अटोरिक्सा : सुविधासँगै रोजगारी

अटोले आत्मनिर्भर

रमा केसी २१ फागुन २०७९ १५:५३
116
SHARES
अटोले आत्मनिर्भर

सुर्खेत- वीरेन्द्रनगर–१ गैरी गाउँकी ४३ वर्षीया तिलादेवी थापा मगरको दैनिकी अटो चलाएर बित्छ। केही वर्ष अघिसम्म उनले ठेलामा तरकारी र फलफूल राखेर डुलाउँथिन्।

मगरले केही समय खुद्रा र तरकारीको पसल पनि चलाइन्। श्रीमान्‌ले भाडाको अटोरिक्सा चलाउँथे। तर पसलभन्दा अटोबाट राम्रो आम्दानी हुने देखेपछि तीलादेवीले पनि अटो सिकिन्। उनी भन्छिन्, ‘अटो चलाउन थालेपछि मेरो कमाइले घरसँगै छोरा छोरीको पढाइ खर्च पनि धानेको छ।’

तिलादेवीले अटो चलाउन थालेको तीन वर्ष भयो। श्रीमान्, श्रीमती दुवैको कमाइ हुँदा जीविकोपार्जन सहज भएको छ। दिनभर काम गर्दा आम्दानी पनि राम्रो हुने भएकाले उनलाई अटो चलाउने पेसा प्यारो लाग्न थालेको छ। तिलादेवी भन्छिन्, ‘दिनभरि अटो चलाउँदा तीनदेखि चार हजारसम्मको कारोबार हुन्छ।’

वीरेन्द्रनगर–५ कालिका मन्दिरकी ३३ वर्षीया लक्ष्मी नेपालीले डेढ वर्षदेखि अटोरिक्सा चलाउँदै आएकी छन्। अटोरिक्सा चलाउनुअघि घर व्यवहार र छोरोछोरीको रेखदेखमै उनको दिन बित्थ्यो।

बिस्तारै छोराछोरीसँगै आवश्यकता पनि बढ्दै गए। श्रीमान्‌को मात्र कमाइले घर धान्न मुस्किल भयो। त्यसमाथि लक्ष्मीलाई स-सानो खर्चका लागि पनि श्रीमान्‌कै भर पर्नुपर्थ्यो। त्यसले गर्दा आफूले पनि केही गर्नुपर्छ भन्ने लागिरहेको थियो।

लक्ष्मीले स्वरोजगार कार्यक्रममार्फत वीरेन्द्रनगर नगरपालिकाले अटोरिक्सा तालिम दिएर महिलालाई अनुदानमा उपलब्ध गराउँदै आएको छ भन्ने सुनेकी थिइन्। उनी नगरपालिका कार्यालय पुगिन्।
त्यतिबेला नगरपालिकाले सूचना प्रकाशित गरेकै थिएन। नगरपालिकाको आवेदन नखुलेको समयमा भए पनि लक्ष्मीको अटोरिक्सा सिक्ने चाहाना रोकिएन।

वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७४/०७५ देखि महिला स्वरोजगार कार्यक्रम सुरु गरेको थियो। त्यसमा अटोरिक्सा तालिम पनि राखेको छ। नगरपालिकाले अनुदानमा तालिम लिएका महिलामध्ये हाल २७ जना महिलाले अटो चलाइरहेका छन्।

लक्ष्मीका श्रीमान् पनि अटोरिक्सा चालक हुन्। उनले श्रीमान्‌सँगै अटो सिकिमागिन्। कोरोनाका कारण लकडाउन भएको समयमा उनले अटो सिकेर समयको सदुपयोग गरिन्।

लकडाउन हट्यो। उनी आफैँले किनेको अटोरिक्सा लिएर नयाँ उद्यममा निस्किइन्। ‘हामीहरू किन कमजोर भएर बस्ने? आफैँ कमाएर अघि बढ्न सक्छौँ नि,’ उनी भन्छिन्, ‘अटोरिक्सा चलाउन थालेपछि दैनिकी पनि सहज भएको छ।’

लक्ष्मी अहिले श्रीमान्‌सँगै अटोरिक्सा चलाएर दैनिक तीन हजार बढीको कारोबार गर्छिन्। उनी भन्छिन्, ‘सबै खर्च कटाएर एक हजार त बचत गर्छु।’

चाडपर्व, मेला, महोत्सवजस्ता चहलपहल बढी हुने दिन ५-७ हजारसम्मको कारोबारसमेत हुन्छ। लक्ष्मी बिहान घरको काम सकेर दिउँसोको समयमा अटोरिक्सा चलाउँछिन्। घरव्यवहारमा श्रीमान्‌को पनि उत्तिकै साथ छ।

दुवै जनाको कमाइले घरव्यवहार चलाउन, छोराछोरी पढाउन सहज भएको उनको भनाइ छ। आफूले आम्दानी गर्न थालेपछि उनको आत्मविश्वास र आँट पनि बढेको छ। लक्ष्मी भन्छिन्, ‘मजस्तै कोही महिलाले सिक्न चाहनुभयो भने हाँसी-हाँसी सिकाउन तयार छु।’

लक्ष्मीलाई व्यस्त सडकमा अटोरिक्सा कुदाउनु जोखिम पनि उत्तिकै लाग्छ। अस्तव्यस्त सडक, पालना नहुने ट्राफिक नियमलगायतले थप हैरानी बनाउँछ।

‘आफ्नो, यात्रुकोदेखि पैदलयात्री र जथाभाबी छोडिएका जनावरसम्मको ख्याल गरेर चलाउनुपर्छ,’ उनी भन्छिन्, ‘यसले गर्दा तन, मन सबै यसमै लगाएर हिँड्नुपर्छ।’

लक्ष्मीले अधिकांश यात्रुबाट हौसला र साथ पाउँदै आएकी छन्। कसैकसैले चाहिँ दुर्व्यवहार गर्न खोज्छन्। उनी भन्छिन्, ‘यस्तो हुँदा तत्काल प्रतिक्रियासमेत दिएको छु, सहेर बस्नु हुँदैन।’

यातायात अर्थतन्त्रमा क्रान्ति

ग्रामीण एम्बुलेन्स

नाम र दाम दुवै कमाउँदै महिला

विदेशको विकल्प- विद्युतीय रिक्सा

 

 

प्रकाशित: २१ फागुन २०७९ १५:५३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 6 =