फुट्यो मोहन वैद्यको पार्टी

हिमाल प्रेस १७ वैशाख २०८१ १७:०५
72
SHARES
फुट्यो मोहन वैद्यको पार्टी

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (मशाल) सँग एकता गर्न तयार परेको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल आफैँ विभाजित बन्न पुगेको छ। पार्टीमा गम्भीर वैचारिक, राजनीतिक, आर्थिक, सांगठनिक तथा सांस्कृतिक समस्या देखापरेको भन्दै गत वर्ष वैशाख १८ गते भएको तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (बहुमत) र तत्कालीन नेकपा (क्रान्तिकारी माओवादी) बिचको एकता भङ्गको घोषणा भएको छ।

सचिवालय सदस्य समरजङले उक्त एकता घोषणा भएको जानकारी गराए। रिपोर्टर्स क्लब नेपालमा आज (सोमबार) पत्रकार सम्मेलनको आयोजना गरेर समरजङले अब सच्चा क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुन आवश्यक रहेको औँल्याउँदै वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशामा गोलबन्द हुन सबैमा अपिल समेत गरे। पार्टीमा असहमति पत्र बुझाउनेहरूमा भने समरजंग, विप्लव, खलिल, हरि श्रेष्ठ, विनोद थापा, शम्भु फुयाँल, नवराज भट्ट, युगान्तलगायत रहेका छन्।

पार्टीभित्र देखापरेका सबैखाले समस्या हल गर्नको लागि पटक पटक अध्यक्ष मोहन वैद्यसँग छलफल भएको भए पनि निकास निकाल्ने र आन्दोलनलाई गति दिने विषयमा कुनै ठोस पहल नभएकोले आफूहरू अलग हुने निष्कर्षमा पुगेको उनीहरूको भनाई छ। उनीहरूले अध्यक्ष वैद्यमाथि जनवादी केन्द्रीयताको उल्लङ्घन गरेको र पार्टी एकताको नाममा केन्द्रीय कमिटीलाई पङ्गु बनाइएको र गुट तथा निहित आर्थिक स्वार्थको बन्दी बनाइएको गम्भीर आरोप लगाएका छन्।

उनीहरूले अध्यक्ष वैद्यमा रुढीवाद हाबी रहेको निष्कर्षसहित अब त्यो विचारले नयाँ क्रान्तिको नेतृत्व गर्न नसक्ने ठोकुवा गरेका छन्। समरजङले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘विश्व साम्राज्यवादले सच्चा कम्युनिस्टहरूमाथि चौतर्फी हलमा गरिरहेको सन्दर्भमा सर्वशक्तिमान् विचारको उच्चतम चरण माओवादलाई लत्त्याउँदै महान् जनयुद्धलाई ‘सामाजिक फाँसीवाद’, र उग्रवामपन्थी भड्कावको मिथ्या आरोप लगाउँदै जनयुद्धकालमा प्रतिकारमा संलग्न गुटहरूसँग गरिएको कथित पार्टी एकता हाम्रा लागि अस्वीकार्य छ।

परन्तु हामी विगतका सम्पूर्ण न्यायपूर्ण आन्दोलनका उपलब्धिहरूको रक्षा, समीक्षा र सच्चा क्रान्तिकारीहरूसँग सहकार्य, कार्यगत एकता र एकताको ढोका बन्द गर्ने पक्षमा भने छैनौँ।’ उनीहरूले क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निरङ्कुश एवम् घोर सामन्तवादी प्रवृत्तिबाट ग्रस्त रहेको पनि आरोप लगाएका छन्।

प्रकाशित: १७ वैशाख २०८१ १७:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =