प्रिमियर लिग सर्वाधिक खर्चालु बन्दा अरूचाहिँ निरीह

हिमाल प्रेस १९ माघ २०७९ १३:३५
12
SHARES
प्रिमियर लिग सर्वाधिक खर्चालु बन्दा अरूचाहिँ निरीह

काठमाडौँ- इंग्लिस प्रिमियर लिगले फेरि एकपटक खेलाडी खर्चमा कीर्तिमान राखेपछि युरोपियन क्लब फुटबलमा सुरु भएको चिन्ता हो, क्लब फुटबलमा ध्रुवीकरण कसरी रोक्ने? युरोपका ठूला साना लिगले आफ्ना खेलाडीलाई इंग्ल्यान्ड जानबाट रोक्न नसकिरहेपछि प्रिमियर लिगको असीमित खर्च गर्ने क्षमतामाथि प्रश्न उठाइएको छ।

जनवरी महिनभरका लागि खुलेको खेलाडी सरुवा बजारमा प्रिमियर लिगका क्लबहरुको दबदबा रह्यो। अन्तिम दिन मात्र चेल्सीले एकै खेलाडीमाथि १२ करोड युरो भन्दा बढी खर्च गर्‍यो।

बेनफिकाबाट प्रिमियर लिग छिरेका इन्जो फर्नान्डेज त्यहाँ सर्वाधिक महँगा खेलाडी दर्ज भए। उसो त भर्खरै सकिएको जनवरी महिनामा चेल्सी पुग्ने एक्ला खेलाडी होइनन्, फर्नान्डेज। उनीअघि सात खेलाडीलाई अनुबन्ध गरिसकेको थियो चेल्सीले।

खेलाडी सरुवा बजार सम्बन्धी तथ्यांक राख्ने ट्रान्सफर डटकमका अनुसार यसपालि सम्पन्न २० ठूला स्थान्तरणमध्ये दुईमा मात्र प्रिमियर लिगका क्लब संलग्न थिएनन्। दुई स्थान्तरणमा मार्से, फ्लामेंगो र ब्रागा संलग्न थिए। मार्सेले करिब डेढ करोड युरोमा जेरसनलाई फ्लामेंगो जान दियो भने उसले तीन करोड २० लाख युरो खर्च गरेर ब्रागाबाट भिटिन्हालाई अनुबन्ध गर्‍यो।

युरोपियन क्लब फुटबलमा आर्थिक हिसाबले सर्वाधिक शक्तिशाली मानिने पेरिस सेन्ट जर्मेन पीएसजी भने यसपालि खासै सक्रिय देखिएन। अन्तिम दिन उसले चेल्सीबाट हाकिम जियचलाई अनुबन्ध गर्न खोजेको थियो। तर यो स्थान्तरण सफल भएन।

खेलाडी बिक्रीमा खासै चासो नदेखाएको चेल्सीले खरिदमा भने मनलाग्दी खर्च गर्‍यो। अमेरिकी व्यापारी टोड बोहेलीको समूहको स्वामित्वमा आएपछि चेल्सी आध्यै खर्चालु बनेको छ। खेलाडी बजारमा चेल्सीको सक्रियताले बोरुसिया डर्टमन्डक झस्किएको हुनुपर्छ। झस्किनुको एउटै कारण हो, च्याम्पियन्स लिगको अन्तिम १६ मा हुन लागेको भेट।

‘साँच्चै भन्दा डरलाग्दो स्थिति छ। चेल्सी यस्तो दौडमा छ जहाँ अर्को प्रतिस्पर्धी छैन,’ डर्टमन्डका निर्देशक तथा पूर्वखेलाडी सेबेस्टियन केलले भनेका छन्।

किन प्रिमियर लिगले युरोपका अरु ठूला लिगको भन्दा बढी खर्च गर्नसक्छ? यसको कारण हो, टेलिभिजन प्रशारण बिक्रीवापत प्राप्त हुने रकम। जुन स्पेन, इटाली, जर्मनी र फ्रान्सका लिगले पाउने रकमभन्दा धेरै छ।

उसै पनि प्रिमियर लिगका क्लबले अरु लिगका क्लबभन्दा बढी आम्दानी गर्छन्। विश्व फुटबल अर्थतन्त्रको हिसाबकिताब राख्ने डेलोइटका अनुसार सर्वाधिक आम्दानी गर्ने विश्वभरका २० क्लबमध्ये ११ प्रिमियर लिगका छन्।

रियल म्याड्रिड र बार्सिलोना जस्ता लोकप्रिय क्लब भए पनि ला लिगाले प्रिमियर लिगलाई भेट्न सक्ने अवस्था छैन। यस्तोमा ला लिगाले प्रिमियर लिगमाथि यस्तो आरोप लगाइरहेको छ, ‘प्रिमियर लिगका क्लबहरु कमाइ भन्दा बढी खर्च गर्छन्। अरु लिगमा यस्तो हुँदैन। प्रिमियर लिगका अधिकांश क्लबमा धनी सेयरहोल्डर छन्। उनीहरू आआफ्ना क्लबहरूका लागि असीमित लगानी र खर्च गर्न सक्छन्। यो एक हिसाबले धोका हो। जति कमाइ छ खर्च त्यति नै हुनुपर्छ।’

ला लिगाका निर्देशक जोसेफ गोमेज आफूहरू युरोपियन फुटबल महासंघ यूईएफए सँग नयाँ वित्तीय नियमको माग गर्ने बताउँछन्। हुन त यूईएफएले पहिलेबाटै फाइनान्सियल फेयर प्ले (एफएफपी) लागू गरेको छ। जसको उद्देश्य यही हो, कमाइ अनससारको खर्च सीमा तोकिदिने। तर यसले प्रिमियर लिगका क्लबहरुको खर्च रोक्न सकेको छैन।

कडा वित्तीय नियम लागू नहुने हो भने युरोपियन क्लब फुटबलमा धुव्रीकरण बढ्ने गोमेजलगायतको चिन्ता छ। यो चिन्ता स्वाभाविक छ किनभने प्रिमियर लिगका ठूला मात्र होइन साना क्लबहरूले पनि अत्यधिक खर्च गर्ने गरेका छन्।

उदाहरणका लागि बर्नमाउथ। सन् २०१५ अघि प्रिमियर लिग नखेलेको बर्नमाउथको रंगशाला क्षमता १५ हजार छ। यत्तिको सानो क्लबले जनवरीमा एकै खेलाडीका लागि दुई करोड ७० लाख युरो खर्च गरेको छ। फ्रान्सको लोरियन्टबाट डांगो औउटारालाई यस्तो ठूलो स्थान्तरण रकम तिरेर आफ्नो बनाएको बर्नमाउथले युक्रेनी क्लब डिनामो किएभलाई दुई करोड युरोभन्दा बढी दिएर इल्लिया जाबारर्नयी भित्र्यायो।

‘सुपर लिग सुरु होला कि भने युरोप डराइरहेको छ। तर यहाँ त पहिल्यैबाट सुपर लिग जत्तिकै महँगो लिग अस्तित्वमा छ। त्यो हो, प्रिमियर लिग। जसले आफैँ नियम बनाउँछ। प्रिमियर लिगको आर्थिक क्षमता डरलाग्दो छ। रेलिगेसनबाट बच्न संघर्षरत रहेको बर्नमाउथ जस्तो क्लबले इटालीको एएस रोमासमक्ष निकोलो जानियोलो किन्ने प्रस्ताव राख्नसक्छ। सासुओलोलाई हामेद ट्राओरेका लागि तीन करोड युरो दिन तयार हुन्छ,’ इटालीको अखबार कोरिएरे डेलो स्पोर्ट्सले सम्पादकीयमा लेखेको छ।

प्रिमियर लिगले आफ्ना लिगका प्रतिभावान् खेलाडी खोस्ने गरे पनि युरोपका बाँकी लिग कमजोर बनिहालेका छैनन्। बरु उनीहरू लगातार स्टार जन्माइरहेका छन्। च्याम्पियन्स लिग र युरोपा लिगमा इंग्लिस क्लबहरूले भन्दा राम्रो प्रदर्शन गरिरहेका छन्।

गएको सिजन रियलले इंग्ल्यान्डको लिभरपुललाई पन्छाउँदै च्याम्पियन्स लिग जितेको थियो। यसपालि पनि इंग्लिस क्लबहरूले युरोपियन क्लब फुटबलका महत्त्वपूर्ण जित्ने सम्भावना रियल, बार्सिलोना, बायर्न म्युनिख लगायतको भन्दा धेरै छैन।

‘प्रिमियर लिगको खर्चालु बानीले युरोपियन क्लब फुटबलको प्रतिस्पर्धामा फरक पार्छ जस्तो मलाई लाग्दैन। गएको सिजन प्रिमियर लिगका क्लबले न च्याम्पियन्स लिग न युरोपा लिग जिते। तर सत्य के हो भने, प्रिमियर लिगभित्र चाहिँ प्रतिस्पर्धा बढिरहेको छ। यो लिग झन् झन् रोचक बन्दै गइरहेको छ,’ प्रिमियर लिगमा चेल्सी र एभरटनलाई प्रशिक्षण दिइसकेका कार्लो एन्सिलोट्टीले भनेका छन्।

प्रकाशित: १९ माघ २०७९ १३:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × one =