इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

हिमाल प्रेस २३ वैशाख २०८१ १४:०९
36
SHARES
इन्द्रालाई लाइफटाइम अचिभमेन्ट अवार्ड

पोखरा- खेलकुदमै जीवन समर्पित गरेकी इन्द्रा मल्लले जीवनको ५७ औं वसन्त पार गर्दा नामसँगै दाम र इज्जत पाएकी छन्। बुवा टीकाबहादुर मल्ल भारतीय पल्टनमा कार्यरत् थिए। उनी बक्सिङका नामुद खेलाडी। त्यतिमात्र हैन, मामा यामबहादुर शाही बक्सिङ खेल्थे। बुबा र मामाको प्रेरणाबाट इन्द्रा खेलकुद क्षेत्र रोजिन्।

२०२४ सालमा भारतको पञ्जावमा बाबु टीकाबहादुर र आमा लक्ष्मीकुमारीको कोखबाट जन्मिएकी उनी कक्षा ७ सम्मको पढाइ त्यही पूरा गरिन्। त्यसबेला विद्यालयस्तरीय खेलकुद प्रतियोगितामा भाग लिने गर्थिन्। पछि पुर्ख्यौलीथलो स्याङ्जाको पुतलीबजार फर्किएर मावि तहको पढाइ निरन्तरता दिइन्। त्यहाँ पनि विद्यालयस्तरीय खेलकुद प्रतियोगिता छुटाइनन्।

जीवनको सुरुआतमा उनी एथ्लेटिक्ससहित भलिबल, बास्केटबल, टेबलटेनिसलगायत खेल खेल्थिन्। रुची भने एथ्लेटिक्समै थियो। भाग लिएका १०० मिटर, २०० मिटर, ४०० मिटर दौडमा सधैँ प्रथम हुन्थिन्। पछि क्रमशः १० हजार मिटरसम्मको धावक बनिन्।

उनले खेलकुदकै लागि कहिले पढाइ त्यागिन्, त कहिले स्थायी जागिर। ०५६ सालतिर उनी एमएड गरिरहेकी थिइन्। त्यहीबेला भारतमा नेसनल इन्ष्टिच्युट अफ स्पोर्टस् (एनआइएस) मा डिप्लोमा गर्ने अवसर आयो। पढाइ र खेलमध्ये एक रोज्नुपर्ने क्षणमा खेलकुद नै रोजिन्। २०४० सालदेखि अस्थायी तथा ०४५ सालदेखि प्रावि तह स्थायी शिक्षिका उनले ०५० मा आएर शिक्षिकाको स्थायी जागिर कि खेलकुदमा सहायक प्रशिक्षकको अस्थायी जागिर छान्ने दुविधामा खेलकुद नै रोजिन्।

पदक आशमा प्रशिक्षण लिएकी उनले कति पटक त प्रतियोगितामै भाग लिन पाइनन्। तेस्रो साफ उनी वाकिङ १० किमीमा प्रथम हुँदै नेपालबाट छनोट भइन्। तर अन्तिम समयमा स्पर्धा क्यान्सिल भयो। हुन त उनी विभिन्न लामो दुरीको धावक पनि हुन्। तर अफिसियलको रोजाइमा कहिल्यै परिनन्। आफूभन्दा कनिष्ठ मेनुका राउतलाई लगिएको उनको गुनासो छ।

इन्द्राले विभिन्न प्रतियोगितामा पदक जित्दै राष्ट्रिय रेकर्डसमेत बनाएकी छन्। चौंथो राष्ट्रिय खेलकुदमा १० किमी वाकिङमा स्वर्ण जितेकी उनले ३२ औं राष्ट्रिय च्याम्पीयनसीपमा प्रथम भएकी थिइन्। ३० औं राष्ट्रिय च्याम्पीयनसीपमा हाल्फ म्याराथनमा रजत, १० किमी वाकिङमा स्वर्ण, दोस्रो र तेस्रो राष्ट्रिय क्रस कन्ट्री च्याम्पीयनसीपमा स्वर्ण जितिन्।

आठौं एशियन ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीप १० किमी वाकिङमा सातौं, ५१ औं सिंगापुर ओपन च्याम्पीयनसीप ५ किमी वाकिङमा चौथो, क्यानडामा भएको सेकेण्ड वल्र्ड जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीप ५ किमी वाकिङमा २३ औं स्थान र सिंगापुरमै भएको दोश्रो एयिसन जुनियर ट्रयाक एण्ड फिल्ड च्याम्पीयनसीपको ५ किमी वाकिङमा चौंथो भइन्।

सन् १९९५ मा भएको पेप्सी अन्नपूर्ण ट्रायथलनमा पहिलो महिला खेलाडीका रुपमा नाम लेखाएकी इन्द्राले द हिमालयन माउन्टेन बाइक च्याम्पीयनसीपमा समेत पहिलो नेपाली खेलाडीका रुपमा नाम दर्ज गराइन्। त्यतिमात्र होइन, उनी एभरेस्ट म्याराथनमा दौडिने पहिलो महिला खेलाडी हुन्। खेलजीवनमा समर्पित हुँदा बिहेबारी भुलेकी इन्द्रा धेरैजसो पोखरा रंगशालामा भेटिन्छिन्। त्यहाँ प्रशिक्षणसहित आफ्नो फिटनेसमा पनि समय दिन्छिन्।

उनै इन्द्रालाई नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आठौं पोेखरा स्पोर्टस् अवार्ड–२०८० मा लाइफटाइम अचिभमेन्ट अवार्डबाट सम्मान गर्ने भएको छ। उनलाई २८ वैशाखमा चाँदीको करुवा, ट्रफी, ताम्रपत्रसहित सम्मान गरिने मञ्च अध्यक्ष दीननाथ बरालले बताए। उक्त समारोहमा वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, उत्कृष्ट प्रशिक्षक, उदीयमान खेलाडी, उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र उत्कृष्ट खेल पत्रकारलाई नगदसहित अवार्ड प्रदान गरिनेछ।

प्रकाशित: २३ वैशाख २०८१ १४:०९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =