अटोरिक्सा : सुविधासँगै रोजगारी

ग्रामीण एम्बुलेन्स

विजय नेपाल २१ फागुन २०७९ ११:३३
36
SHARES
ग्रामीण एम्बुलेन्स तनहुँकी पहिलो अटो चालक महिला श्रीधरा थापा।

पोखरा-  ४० वर्षीय आइत विक अटोरिक्सा चालक हुन्। तनहुँको दमौली स्थायी घर भएका उनी विगतमा वैदेशिक रोजगारीका क्रममा खाडी मुलुक थिए।

पाँच वर्षको प्रवास बसाइपछि २०६९ सालमा स्वदेश फर्किए।  एक वर्षसम्म घरधन्दामै व्यस्त रहे। २०७१ सालमा प्याडल रिक्सा किनेर चलाउन थाले। आम्दानी ठीकै भए पनि दुःख धेरै हुने गरेको विकको अनुभव छ।

त्यसपछि अलि सजिलोका लागि उनले विद्युतीय रिक्सा किने। तर पूरा यात्रु र सामान बोक्दा उकालोमा तान्न नसक्ने र ओरालोमा धान्न गाह्रो भएपछि विकले पेट्रोलबाट चल्ने अटोरिक्सा किने। यसबाट उनी दैनिक दुईदेखि तीन हजारसम्म कारोबार गर्छन्। विकका अनुसार यसबाट ४० प्रतिशत जति बचत हुन्छ।

ससाना बजारदेखि, गाउँ र ठूला सहरमा यात्रु ओहोरदोहोर गराउन गुड्ने अटोरिक्साले रोजगारी र आयआर्जनको माध्यम बनेर थुप्रैको दैनिक सहज बनाएको छ।

गाउँघरतिर बिहान र साँझमात्रै निश्चित समयमा ठूला बस र जिप चल्छन्। त्यसमा पनि ठेलमठेलको यात्रा गर्न बाध्य हुनुपर्छ। जसले गर्दा आवतजावतको सहज विकल्प पनि अटो नै भएको छ।

यसका साथै अटोरिक्सा ग्रामीण भेगमा एम्बुलेन्सको विकल्प पनि बनेको छ। भनेको समयमा एम्बुलेन्स वा अन्य गाडी नपाएपछि धेरैले अटोरिक्साका चालक सम्झिन्छन्। सानो बाटोमा पनि जाने र भाडा पनि उति महँगो नपर्ने हुनाले यो थप सहजको साधन बनेको छ।

आइतको अटो ‘एम्बुलेन्स’ बनेर थुप्रैपटक दमौलीबाट २० किमि टाढाको गजौडे, ९ किमि टाढाको फलेसी, ८ किमि टाढाको दुम्सीचौरसम्म पुगेको छ। ‘बिरामीलाई अस्पताल लैजानका लागि कहिलेकाहीँ गाडी नपाउँदा गाउँतिरबाट फोन गर्छन्,’ विक भन्छन्, ‘रातबिरात नभनी सेवा दिएर धर्मै गरेजस्तो लाग्छ।’

अटोरिक्सा चालक श्रीधरा थापासँग पनि थुप्रै पटक बिरामी बोकेर अस्पतालसम्म पुर्‍याएको अनुभव छ। उनी भन्छिन्, ‘घर नजिकैका मात्रै होइन, २०/३० किलोमिटर टाढासम्म पनि कहिलेकाहीँ बिरामी पुर्‍याउन गएकी छु।’

भादगाउँकी श्रीधरा थापा ६ महिनादेखि अटोरिक्सा चलाइरहेकी छन्। ३१ वर्षीया थापा दमौलीमा पहिलो महिला अटोरिक्सा चालक हुन्। उनका पति नेपाली सेनामा कार्यरत छन्।

उनीहरूका १३ र ९ वर्षका दुई छोरी छन्। श्रीमान्को एक्लो कमाइले घरव्यवहार धान्न गाह्रो भएपछि थापाले अटो रोजिन्। थापाले दैनिक १५ सयदेखि २ हजारसम्म कमाइ हुने गरेको सुनाइन्।

अटोरिक्सा चलाएर तनहुँको पर्यटकीयस्थल मानुङकोटको उकालो छिचोलेको पनि उनको अनुभव छ। पछिल्लो समय दमौलीबाट  मानुङकोट जानेको संख्या बढ्दो छ। थापा तिनै यात्रुलाई लिएर मानुङकोट पुगेको एक हजार लिन्छिन्।

कानुन नहुँदाको सास्ती

विकका अनुसार दमौलीमा अटोरिक्सा भित्र्याउने उनी पहिलो हुन्। एक्लै चालकले यात्रु बोकेर आम्दानी गरेको देखेपछि यातायात व्यवसायीले दुःख दिएको विकको अनुभव छ। उनी भन्छन्, ‘सुरुवातमा साह्रै दुःख पाइयो। कहिले ट्राफिकले कहिले यातायात व्यवसायीले नराम्रो व्यवहार गरे। राजमार्गमा समेत जान दिएनन्।’

तर अहिले दमौलीमा मात्रै ४० वटा अटोरिक्सा छन्। तीमध्ये दुईजना महिला छन्। आफ्ना माग र समस्या सम्बन्धित निकायमा पुर्‍याउन दमौलीका सबै अटोरिक्सा चालक संगठित भएका छन्। ‘दमौली अटोचालक समिति’को अध्यक्ष आइत विक नै हुन्। उनी भन्छन्, ‘संगठित भएपछि धेरै सजिलो भएको छ।’

अटोरिक्सा दमौलीमा मात्र नभई तनहुँको डुम्रे, आँबुखैरेनी, थर्पु, भीमादलगायत बजारमा पनि उत्तिकै छन्।

गण्डकी प्रदेश राजधानी पोखरामा भने अटा रिक्सा भित्रिएको छैन। विगतमा ल्याउने प्रयास भए पनि ट्याक्सी व्यवसायीको विरोधमा उक्त कदम रोकिएको हो।

यातायात अर्थतन्त्रमा क्रान्ति

ग्रामीण एम्बुलेन्स


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − eleven =