अटोरिक्सा : सुविधासँगै रोजगारी

नीतिबिनै चल्छन् विद्युतीय रिक्सा

विवेक विवश रेग्मी २१ फागुन २०७९ १८:५७
242
SHARES
नीतिबिनै चल्छन् विद्युतीय रिक्सा

इटहरी- इटहरी–२० का परी राईले विद्युतीय रिक्सा (सिटी सफारी) चलाउन सुरु गरेको १० वर्ष भयो। विद्युतीय रिक्सा चलाउनुअघि मलेसिया, इराकलगायत मुलुकमा श्रम गरेका राई अहिले स्वदेशमै बसेर रोजीरोटीको जोहो गरिरहेका छन्। १० वर्षअघि राईको दैनिक आम्दानी कम्तीमा दुई हजार हुन्थ्यो। सिटी सफारीको संख्या बढेसँगै आम्दानी घटेको छ।

उनी भन्छन्, ‘अहिले एक हजार कमाउन पनि गाह्रो छ।’ इटहरीमा विद्युतीय रिक्सा चलाउने धेरैजसो विदेशी भूमिबाट फर्किएकाहरू छन्। मनोज पोदार यसअघि साइकल मर्मतको काम गर्थे। तर व्यवसाय सोचेजस्तो नचलेपछि उनले सिटी सफारी चलाउने निर्णय गरे। पोदारका अनुसार आम्दानी ठीकै छ तर नीतिगत विषयमा निकै सास्ती छ।

बजार क्षेत्रमा चार्जिङ स्टेसन नहुँदा थप समस्या छ। अहिले सबै चालकले आफ्नो विद्युतीय रिक्सा घरमै चार्ज गर्नुपर्ने बाध्यता छ। नयाँ ब्याट्री पूरा चार्ज हुँदा एक सय किलोमिटरसम्म चल्छ।

चार्ज पूरा हुन ३६ घण्टासम्म लाग्छ। बजार क्षेत्रमा चार्जर नहुँदा यात्रु नपाएका बेला चार्ज गरेर बस्न पाइने अवस्था छैन। चार्ज सकिन लाग्दै घर दौडिनुपर्ने अवस्था छ। यसले गर्दा सोचेजस्तो आम्दानी नहुने चालकहरूको भनाइ छ।

इटहरी क्षेत्रमा २०६८ सालदेखि सिटी सफारी सञ्चालनमा आएको हो। सुरुमा तीनसिटे सफारी थिए, अहिले चारसिटे सञ्चालनमा छन्।

मोरङस्थित सुन्दरहरैँचामा यात्रु बोकेको ई-रिक्सा।

सरकारले स्पष्ट नीति नबनाउँदा विद्युतीय रिक्सा चलाइरहेका सबैले समस्या भोगिरहेका छन्। सरकारले विद्युतीय रिक्साका चालकलाई लाइसेन्स चाहिने भने पनि स्पष्ट नीतिको व्यवस्था गरेको छैन। पोदार भन्छन्, ‘कहिले लाइसेन्स अनिवार्य छ भन्दै बाटोबाटोमा चेकिङ गर्छन्, कहिले केही पनि गर्दैनन्।’

उनका अनुसार दर्ताका लागि पनि स्थानीय तह वा यातायात कार्यालय भन्ने स्पष्ट छैन। धेरैजसो विद्युतीय रिक्सा स्थानीय तहमै दर्ता भएर चलिरहेका छन्।

ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक राकेश रेग्मी विद्युतीय रिक्सा व्यवस्थापनको काम भइरहेको बताउँछन्। ‘रोक्नेदेखि लेन अनुशासनको पालनामा तालिम दिइरहेका छौँ,’ उनी भन्छन्, ‘ट्राफिक नियम नमान्नेलाई कारबाहीसमेत चलाइरहेका छौँ।’

इटहरीमा करिब पाँच हजार विद्युतीय रिक्सा सञ्चालनमा छन्। नयाँ विद्युतीय रिक्सालाई कम्पनीअनुसार दुई लाखभन्दा माथि तीन लाखसम्म पर्छ। विद्युतीय रिक्सामा बैंक तथा वित्तीय संस्थाले ऋण लगानी पनि गर्छन्। यसले गर्दा सानो लगानीले रोजगारी वृद्धिमा ठूलो योगदान दिएको छ। तर स्पष्ट नीतिगत व्यवस्था नहुँदा समस्या पनि उत्तिकै छन्।

यातायात अर्थतन्त्रमा क्रान्ति

अटोले आत्मनिर्भर

ग्रामीण एम्बुलेन्स

नाम र दाम दुवै कमाउँदै महिला

परिवारसँग रहेर आम्दानी गर्दाको खुसी

 

प्रकाशित: २१ फागुन २०७९ १८:५७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × four =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast