अटोरिक्सा : सुविधासँगै रोजगारी

नाम र दाम दुवै कमाउँदै महिला

नेहा झा २१ फागुन २०७९ ११:३३
4.6k
SHARES
नाम र दाम दुवै कमाउँदै महिला बबिताकुमारी राउत।

जनकपुरधाम- महिला र पुरुष समान हुन् भनिन्छ। नेपाली समाजमा भने ठिक उल्टो छ। आधुनिकतामा रमाउने युवाले समेत समानता शब्दकोशमै सीमित राखेका छन्।

पेसा व्यवसायमा त महिला र पुरुषबीच विभेद छँदैछ। केही महिला भने संघर्ष गर्दै असमानता मात्रै चिरिरहेका छन्। यसबाट उनीहरूको कमाइ र पहिचान दुवै बढेको छ।यस्तैमध्येकी हुन् जनकपुरधाम उपमहानगरपालिका–१३ की २७ वर्षीया बबिताकुमारी राउत।

पाँच वर्षपहिले दुई लाख ऋण लिएर पुरानो विद्युतीय रिक्सा (ई–रिक्सा) किनेर चलाउन सुरु गरेकी बबितालाई सुरुमा निकै कठिन भयो। त्यसको प्रमुख कारण थियो, रिक्साचालक पेसामा पुरुष मात्रै रहनु।

बबिताले सुरुमा महिला भएर रिक्सा चलाउने भनेर चारित्रिक लाञ्छनासम्मको सामना गर्नुपर्‍यो। उनलाई सेवाग्राहीदेखि सहकर्मी पुरुष चालकसमेतले त्यति राम्रो नजरले हेर्दैनथे। अहिले तिनै सहकर्मीले फोन गरेर सेवाग्राहीलाई पुर्‍याइदिन भनिरहेका हुन्छन्।

पेसागत अवरोधलाई सामाजिक चुनौती रूपमा स्वीकार्दै आफ्नो पेसामा अडिग रहेकी उनलाई त्यतिबेला श्रीमान् देवनारायण भेडियरको साथ र सहयोग प्राप्त भयो। श्रीमान्ले नै आफूलाई ईरिक्सा चलाउन सिकाएको बबिताले बताइन्। उनी भन्छिन्, ‘निर्धक्क भई ईरिक्सा चलाउन श्रीमान्बाट भरपूर सहयोग पाएँ।’

उनका पति देवनारायण बस चलाउँथे। स्वास्थ्य समस्याका कारण उनी करिब दुई वर्षदेखि घरमै बसिरहेका छन्।

‘पहिलेपहिले उहाँले नै परिवार चलाउनुहुन्थ्यो म पनि घरमा केही आर्थिक सहयोग हुन्छ भनेर ठेलामा फलफुल बेच्ने गर्थेँ’, बबिताले हिमालप्रेससँग भनिन्, ‘पछि उहाँ अचानक धेरै बिरामी पर्नुभयो, यतिसम्म कमजोर हुनुभयो कि उहाँको शरीर बाहिर गएर काम गर्न सक्ने अवस्थामा रहेन।’ त्यसपछि घरका पाँच जना सदस्यको खाने लाउनेदेखि लिएर पठनपाठन सबैको जिम्मेवारी बबितामाथि पर्‍यो।’

ईरिक्सा चलाएरै उनी दैनिक ५ सय देखि १ हजारसम्म कमाउँछिन्। यसबाट बिरामी श्रीमान्को औषधोपचारदेखि लिएर छोराछोरीको पढाइलेखाइको खर्चसमेत निकाल्ने गरेकी छन्।

‘पाँच वर्षअघि जनकपुरधाममा ईरिक्साको चाप त्यति थिएन, जसले गर्दा अहिलेको तुलनामा आम्दानी दोब्बर हुन्थ्यो’, उनले भनिन्, ‘अहिले सवारीसाधनको बढ्दो चापका कारण प्रतिस्पर्धा छ तर पनि घरखर्चका लागि पुग्ने जति कमाउन सफल छु।’ बबिताले आफ्नो कमाइ बिरामी श्रीमान्को उपचार र हुर्कँदै गरेका छोराका पढाइमा खर्च गर्दै आएकी छन्।

बबिताजस्तै जनकपुरधाम उपमहानगरपालिका १६ पुलचोककी ३१ वर्षीया रामसोना देवी साह अटो चलाउँछिन्। उनकै कमाइले घरमा चुलो जल्ने अवस्था छ।
करिब चार महिनापूर्व साहका पति रामउद्गार साह वैदेशिक रोजगारीबाट फर्केपछि उनले ऋण लिएर ईरिक्सा किनेका थिए। रामउद्गारले चलाएको ईरिक्साबाट हुने आम्दानीले उनको परिवार जसोतसो धानेको थियो।

स्वदेशमै बसेर घरपरिवारको बिहान बेलुकाको खानाबाहेक अरु कुनै खर्च उठाउन सक्ने उपाय नलागेपछि उनले श्रीमती रामसोनालाई अटो सिकाइदिए र आफू फेरि मलेसिया पसे।

‘श्रीमानले अटो चलाउन सिकाइदिनुभएको हो’, उनले भनिन् ‘सुरुसुरुमा त साइकलसम्म नचलाएको मलाई खुबै डर लाग्थ्यो। बिस्तारै एक्लै चलाउन बानी परिसकेपछि अब निर्धक्क चलाउने गरेकी छु।’

घरपरिवार र छोराछोरीको पालनपोषणमा मात्रै रमाएकी साहलाई श्रीमान‍्जस्तै घरबाहिर गएर कमाएर ल्याउँदा आफैँमाथि गर्व लाग्छ। श्रीमान् बिदेसिएपछि अहिले उनी घरमूलीको जिम्मेवारीमा छिन्।

‘सुरुमा सबैले अनपढ भन्थे। सधैँ अरूकै भर पर्नुपर्छ भन्ने लाग्थ्यो तर त्यस्तो होइन रहेछ’, उनले भनिन् ‘आफूमा काम गर्ने इच्छाशक्ति हुनुपर्छ, अशिक्षित भए पनि कसैमाथि निर्भर हुनु पर्दैन।’

चालक साहको कमाइ दैनिक करिब १५ सय देखि दुई हजारसम्म छ। जसले उनलाई चार छोरीछोराको अध्ययनदेखि घर खर्च धान्न सहयोग गरेको छ।

‘बिहान ५ बजे घरबाट अटो लिएर निस्किन्छु। साँझ ७ बजेतिर फर्कन्छु। दैनिक करिब १५ सयदेखि २ हजारसम्मको आम्दानी हुन्छ। परिवार राम्रैसँग चलेको छ’, रामसोनाले भनिन्।

ईरिक्साका लागि चार्जसहित मासिक चारदेखि पाँच हजारसम्म खर्च हनुे गरेको छ। उनले अटोरिक्सा चलाएरै छोराछोरीलाई उच्च शिक्षासम्म पढाउने योजना सुनाइन्।

‘पढ्ने इच्छा भएर पनि घरको आर्थिक अवस्था कमजोर भएका कारण पढ्न सकिएन’, उनले भनिन्, ‘तर केही छैन मेरा चार छोराछोरी छन्। अब उनीहलाई असल मानिस बनाउने मेरो सपना छ।’

यातायात अर्थतन्त्रमा क्रान्ति

ग्रामीण एम्बुलेन्स

प्रकाशित: २१ फागुन २०७९ ११:३३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen − twelve =