सरकारले खेलाडीलाई २ करोड ९७ लाख पुरस्कार दिने, क्रिकेट टिमले मात्रै पाउनेछ २ करोड ४ लाख

हिमाल प्रेस २७ वैशाख २०८१ १८:१३
42
SHARES
सरकारले खेलाडीलाई २ करोड ९७ लाख पुरस्कार दिने, क्रिकेट टिमले मात्रै पाउनेछ २ करोड ४ लाख युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठ।

काठमाडौँ- युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावलाई मन्त्री परिषद्को बैठकले बिहीबार अनुमोदन गरेसँगै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जितेका खेलाडी तथा प्रशिक्षकले पुरस्कार रकम प्राप्त गर्ने भएका छन् ।

क्रिकेट , कबड्डी , कराते र पारा तेक्वान्दो खेलाडी तथा प्रशिक्षकले पुरस्कारबापत २ करोड ९७ लाख १० हजार पाउने भएका हुन्।

आइसिसी पुरुष ट्वान्टी २० विश्वकप एसिया छनोटमा दोस्रो भएको राष्ट्रिय क्रिकेट टिमले कूल २ करोड ४ लाख ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ। १५ खेलाडीले जनही १३ लाख, प्रमुख प्रशिक्षक मोन्टी देशाईले ३ लाख ९० हजार, टिम व्यवस्थापक सुमनराज कार्की, सहायक प्रशिक्षक वसन्त शाही र फिजियो विक्रम न्यौपानेले जनही १ लाख ९५ हजार रुपैयाँ पाउनेछन् ।

१९औं एसियाली खेलकुदमा नेपाललाई ऐतिहासिक रजत दिलाएकी कराते खेलाडी एरिका गुरुङले १९ लाख ५० हजार प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कुशल श्रेष्ठले २ लाख ३४ हजार, सहायक प्रशिक्षकहरू छोरी डंगोल र वीरकृष्ण शाही तथा व्यवस्थापक निवास गोपाल वैद्याले १ लाख ९५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।

एसियाली खेलकुदमा नै कबड्डीमाकांस्य पदक जित्ने नेपाली राष्ट्रिय महिला कबड्डी टिमका १२ खेलाडीले जनही ३ लाख ९० हजार, प्रमुख प्रशिक्षक पार्वती राईले २ लाख ६० हजार तथा सहायक प्रशिक्षक विष्णु दक्त भट्ट र व्यवस्थापक डिल्लीराम काफ्लेले जनही १ लाख ३० हजार प्राप्त गर्नेछन।

यसैगरी चौथो एसियाली पारा खेलकुद २०२२ मा कांस्य पदक जितेकी तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले १३ लाख प्राप्त गर्नेछिन्। प्रमुख प्रशिक्षक कविराज नेगी लामाले २ लाख ६० हजार र टिम व्यवस्थापक रामचन्द्र श्रेष्ठले १ लाख ३० हजार प्राप्त गर्नेछन।

लामो समयदेखि सरकारले घोषणा गरेको पुरस्कार प्रदान गर्न खेलाडीले बारम्बार गरेको अनुरोधलाई प्रमुख एजेन्डा बनाएर यसको लागि धैरै मिहिनेत गर्न परेको युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले बताए। यसका लागि मन्त्री श्रेष्ठले अर्थ मन्त्रालय र नेपाल सरकारलाई धन्यवाद दिए।

प्रकाशित: २७ वैशाख २०८१ १८:१३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × four =