शिक्षामन्त्री सस्मित पोखरेल।
काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले माध्यमिक शिक्षा परीक्षा २०८२ को नतिजा परीक्षा सम्पन्न भएको एक महिनामै सार्वजनिक हुनु शिक्षा प्रशासनको प्रभावकारी कार्यसम्पादनको उदाहरण भएको बताएका छन्।
सोमबार सामाजिक सञ्जालमा शुभकामना सन्देश जारी गर्दै मन्त्री पोखरेलले लाखौँ विद्यार्थी तथा अभिभावकको प्रतीक्षालाई छोटो समयमै सम्बोधन गर्न सम्भव हुनु राज्य संयन्त्रको सामूहिक प्रतिबद्धता र कार्यक्षमताको महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गरेका छन्।
उनले परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशनसम्म दिनरात खटिने शिक्षकशिक्षिका, कर्मचारी, राष्ट्रिय परीक्षा बोर्ड, सुरक्षा निकाय तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान गर्ने सबैप्रति आभार व्यक्त गरेका छन्।
परीक्षा केन्द्रमै उत्तरपुस्तिका परीक्षण गर्ने व्यवस्थालगायत सुधारात्मक प्रयासका कारण समयमै नतिजा प्रकाशन सम्भव भएको मन्त्री पोखरेलको भनाइ छ।
मन्त्री पोखरेलले एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई बधाई दिँदै आगामी यात्राका लागि शुभकामना पनि व्यक्त गरेका छन्। विद्यार्थीको सफलता निरन्तर मेहनत, अनुशासन, अभिभावकको साथ र गुरुहरूको समर्पित मार्गदर्शनको प्रतिफल भएको उनले उल्लेख गरेका छन्।
उनले परीक्षा प्रणालीलाई थप व्यवस्थित, छिटो, विश्वसनीय र विद्यार्थीमैत्री बनाउने उद्देश्यसहित यही सुधारलाई कक्षा १२, स्नातक तथा स्नातकोत्तर तहसम्म विस्तार गर्ने प्रतिबद्धता जनाएका छन्।
यसपटक अपेक्षाअनुसार नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीलाई निराश नहुन आग्रह गर्दै मन्त्री पोखरेलले एउटा परीक्षाले मात्र जीवनको सम्पूर्ण भविष्य निर्धारण नगर्ने बताएका छन्।



