेका छन्।

सन् २००४ पछि प्रिमियर लिग जित्न नसकेको आर्सनल यो सिजन बलियो देखिएको छ। १९ खेल खेल्दा एकपटक मात्र पराजय भोगेको आर्सनलले बाँकी सिजनका लागि टिम बलियो बनाउन ब्राइटनबाट लियान्द्रो ट्रोसार्ड र स्पेजियाबाट याकुब किविओर अनुबन्ध गरिसकेको छ।

आर्सनलको सहरी प्रतिद्वन्द्वी टोटनहम पनि खेलाडी सरुवा बजारमा सक्रिय रह्यो। बजार बन्द हुने दिन टोटनहमले पोर्चुगलको स्पोर्टिङ लिस्बनबाट रक्षक पेड्रो पेरोलाई अनुबन्ध गर्‍याे। राइटब्याक पेरो हालका लागि ऋण स्थान्तरणमा टोटनहम गएका हुन्। तर यो सिजन सकिन साथ टोटनहमले उनलाई स्थायी रुपमा अनुबन्ध गर्नेछ।

उता म्यानचेस्ट युनाइटेडले बायर्नका मार्सेल साबिट्जारलाई आधा सिजनका लागि अनुबन्ध गर्‍याे। क्रिस्टियन एरिक्सन घाइते भएपछि युनाइटेडले उनको अभाव पूर्ति गर्न साबिट्जरलाई लगेको हो। युनाइटेडले यसअघि स्ट्राइकर वाउट वेघ्रोस्टलाई साबिट्जरलाई जस्तै ऋण स्थान्तरणमार्फत टिमको हिस्सा बनाएको थियो।

प्रिमियर लिगको तेस्रो स्थानमा रहेको न्युकासल युनाइटेडल एभरटनका एन्थोनी गोर्डनलाई भित्र्यायो। सन् २०१७ मा एभरटनको सिनयर टिममा डेब्यु गरेका गोर्डनका लागि न्युकासलले चार करोड ५० लाख पाउन्ड तिर्नु प¥यो।

रेलिगेसनबाट बच्न संघर्षरत बर्नमाउथले युक्रेनका रक्षक इलिया जाबार्नयायी र आइभरी कोस्टका मिडफिल्डर हामेद ट्राओरेलाई अनुबन्ध गर्‍याे। यही सिजन प्रिमियर लिगमा उक्लिएको नटिङहम फरेस्टले पनि खेलाडी थप्ने क्रमलाई जारी राख्यो। गत जुलाई–अगस्टमा एक दर्जन नयाँ खेलाडी अनुबन्ध गरेको फरेस्टले यसपालि एट्लेटिको म्याड्रिडका रक्षक फेलिपे, न्युकासलका मिडफिल्डर जोन्जो सेल्भी र पेरिस सेन्ट जर्मेन पीएसजीका गोलरक्षक केयलर नाभासलाई अनुबन्ध गरेको हो।

लगातार खराब प्रदर्शन गरिरहेको लेस्टर सिटीबाट रक्षक ह्यारी साउटर खरिद गर्‍याे भने आयोजे पेरेजलाई रियल बेटिस पठाइदियो। प्रिमियर लिगको पुछारमा रहेको साउथह्याम्पटनले फ्रेन्च क्लब रेनबाट घानाका स्ट्राइकर कामाल्दिन सुलेमानीलाई दुई करोड २० लाखमा खरिद गर्‍याे।

प्रिमियर लिगका क्लबले खेलाडी सरुवा बजारमा गरेको खर्चप्रति स्पेनिस लिग ला लिगाका अध्यक्ष जाभियर टेबासले असन्तुष्टि व्यक्त गरेका छन्। उनले युरोपियन फुटबल महासंघ (यूईएफए) लाई प्रिमियर लिगको असीमित खर्च गर्ने बानीलाई लिएर सचेत रहन आह्वान गरेका छन्।

‘ला लिगामा हामी चाहन्छौँ, क्लबहरूले आम्दानी अनुसारको खर्च गरुन्। तर प्रिमियर लिग ठ्याक्कै उल्टो छ। जुन, २०२१ को तथ्यांक अनुसार प्रिमियर लिगसहित इंग्ल्यान्डका दुई लिगका क्लबहरूले तीन अर्ब युरो घाटा व्यहोरेका छन्। जबकि ला लिगाका क्लबहरूको घाटा २५ करोड युरो मात्र छ। तर त्यत्तिको घाटा भए पनि इंग्लिस क्लबहरूले खर्च गर्न छाडेका छैनन्। उनीहरू कमाइभन्दा बढी खर्च गरेर युरोपियन क्लब फुटबललाई धोका दिइरहेका छन्। यस्तोमा हाम्रो माग हो, यूईएफएले नयाँ वित्तीय नियम ल्याओस्,’ टेबासले भनेका छन्।

प्रकाशित: १८ माघ २०७९ २०:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen − two =