सिटी उल्भरह्याम्पटनसँग स्तब्ध : लिभरपुलको पहिलो हार, युनाइटेड फेरि पराजित

हिमाल प्रेस १४ असोज २०८० ८:०२
8
SHARES
सिटी उल्भरह्याम्पटनसँग स्तब्ध : लिभरपुलको पहिलो हार, युनाइटेड फेरि पराजित

काठमाडौँ- इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पूर्णविराम लाग्दा लिभरपुलले शीर्षस्थान कब्जा गर्ने अवसर गुमाएको छ। शनिबार राति सिटीलाई उल्भरह्याम्पटनले २-१ ले स्तब्ध बनायो भने नौ खेलाडीमा सीमित लिभरपुल टोटनहमसँग २-१ ले नै पराजित भयो।

उता म्यानचेस्टर युनाइटेडले फेरि एकपल्ट हार बेहोर्यो। युनाइटेट आफ्नै मैदानमा क्रिस्टल प्यालेससँग १-० ले हार्‍यो। आर्सनल भने बर्नमाउथमाथिको ४-० को जितले दोस्रो स्थानमा उक्लिएको छ।

यसपालि पनि लिग जित्ने लक्ष्यका साथ सिजनको सुरुवात गरेको सिटीले सुरुका ६ खेलमा जित हात पारेको थियो। तर उल्भरह्याम्पटनको मैदानमा सिटीले प्रदर्शन खराब गर्‍यो। पहिलो हाफको १३ औँ मिनेटमा रुबेन डायसले आत्मघाती गोल गरे। दोस्रो हाफमा जुलियान अल्भारेजले गोल फर्काएपछि सिटी फेरि एकपटक बलियो बनेको थियो।

तर बराबरी गोल गरेको आठ मिनेटपछि नै सिटीले गोल खायो। दक्षिण कोरियाली फरवार्ड हि चान ह्वाङले ६६ औँ मिनेटमा गोल गरे, जुन उल्भरह्याम्पटनका लागि तीन अंक बटुल्न पर्याप्त रह्यो।

सुरुवाती ६ खेलबाट मात्र चार अंक जम्मा गरेको उल्भरह्याम्पटन च्याम्पियन सिटीलाई स्तब्ध बनाएपछि १३ औँ स्थानमा उक्लियो।

हारपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले आफ्नो टिमले मेहनत नगरेको प्रतिक्रिया दिए। ‘खेल जितिरहँदा पनि हामीले कठिन मेहनत गर्नुपर्छ। झन् आज त हारिरहेका थियौँ। आज हाम्रो मेहनत पुगेन,’ प्रतिबन्धका कारण टचलाइनमा उभिन नपाएका ग्वार्डिओलाले भने। तीन पहेलो कार्डका कारण उनलाई एक खेलको प्रतिबन्ध लगाइएको हो।

सिटी हारेपछि लिभरपुललाई शीर्षस्थानमा उक्लिने मौका थियो। तर २६ औँ मिनेटमै १० खेलाडीमा सीमित भएपछि लिभरपुलका लागि जित सजिलो लक्ष्य थिएन। यभेस बिसुमामाथि फाउल गरेपछि लिभरपुलका मिडफिल्डर कर्टिज जोन्सले सीधै रातो कार्ड पाएका थिए।

एक खेलाडी घटेको १० मिनेटपछि नै लिभरपुल गोल खान पुग्यो। टोटनहमका कप्तान सन ह्युङ मिनले गोल गरे। तर पहिलो हाफ सकिनै लाग्दा कोडी गाक्पोले गोल गरेपछि लिभरपुल खेलमा फर्कियो।

दोस्रो हाफमा लिभरपुलको समस्या झन् गहिरियो। सब्स्टिच्युट डिएगो जोटाले ७९औँ मिनेटमा दोस्रो पहेलो कार्ड पाएपछि लिभरपुल नौ खेलाडीमा सीमित भयो। तर विपक्षीभन्दा दुई खेलाडी कम भए पनि लिभरपुलको प्रदर्शन तारिफयोग्य थियो। यद्यपि ९६ औँ मिनेटमा पेड्रो पेरोको क्रस रोक्न खोज्दा लिभरपुलका रक्षक जोएल माटिपले आफ्नै पोस्टमा गोल गरेपछि टोटनहमले तीन अंक बटुल्यो।

घरेलु मैदानमा लिभरपुललाई पन्छाएपछि टोटनहम दोस्रो स्थानमा पुगेको छ। नयाँ प्रशिक्षक आन्ज पोस्टेकोग्लुको प्रशिक्षणमा अपराजित रहेको टोटनहम अब सिटीभन्दा मात्र एक अंकले पर छ।

टोटनहम र लिभरपुलबीचको खेल विवादहित भने रहेन। लिभरपुलका लुइस डियाजको गोललाई मान्यता नदिइएपछि खेल विवादित बनेको हो। खेल सकिएपछि प्रिमियर लिगको रेफ्री विभागले डियाजको गोललाई मान्यता नदिनु गल्ती भएको स्वीकारेको छ।

तर गल्ती स्वीकार गरिए पनि त्यसले लिभरपुलका प्रशिक्षक योर्गन क्लपको रिस मत्थर बनाएको छैन। उनले जोन्स र जोटालाई दिइएको रातो कार्ड दिने निर्णयमाथि पनि प्रश्न उठाएका छन्।

‘म मेरा खेलाडीको प्रदर्शनप्रति गर्व गरिरहेको छु। यो खेलमा रेफ्रीले गलत निर्णयहरु गरे। मैले यत्तिका गलत निर्णय यसअघि कहिल्यै देखेको थिइनँ। यस्तोमा पनि मेरा खेलाडीले गजबको खेले,’ क्पलपले भने।

प्रिमियर लिगमा ऐतिहासिक खराब सुरुवात गरेपछि युनाइटेडका प्रशिक्षक एरिक टेन हाग दबाबमा परेका छन्। युनाइटेड र टेन हागमाथि संकट बढाउन ओल्ड ट्राफोर्डमा प्यालेसका रक्षक जोएकिम एन्डरसनले पहिलो हाफमा गोल गरेका थिए।

यो साता युनाइटेड र प्यालेस दोस्रो पटक भिडेका हुन्। गत मंगलबार राति लिग कपमा प्यालेसलाई युनाइटेडले ३-० ले पराजित गरेको थियो।

‘विशेषगरी दोस्रो हाफमा हाम्रो प्रदर्शन राम्रो भएन। पाएका मौकामा गोल गर्न सकिएन। गलत निर्णय गरिरहेकाले पाएका मौकामा गोल हुन नसकेको हो,’ युनाइटेडका प्रशिक्षक टेन हागले भने।

हारपछि युनाइटेड १० औँ स्थानमा झरेको छ। नयाँ सिजनको प्रिमियर लिगमा युनाइटेड चौथो पटक हारेको हो। यसअघि युनाइटेड आर्सनल, टोटनहम र ब्राइटनसँग पराजित भएको थियो।

गत सिजनको उपविजेता आर्सनलले शनिबार अपराजित यात्रालाई जारी राख्यो। लगातार दोस्रो जित दर्ता गर्न आर्सनलले बर्नमाउथलाई उसकै मैदानमा ४-० ले पन्छायो। आर्सनलको जितमा बुकायो साका, मार्टिन आडेगार्ड, काई हाभर्ट्स र बेन ह्वाइटले एक-एक गोल गरे। जितपछि आर्सनललाई तेस्रो स्थानमा पुर्‍यायो।

प्रिमियर लिगकै अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनमाथि ६-१ को जित हात पार्‍यो। भिल्लाको जितमा ओली ओट्किन्सले ह्याट्रिक गरे। ज्याकब राम्सी र डौगलास लुइज भिल्लाका अरु गोलकर्ता रहे। भिल्लाको जितलाई फराकिलो बनाउन ब्राइटनका पेर्भिस इस्टुपिनानले आत्मघाती गोल गरे। ब्राइटनका लागि एक मात्र गोल अन्सु फातीले फर्काए।

टोम लकयेर र काल्र्टन मोरिसले एक-एक गोल गरेपछि लुटनले एभरटनलाई २-१ ले पराजित गर्‍यो। प्रिमियर लिगमा लुटन टाउनले पहिलो पटक जित हात पारेको हो। एभरटनबाट काल्भर्ट लेविनले एक गोल गरे। एभरटनलाई हराएपछि लुटन १७ औँ स्थानमा उक्लियो। एभरटन भने १६ औँ स्थानमा छ।

पुछारको सेफिल्ड युनाइटेडले लगातार तेस्रो हार व्यहोर्‍यो। गत साता न्युकासल युनाइटेडसँग ८-० ले पराजित सेफिल्डलाई यसपल्ट वेस्टह्याम युनाइटेडले २-० ले पन्छाएको हो। जितपछि वेस्टह्याम सातौँ स्थानमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − seven =