आवरण

यातायात अर्थतन्त्रमा क्रान्ति

मस्त केसी २१ फागुन २०७९ ११:२२
84
SHARES
यातायात अर्थतन्त्रमा क्रान्ति विद्युतीय रिक्सा।

सहरबजारदेखि मध्यपहाडका गाउँगाउँ गुड्ने तीनचक्के अटो आयआर्जनको बलियो माध्यम, वैदेशिक रोजगारीको विकल्पका साथै समाजलाई गतिशील बनाउने साधन बनेको छ।

चालु आर्थिक वर्ष २०७९/८० को पुससम्म ३ हजार ८४८ वटा विद्युतीय तीन पांग्रे अटो भित्रिएका छन्। यही अवधिमा ३ हजार १०० वटा डिजेल र पेट्रोलबाट चल्ने अटोरिक्सा भित्रिएको भन्सार विभागको तथ्यांक छ।

विभागका अनुसार गत आव २०७८/७९ मा विद्युतीय, डिजेल र पेट्रोलबाट चल्ने १२ हजार वटा तीन पांग्रे अटो नेपाल भित्रिएका थिए । यसका साथै बजाज, टीभीएस, हुलासलगायत कम्पनीले नेपालमै तीन पांग्रे अटोको एसेम्बलिङसमेत गरिरहेका छन्। यी कम्पनीका वार्षिक सरदर चार हजार अटो बजारमा गइरहेका छन्।

यो तथ्यांकले मुलुकमा अटोरिक्सा व्यापार र त्यसको खपत देखाउँछ। तीनवटा पांग्रा भएको, तीनदेखि चारजना मान्छे बोकेर खुरुरु उकालो ओरालो कुद्ने, कच्ची, पिच दुवै बाटोमा हिँड्ने र किन्नका लागि ठूलो रकम आवश्यकता नपर्ने भएका कारण अटोको बजार बढ्दो देखिएको छ।

नेपालमा उपलब्ध अटोको मूल्य ब्रान्डअनुसार २ लाख ८० हजारदेखि देखि ४ लाखसम्म पर्छ। त्यसमा झन् किन्नको लागि बैंक तथा वित्तीय संस्थाले कर्जा उपलब्ध गराउने भएका कारण यसको पहुँच निम्न वर्गीयसम्म पनि पुगेको छ।

यसैकारण अटोरिक्सा देशभरका सडकमा गुडेरहेको देख्न सकिन्छ। तराई र भित्री मधेशका सहरबजारदेखि मध्य र उच्च पहाडी भेगमा समेत तीन पांग्रे अटो कुदिरहेको छ। यसले पूर्वको ताप्लेजुङदेखि सुदूरपश्चिमका बैतडीसम्मका पहाडी जिल्लाको जनजीवन चलायमान बनाइरहेको छ।

यातायात व्यवस्था कार्यालय सुर्खेतका अनुसार हुम्ला र डोल्पाबाहेक कर्णाली प्रदेशका सबै जिल्लामा तीन पांग्रे अटो पुगेको छ । सुर्खेतमा मात्रै एक हजार बढी अटो छन्। तीन सय बढीले सल्यान र एक सयभन्दा बढीले रुकुममा सेवा दिइरहेका छन्।

बुटवल क्षेत्रमा चार हजार बढी अटो कुदेका छन्। इटहरीमा पाँच हजार हाराहारी छन्। स्थानीय स्तरमा दर्ता भएर सञ्चालन हुने हुँदा कुन जिल्लामा कति अटो छन् भन्ने एकिन विवरण छैन। तर आयातको तथ्यांक, नेपालमै एसेम्बल हुनेको संख्या र स्थानीय स्तरमा दर्ता भएका आधारमा मुलुकभर ६० हजार बढी अटो हुइँकिरहेका छन्। यसको मतलब ६० हजार जनसंख्या प्रत्यक्ष आत्मनिर्भर भएको छ। जनगणना २०७८ को प्रारम्भिक विवरणअनुसार नेपालमा प्रतिघरपरिवार औसतमा चार जना सदस्य छन्। यस आधारमा करिब २ लाख ४० हजार जना अटोबाट लाभान्वित भएका छन्।

अधिकांश अटो चालकले दैनिक दुई हजारदेखि तीन हजारसम्म कारोबार हुने गरेको बताएका छन्। चाडपर्व र मेला महोत्सव लाग्दा पाँच हजारसम्म हुने गरेको उनीहरूको भनाइ छ। यसरी एउटा अटोले सरदर दुई हजार ५०० को कारोबार गर्दा दैनिक १५ करोड हाराहारीको व्यवसाय भइरहेको छ। यसबाट ४० प्रतिशत बचत गर्दा अटोमा आबद्ध भएकाहरूले मात्रै दैनिक ६ करोड आम्दानी गरिरहेका छन्। यसले स्थानीय जनजीवनलाई बनाइरहेको गतिशीलता मात्रै झल्काउँदैन, यातायात अर्थतन्त्रमा आएको नयाँ आयाम र क्रान्ति पनि देखाउँछ ।

जनजीवन चलायमान बनाउने साधन

देशैभर गुडिरहेको अटो आम नेपालीका निम्ति यात्राको सजिलो माध्यम मात्रै बनिरहेको छैन, सहर, बजार र गाउँ जोड्ने बलियो साधन पनि बनेको छ। चितवनको नारायणघाटका अधिकांश अटोले छिमेकी जिल्ला नवलपरासीको गैँडाकोटदेखि कावासोतीसम्मलाई जोडिरहेका छन्। दाङको तुलसीपुरमा चल्ने अधिकांश अटोले सल्यानको कपुरकोट र ४० किलोमिटर टाढाको श्रीनगरसम्म सेवा दिन्छन्। रुकुमको भूमेबाट रोल्पाको थबाङसम्म पनि छिनछिनमा अटो गुड्छन्।

यसरी सहर र बजारबाट गाउँ हुँदै छिमेकका जिल्लामा समेत अटोले यात्रालाई सहज बनाएको छ। विशेषगरी ग्रामीण जीवनलाई चलायमान र स्थानीय बजारको सहज पहुँचमा पुर्‍याउन अटोको ठूलो योगदान छ।

पहिले पहिले ग्रामीण भेगका स्थानीयबासीलाई बिहान बजार गएर साँझ मात्रै फर्किनुपर्ने बाध्यता थियो। कारण नजिकैका बजारबाट गाउँसम्म बिहान र बेलुका मात्रै जिप र ठूला बस चल्थे। बिहान बजारमा बेच्ने सरसामानको पोकापुन्तारा बस वा जिपमा हाल्ने, दिनभर बजारमा किनमेलदेखि चलचित्र हेर्ने र साँझ सोही बस वा जिपमा अटाइनअटाई फर्किनुपर्ने बाध्यता थियो। तर मुलुकको कुनाकुनासम्म भएको अटोको प्रवेशले त्यो परिवेशलाई बदलिदिएको छ। स्थानीयहरू बस वा जिप कुरेरै बस्नुपर्ने बाध्यता हटेको छ। आममानिसले चाहेको बेला र आवश्यकता परेको बेला आफूले चाहेको स्थानसम्म पुग्न पाएका छन्।

यसले समयको बचत मात्रै गरिदिएको छैन, स्थानीय उत्पादन बजारसम्म लगेर बेच्ने मेलो पनि फस्टाएको छ । आयआर्जनको बाटो पहिल्याउन, कृषि उत्पादन बजारसम्म पुर्‍याउन र दुःख, बिमारमा अस्पतालसम्म पुग्न पनि अटोको महत्त्व उत्तिकै छ ।

मुलुकभरका स्थानीय बजारलाई अटोले गतिशील बनाउन, उद्यमशील बनाउन ठूलो मद्दत गरे पनि नियमनमा राज्य संयन्त्रको भूमिका भने प्रभावकारी देखिएको छैन । विशेषगरी निम्न वर्गका र साक्षरसमेत नभएका व्यक्ति यसमा आबद्ध छन्। पढाइलेखाइ कम भएका व्यक्तिसमेत आफैँ आर्थिकरूपमा सक्षम बनाउने अटो यातायात व्यवस्थाको अव्यावहारिक कानुनले भने भद्रगोल अवस्थामा छ। सामान्य हिसाबकिताब र लेख्नपढ्न जान्नेहरूले लाइसेन्सको लिखित परीक्षा उत्तीर्ण गर्न सक्ने अवस्थामा छैनन्। राज्यले उनीहरूका लागि नयाँ नियम बनाएर लाइसेन्स दिने व्यवस्था गर्न जाँगर देखाएको छैन।

अटोको दर्ता र सञ्चालनका लागि पनि स्थानीय सरकारपिच्छे फरकफरक कानुन छन्। एकाध स्थानीय सरकारले अटो सञ्चालनको कार्यविधि बनाएर दर्तादेखि भाडादरसमेत तय गरेका छन्। तर धेरै स्थानमा नियमनको अभाव हुँदा यात्रु ठगिने र अस्वस्थ प्रतिस्पर्धाको मारमा पर्ने जोखिम पनि उत्तिकै छ।

विदेशको विकल्प- विद्युतीय रिक्सा

 

अटोले आत्मनिर्भर

नीतिबिनै चल्छन् विद्युतीय रिक्सा

ग्रामीण एम्बुलेन्स

नाम र दाम दुवै कमाउँदै महिला

 

परिवारसँग रहेर आम्दानी गर्दाको खुसी

प्रकाशित: २१ फागुन २०७९ ११:२२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + 20 =