संसदीय दलका फरक दृश्य

कांग्रेसमा ‘आन्तरिक लोकतन्त्र’, कम्युनिस्टमा जनवादी केन्द्रीयता

हिमाल प्रेस ६ पुष २०७९ १०:०७
4
SHARES
कांग्रेसमा ‘आन्तरिक लोकतन्त्र’, कम्युनिस्टमा जनवादी केन्द्रीयता

काठमाडौँ- नयाँ जनादेशअनुसार सरकार गठन भइरहँदा संसदीय दलको नेता चयनमा कांग्रेस र कम्युनिस्ट पार्टीमा फरक-फरक दृश्य देखा परेका छन्।

प्रतिनिधिसभामा ७८ सिट जितेर दोस्रो ठूलो दल भएको नेकपा एमालेको संसदीय दलको नेतामा अध्यक्ष केपी शर्मा ओली निर्विरोध चयन भए। उनलाई टक्कर दिने कोही तयार भएन ।

मंगलबार बसेको संसदीय दलको बैठकले ओलीलाई निर्विरोध दलको नेता चयन गर्नुलाई स्वयम् एमालेका नेताहरू जनवादी केन्द्रीयतासँग जोड्छन्। पार्टी अध्यक्ष र संसदीय दलको नेता फरकफरक हुँदा पार्टीको आन्तरिक शक्ति सन्तुलन बिग्रने भएकाले पनि एमालेमा ओलीको विकल्प देखा नपरेको उनीहरूको तर्क छ।

अझ चुनावमा ‘मंसिर ४ ओली सरकार’को नारा दिइएको थियो। संसदीय दलको नेता प्रधानमन्त्री हुने सामान्य बुझाइले पनि ओलीको विकल्पमा कोही खडा नभएको उनीहरूको भनाइ छ।

नेकपा माओवादी केन्द्रले प्रतिनिधिसभा सदस्यहरूको शपथपछि संसदीय दलको नेता चयन गर्ने भनेको छ। प्रतिनिधिसभा सदस्यहरूको शपथ बिहीबार दिउँसो १ बजेलाई तय भएको छ।

३२ सिटसहित तेस्रो ठूलो दलको रूपमा रहेको माओवादीमा अध्यक्ष प्रचण्डलाई संसदीय दलको नेतामा टक्कर दिने कोही छैनन्। माओवादीमा प्रचण्डको नेतृत्व एकछत्र झण्डै चार दशकदेखि छ।

माओवादी सांसद माधव सापकोटाले शपथपछि संसदीय दलको बैठक बस्ने बताएका छन्। माओवादीको संसदीय दलको नेतामा अध्यक्ष ‘प्रचण्ड’ नै चयन हुने उनको दाबी छ। ‘दलको नेतालाई लिएर हाम्रो पार्टीमा विवाद छैन, शपथ मात्र कुरिएको हो,’ उनले भने, ‘संसदीय दलको नेता प्रचण्ड नै हो।’

यता नेकपा एकीकृत समाजवादीले पनि अध्यक्ष माधवकुमार नेपाललाई संसदीय दलको नेता चयन गरिसकेको छ।

कम्युनिस्ट पार्टीहरूले सर्वसम्मत नेतालाई सर्वस्वीकार्य नेताको रूपमा चित्रण गर्ने गरेका छन्। यही चित्रणलाई विश्वास गरेर नेतृत्वको वरिपरि रहेर राजनीतिक भविष्य खोज्नेहरूका कारण कम्युनिस्ट पार्टीमा आन्तरिक लोकतन्त्र निलम्बनमा परेको टिप्पणी गर्नेहरू पनि छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतामा सभापति रवि लामिछाने र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन पनि दलको नेतामा सर्वसम्मत चयन भएका छन्। तर, यी दुई दल कम्युनिस्ट पार्टी भने होइनन्।

कांग्रेसमा आन्तरिक लोकतन्त्र

कांग्रेस राजनीतिको मियोमा पनि लामो समयदेखि नेताहरूले वर्चस्व जमाएको इतिहास छ। तथापि, एउटै कम्युनिस्ट नेताहरूले कांग्रेसका एक भन्दा बढी नेतृत्वसँग सहकार्य गर्ने अवसर पाएका छन्।

फेरि पनि नेतृत्वलाई ‘ब्रेक’ गर्ने प्रयासले कांग्रेसको संसदीय दलको नेता चयन प्रक्रिया चुनावी प्रक्रियामै पुगेको छ। कांग्रेस संसदीय दलको नेता चयन गर्न निर्वाचन समिति बनाएर निर्वाचन कार्यतालिका नै बनाएर प्रक्रिया अगाडि बढेको छ।

चुनावी मैदानमा छन्- सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा। यी दुई नेता पुस्ताका हिसाबले तीन पुस्तान्तर अर्थात् देउवालाई पहिलो पुस्ता मान्दा थापा तेस्रो पुस्ताका नेता हुन्। समर्थक र प्रस्तावकहरू पनि उस्तै छन्।

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति देउवालाई वरिष्ठ नेता रामचन्द्र पौडेलसहित चार शीर्ष नेताको साथ छ। एक वर्ष अघि भएको पार्टीको १४ औँ महाधिवेशनमा देउवासँगै सभापतिमा प्रतिस्पर्धा गरेका प्रकाशमान सिंह र विमलेन्द्र निधिले पनि देउवालाई साथ दिने बताइसकेका छन्। साथै वरिष्ठ नेता रामचन्द्र पौडेल भने संसदीय दलको नेतामा देउवाको उम्मेदवारीको प्रस्तावक नै बसे।

कांग्रेसका संस्थापक नेता बीपी कोइरालाका छोरा शशांक कोइरालाले पनि आफू सभापति देउवाका साथमा रहेको बताएका छन्। उनले मुलुक हाँक्न अनुभवी तथा परिपक्व नेता आवश्यक रहेकाले देउवा नै संसदीय दलको नेता चुनिने बताएका छन्।

शीर्ष नेताहरूकै साथ पाएकाले सभापति देउवा नै संसदीय दलको नेता निर्वाचित हुनेमा उनी पक्षीय नेताहरू बताउँछन्। ‘सभापति देउवा झण्डै दुई तिहाइ बहुमतको नजिकमा हुनुहुन्छ, उहाँलाई कांग्रेसका सांसदले प्रत्यक्ष भेटेर पनि मतदान गर्ने वचन दिनुभएको छ। संसदीय दलको अंक गणितमा देउवालाई करिब ७६ सांसदको समर्थन रहने देखिएको छ,’ प्रधानमन्त्री देउवाका प्रेस प्रमुख गोविन्द परियार भन्छन्।

तर, देउवाको अंकगणित भत्काइसकेको गगन थापा पक्षीय नेताहरू बताउँछन्। थापा देउवा इतर समूहको साझा उम्मेदवार बन्दै गर्दा अर्का आशा गरिएका नेता प्रदीप पौडेलले पनि साथ दिएका छन्। पौडेल तिनै नेता हुन्, जो गगनका विगत सहकर्मी तथा प्रतिस्पर्धी दुवै हुन्। गगनले अघिल्लो महाधिवेशन अघि छाडेको कृष्णप्रसाद सिटौला समूहबाट महामन्त्री लड्न पुगेका थिए पौडेल।

झापामा चुनाव जिते लगत्तै संसदीय दलको नेतामा थापालाई प्रस्ताव गर्ने घोषणा गरेका अर्का महामन्त्री विश्वप्रकाश शर्मा थापाको साथ छँदैछ। थापा पक्षीय नेताहरूको अंकगणितका अनुसार केही सांसदको साथ पाउँदा कांग्रेसमा पुस्तान्तरण हुनेछ। तर, केही सांसदको साथ पाउनु पनि कम्ता चुनौतीपूर्ण छैन।

शेखर कोइराला र गगन थापाका बीच सहमति जुटेसँगै कांग्रेसभित्र देउवा समूह इतर समूहसँग ३९ सांसद संख्या पुगेको बताइन्छ। ८९ सदस्यीय कांग्रेस संसदीय दलमा संसदीय दलको नेता बन्न कम्तीमा ४५ मत ल्याउनुपर्छ। अंकगणितमा अझै केही अगाडि बढ्न थापाले प्रयास जारी राखेका छन्।

महामन्त्री थापा नेता डा. शशांक कोइरालालाई भेट्न मंगलबार साँझ महाराजगञ्जस्थित उनकै निवास पुगे। थापाले संसदीय दलको नेताको चुनावमा आफूलाई मतदान गर्न आग्रह गरे। शशांकले भने यस विषयमा सोचौंला भन्ने जवाफ दिएको उनीनिकट नेताहरू बताउँछन्। थापाको प्रयास व्यक्तिगत रूपमा प्रत्येक सांसदहरूसँग समेत छ।

अहिले  सिंहदरबारभित्र कांग्रेस संसदीय दलको निर्वाचन चलिरहेको छ।

प्रकाशित: ६ पुष २०७९ १०:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 17 =