विकास मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने

हिमाल प्रेस २७ वैशाख २०८१ १८:२४
18
SHARES
विकास मल्लले माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने

काठमाडौँ- नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्व गोलकिपर विकास मल्लले एसियाली फुटबल महासंघ (एएफसी)को कार्यक्रमअनुसार माल्दिभ्समा एएफसी ‘ए’ लाइसेन्स कोचिङ कोर्स गर्ने भएका छन्।

एएफसीसँगको सहकार्यमा माल्दिभ्स फुटबस संघ (एफएएम)ले आयोजना गर्ने कोर्समा भाग लिन मल्ल बिहीबार त्यसतर्फ प्रस्थान गरेका छन्। राष्ट्रिय टोलीमा गोलकिपिङ प्रशिक्षकको भूमिकामा रहेर चार वर्ष काम गरेका मल्लले यसअघि नेपालमै ‘बी’ लाइसेन्स २०२१ मा कोर्स गरेका थिए।

माल्दिभ्सको राजधानी मालेमा कोर्स दुई चरणमा गरेर सम्पन्न हुनेछ। जसअनुसार पहिलो चरणको कोर्स यही मे १२ देखि २३ सम्म हुनेछ भने दोस्रो चरण अगस्ट ४ देखि १५ सम्म हुनेछ। मल्लसँगै नेपाल पुलिस क्लबका पूर्व खेलाडी एवं अखिल नेपाल फुटबल संघ (एन्फा)का ग्रासरुट प्रशिक्षक पंकज शाही पनि कोर्स गर्न माल्दिभ्स गएका छन्।

नेपाली सेनाका सेनानी मल्लले२००५ मा नेपाली राष्ट्रिय फुटबल टोलीबाट ‘डेब्यु’ गरेका थिए। १० वर्षसम्म राष्ट्रिय टोलीलाई सेवा गर्ने क्रममा एन्फा एकेडेमीको पहिलो ब्याचका उत्पादन मल्लले २०१५ सम्ममा राष्ट्रिय टिमबाट २९ अन्तर्राष्ट्रिय खेल खेलेका थिए।

सन् २०२१ मा माल्दिभ्समै भएको साफ च्याम्पियनसिपमा फाइनल पुग्दाका गोलकिपिङ प्रशिक्षक मल्ल त्यसको एक वर्षअघि नेपालमै भएको त्रिदेशीय कप जित्दा पनि टोलीमा त्यही भूमिकामा थिए।

नेपाली सेनाको पूर्ण साथ र सहयोगका कारण खेलाडी हुँदै प्रशिक्षकका रुपमा पनि करियर अगाडि बढाउन निक्कै अनुकुल वातावरण पाइरहेको मल्लको भनाई थियो। ‘सेनाकै कारण आज म यो अवस्थामा छु। नेपालको समग्र खेलकुदमै नेपाली सेनाको ठूलो योगदान छ। फुटबलमा पनि सेनाको योगदान अतुलनीय छ,’ प्राविधिक रुपमा भित्रबाटै सक्षम जनशक्ति विकास भएपछि भविश्यमा बाहिरबाट खोज्नुनपर्ने विश्वास व्यक्त गर्दै उनले भने।

प्रकाशित: २७ वैशाख २०८१ १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 + 11 =