कुवेतमा नेपाली महिलामाथि शोषण, ‘कैयौँपटक आत्महत्याको प्रयास गरेँ’

रमेश भारती २ जेठ २०८१ २०:१२
92
SHARES
कुवेतमा नेपाली महिलामाथि शोषण, ‘कैयौँपटक आत्महत्याको प्रयास गरेँ’ एआईको सहायतामा बनाइएको तस्बिर।

काठमाडौँ- काभ्रे पाँचखालकी एक महिला भिजिट भिसामा वैदेशिक रोजगारीका लागि गत मंसिरमा यूएई पुगिन्। यूएईमा दुई साता बसेपछि उनलाई एजेन्टले कुवेत गएमा राम्रो आम्दानी हुने प्रलोभन देखाए। कुनै मध्यरातमा ती महिलालाई महिला एजेन्ट सोभिता प्रजाको साथ लगाएर ती एजेन्ट सम्पर्कविहीन भए।

एजेन्ट सोभिताले गाडीमा हालेर यूएईको सिमाना कटाइदिइन्। उनी पनि सम्पर्कमा नरहेपछि ती महिला कुवेत पुर्‍याइएको वैदेशिक रोजगार विभागको उजुरी शाखामा भेटिएकी पाँचखालकी ती महिलाले जानकारी दिइन्।

एसएलसीसम्म पढेकी उनले उच्चशिक्षा अध्ययन गर्नुभन्दा बेलैमा विदेश गएमा पैसा कमाउन सकिने सपना देखेकी थिइन्। सोही कारण उनी वैदेशिक रोजगारीको खोजीमा जुटिन्। यसै क्रममा गत असोजमा एक जना साथीमार्फत सिन्धुपाल्चोक भोटेकोशीका टासी शेर्पा र ङिमबुटी शेर्पाको सम्पर्कमा पुगिन्।

टासीले यूएईको एक सिलाई–बुनाई कम्पनीमा महिनाको ९० हजार कमाइने आाश्वासन दिए। उनका अनुसार टासीले कात्तिक अन्तिममा २ लाख ३० हजार लिएर भिजिट भिसामा यूएई पठाएका थिए।

यूएईमा उनले काम पाइनन्। एजेन्टमार्फत आफूलाई कुवेतको घरेलु रोजगारीमा पुर्‍याएको उनले बताइन्। ‘कुवेत पुगेपछि मात्र घरेलु रोजगारीमा एजेन्टले पठाएको थाहा भयो। त्यहाँ पुगेको तेस्रो दिन एजेन्टले एक कुवेती नागरिकको घरमा काम गर्न पुर्‍यायो,’ उनले भनिन्, ‘म काम गर्ने घर गाउँ र सहरको बीचमा थियो। घरमा प्रायः दुई जना केटा बस्थे। ती दुवै जना राक्षसी प्रवृत्तिका थिए। ती पुरुषबाट बच्न सकिनँ।’

ती महिलाले काम गर्ने घरका केटाहरू अवैध रुपमा गाँजा र रक्सी आपूर्ति गर्दा रहेछन्। सात महिना काम गर्दा कसरी भाग्ने र यहाँबाट फुत्किने भन्ने मात्र रहेको उनले बताइन्। काम सुरु गरेको एक सातापछि ती पुरुषले गाँजा खाएर शोषण गर्न थालेको गुनासो उनको छ।

‘ती पुरुषले गाँजाको तालमा जे गरे पनि सहेर बस्नुपर्‍यो। भाषा पनि राम्रो नआउने भएका कारण सबै पीडा सहनुपर्ने बाध्यता थियो,’ उनले भनिन्।

कुवेतीको त्यो घरमा हप्तैपिच्छे पार्टी हुन्थ्यो। त्यहाँ नेपाली केटाहरू पनि पार्टी खान पुग्थे। ती महिलाका अनुसार उनीहरू कुवेतमा अवैधरूपमा बसेका रहेछन्। गत चैत अन्तिममा दाङका एक व्यक्तिको सहयोगमा कुवेतस्थित नेपाली दूतावासको सम्पर्कमा पुगेपछि स्वदेश फर्किन सफल भएको ती महिलाले जानकारी दिइन्।

उनी भन्छिन्, ‘कुवेतीको घरमा काम गर्दा कतिपटक हाम फालेर अत्महत्या गर्न खोजेँ। एक महिनाअगाडि ती दाइ नभेटेको भए जे पनि हुन सक्थ्यो।’

कुवेतमा नेपाली महिला धेरै पीडित छन्। शोषित र पीडित महिला समाजमा बेइज्जत हुने डरले दबिएर त्यहाँ काम गर्न बाध्य भएको उनको भनाइ छ। उनका अनुसार कुवेतबाटै नेपाली महिला खाडीका देशमा अवैधरूपमा पठाइँदो रहेछ। उनीसँगै ४० जना महिला घरेलु रोजगारीका लागि भिजिट भिसामा यूएई हुँदै कुवेत लगिएक थिए।

रोजगारीको खोजीमा रहेका धेरै महिला बेचबिखनमा परे पनि बाध्यताले बस्ने गरेका छन्। कुवेतमा कतिपय महिलालाई यौन कार्यकै लागि लगिने गरेको उनको दाबी छ।

सरकारले युवामैत्री योजना ल्याएर रोजगारी सिर्जना गरे ज्यानको बाजी थापेर वैदेशिक रोजगारीमा नजाने उनी बताउँछिन्। उनी कुवेतस्थित नेपाली दूतावासको सहयोगमा वैशाख २२ गते स्वदेश फर्किएकी हुन्।

उनी त प्रतिनिधि पात्र मात्र हुन्। उनीहरू जस्तै रोजगारीको खोजीमा बिदेसिने महिलाको संख्या पछिल्लो समय बढ्दै गएको छ। अवैध बाटो प्रयोग गर्ने तथा पर्यटक भिसामा देश छाड्ने महिलाको संख्या जोड्ने ठूलै रहेको पौरखी नेपालकी अध्यक्ष मन्जु गुरुङ बताउँछिन्।

नेपालमा आर्थिक अवस्था कमजोर र सामान्य शिक्षा लिएका महिला पछिल्लो समयमा अवैध माध्यमबाट घरेलु रोजगारीमा गइरहेका छन्। पछिल्लो समय वैदेशिक रोजगारीमा महिला संख्या बढ्दै जानुको कारणमा स्वदेशमा सानातिना अवसर नभएको उनको भनाइ छ।

विशेष गरी घरेलु कामदारका रूपमा नेपाली महिलाको बढी माग हुने खाडीका देश र मलेसिया हो। यी देशमा अहिले भिजिट भिसामा व्यक्ति, एजेन्ट र म्यानपावरले महिला पठाउने गरेका छन्।

वैदेशिक रोजगारीका लागि अनेक बाटा अपनाउँदै नेपाली महिला घरेलु कामदारका रूपमा खाडीका देश जाने गरेका छन्। पछिल्लो समय भिजिट भिसामा दैनिक ४ सय महिला घरेलु रोजगारीका लागि खाडी देश जाने गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको भिजिट भिसासम्बन्धी एक अध्ययनमा उल्लेख छ।

गृह मन्त्रालयले गत माघमा भिजिट भिसामा जान खुकुलो नीति बनाएपछि खाडीका देश र मलेसिया जाने महिलाको संख्या बढेको अध्यागमन विभागको तथ्यांक छ।

प्रकाशित: २ जेठ २०८१ २०:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − seven =