अटोरिक्सा : सुविधासँगै रोजगारी

विदेशको विकल्प- विद्युतीय रिक्सा

विनोद परियार २१ फागुन २०७९ १५:५४
48
SHARES
विदेशको विकल्प- विद्युतीय रिक्सा

विद्युतीय रिक्सा रोजगारी खोज्दै खाडी मुलुक पस्नेको बलियो विकल्प बनेको छ।

लुम्बिनी- श्रीमान्‌ले दोस्रो विवाह गरेपछि २०७० सालमा कोखिलामा छोरा र छोरी च्यापेर घरबाट बाहिरिएकी थिइन् ३४ वर्षीया नीरा रायमाझी। अर्घाखाँची छत्रदेवकी नीराको २०६७ सालमा बुटवल जानकीनगरमा विवाह भएको थियो। विवाहको एक वर्षपछि छोरी, त्यसको दुई वर्षपछि छोराको जन्म भयो।

श्रीमान्‌ले साथ छोडेपछि ससाना बच्चासहित बुटवलमै भाडामा बस्न थालेकी नीराको गतिलो साहारा बनेको छ– विद्युतीय रिक्सा।

छोराछोरीको जिम्मेवारी पूरा गर्न नीराले सुरुको एक वर्ष बुटवल–११ कालिकानगरस्थित मारिया मन्टेसरीमा सुरक्षागार्डको काम गरिन्। तर त्यसबाट हुने कमाइले दुई बच्चा पाल्न र कोठाभाडा तिर्न धौधौ भएपछि विकल्पका रूपमा विद्युतीय रिक्सा रोजिन्।

अहिले विद्युतीय रिक्सा चलाएर उनले मासिक २५ देखि ३० हजार रुपैयाँसम्म आम्दानी गर्छिन्। उनी भन्छिन्, ‘यो रिक्सा मेरो जीवनको ठूलो साहारा बनेको छ।’ यसबाट आधारभूत आवश्यकता पूरा भएका कारण कसैको साथ नहुँदा पनि गरेर खाना सक्छु भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ।

नीराले बिहानदेखि साँझ अबेरसम्म विद्युतीय रिक्सा चलाउँछिन्। जागिरजस्तो अर्कोको अह्रनखटनमा चल्नु नपर्ने भएका कारण पनि उनलाई यो पेसा मन परेको छ।

‘विद्युतीय रिक्सा नभएको भए रोजीरोटीकै लागि मसँग विदेश जानुको विकल्प थिएन’, नीरा भन्छिन्, ‘यसकै कारण छोराछोरीलाई हुर्काएर घरखर्चसमेत धानेको छु।’ अहिले उनकी छोरी ६ र छोरा २ कक्षामा पढ्छन्।

तीनचारजना मान्छे एकबाट खुरुर्र अर्को ठाउँमा सजिलै पुग्न सक्ने विद्युतीय रिक्सा दीर्घरोग लागेकाहरूको समेत सहारा बनेको छ।

बुटवल–११ सुकुमबासी बस्ती निवासी ६१ वर्षीय रामबहादुर थापा क्षेत्रीका लागि विद्युतीय रिक्सा वरदान बनेको छ। क्षेत्री मुटुका बिरामी हुन्। उनलाई नियमित मुटुको औषधि खानुपर्ने बाध्यता छ।
‘अरू काम गर्न सक्दिनँ। गह्रौँ सामान उठाउन परे सास बढिहाल्छ’, थापा भन्छन्, ‘धन्न यो रिक्सा चलाउन पाएर औषधि किन्ने पैसा र घरखर्च धानेको छु।’

श्रीमती र एक छोरीसहित उनको तीन जनाको परिवारको आर्थिक भरथेग त्यही विद्युतीय रिक्साले गरेको छ। यसबाट उनले मासिक ३० हजारसम्म आम्दानी हुने गरेको सुनाउँछन्। ‘पहिले पैदल रिक्सा चलाउँथे,’ उनी भन्छन्, ‘शारीरिक बल कम लाग्ने भएकाले यो निकै सहज र छिटो पनि छ।’

कतार, दुुबई र भारतमा गरी १२ वर्ष वैदेशिक रोजगारीमा बिताएका बुटवल–११ बुद्धनगरका अर्जुन कुँवर अहिले विद्युतीय रिक्सा चलाउँछन्।

‘धेरै वर्ष विदेशमा परिश्रम गरियो,’ उनी भन्छन्, ‘अहिले आफ्नै देशमा केही गरौँ भन्ने लागेर यस्तो रिक्सा चलाउन थालेको हुँ।’ उनले पनि दैनिक १ देखि २ हजारसम्म आम्दानी गर्ने गरेको सुनाए।

‘विदेशको कमाइले सुकुमबासी बस्तीमै भए पनि टिनले छाएको घर बनाएको छु,’ कुँवर भन्छन्, ‘अहिले यसकै कमाइले दुई बच्चाको शिक्षा र घर खर्च पुगेको छ।’ यसले गर्दा फेरि विदेश जाने सोच नबनेको उनको भनाइ छ।

विद्युतीय रिक्सा चलाएर सात जना परिवारको घर खर्च धान्दै आएका बुटवल ११ का राजु परियार भन्छन् ‘ईरिक्सा नभएको भए, मेरो परिवारको बेहाल हुने थियो।’ छोरा, छोरी, बुहारी, नातिनी सबैको खर्च विद्युतीय रिक्सा चलाएको कमाइले धान्दै आएको उनको भनाइ छ।

तराईदेखि पहाड, साना बजारदेखि ठूला सहरसम्म गुडिरहेका अटोरिक्सा सामान्य पढेलेखेका मानिसको रोजगारीको बलियो माध्यम बनेको छ।

स्थानीय सरकार र ट्राफिक प्रहरीले बेलाबेला दुःख दिने गरेको चालकको गुनासो छ। परियारले भने, ‘बुटवल उपमहानगरले दर्ताका लागि कोटा निर्धारण गरेपछि हामीहरू विस्थापित हुने अवस्थामा पुगेका छौँ।’

बुटवल उपमहानगरले बुटवलमा १ हजार ४८४ वटा विद्युतीय रिक्सा चलाउने गरी संख्या निर्धारण गरेको छ। तर बुटवलमा हाल चार हजार बढी विद्युतीय रिक्सा सञ्चालनमा छन्।

यातायात अर्थतन्त्रमा क्रान्ति

ग्रामीण एम्बुलेन्स

 

नाम र दाम दुवै कमाउँदै महिला

अटोले आत्मनिर्भर

प्रकाशित: २१ फागुन २०७९ १५:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × two =