वीरेन्द्रनगरले मनायो ५० औँ स्थापना दिवस

हिमाल प्रेस २५ वैशाख २०८३ २०:३२ | Friday, May 8, 2026
36
SHARES
वीरेन्द्रनगरले मनायो ५० औँ स्थापना दिवस

सुर्खेत – कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले शुक्रबार आफ्नो ५० औँ स्थापना दिवस मनाएको छ।

वि.सं. २०३३ सालमा सुर्खेत उपत्यकाभित्र पर्ने कटकुवा, गोठीकाँडा र जर्बुटा गाउँ पञ्चायतभित्र पर्ने केही भागलाई मिलाएर वीरेन्द्रनगर नगर पञ्चायत घोषणा गरिएको थियो। नेपाल सरकारले २०७१ वैशाख २५ गतेको निर्णयबमोजिम साबिकका उत्तरगंगा र लाटीकोइली गाविसलाई गाभेर विस्तारित नगर घोषणा गरिएको दिनलाई नगरपालिकाले स्थापना दिवसको रुपमा मनाउँदै आएको हो।

स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा नगर प्रमुख मोहनमाया ढकालले प्रदेश राजधानीका रुपमा मात्र नभई पश्चिम नेपालको उदाउँदो सहरका रुपमा नगरले आफ्नो पहिचान स्थापित गरेको दाबी गरिन्। उनले २०७९ मा सम्पन्न स्थानीय तहको निर्वाचनयता नगरमा विभिन्न उपलब्धिहरु हासिल गरेको भन्दै अधिकांश ठूला योजनाहरु उल्लेखनीय रुपमा अगाडी बढेको बताइन्।

ढकालका अनुसार नगरपालिकाले शिक्षाको दशवर्षे रणनीति तयार गरी स्थानीय पाठ्यक्रम निर्माण गरेको छ। वीरेन्द्रनगरलाई शैक्षिक हब बनाउने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालयसँग वार्षिक दुई करोड रुपैयाँको सहकार्य गरिएको उनले बताइन्। उच्च शिक्षामा पहुँच विस्तार तथा गुणस्तरीय शिक्षा प्रवद्र्धनका लागि विभिन्न कार्यक्रम लागू गरिएको उनको भनाइ छ।

उनले बुलबुले उद्यानको थप विकास, ताल विस्तार र बोटिङ सेवा व्यवस्थापन गरिएको जानकारी दिइन्। भेरी नदी किनारमा आर्यघाट तथा प्रतिक्षालय निर्माण, घण्टाघर पार्क र दक्षिण पार्क निर्माण, बसपार्क विस्तार तथा कर्णाली बसपार्क निर्माण प्रक्रिया अघि बढाइएको उनले बताइन्। साथै, मिलन पार्क निर्माण, गोदामलाइन पार्किङ निर्माण तथा वीरेन्द्रचोकमा ट्राफिक लाइट जडानले सहर व्यवस्थापनमा सहजता ल्याएको उनको भनाइ थियो।

नेताचोक–आँखा अस्पताल सडक स्तरोन्नति, सडक बत्ती विस्तार तथा उज्यालो नगर अभियानले नगरको सौन्दर्यसँगै सुरक्षा व्यवस्थामा सुधार आएको ढकालले बताइन्। सहर सुरक्षाका लागि विभिन्न स्थानमा सीसीटीभी क्यामेरा जडान गरिएको उनले जानकारी दिइन्।

कर्णाली प्रदेशकै पहिलो आकाशेपुल मंगलगढी चोकमा निर्माणाधीन अवस्थामा रहेको र भेरी पम्पिङ खानेपानी आयोजना तीव्र गतिमा अघि बढिरहेको उनको भनाइ थियो। उक्त आयोजनाले उपत्यकामा वर्षौंदेखि रहेको खानेपानी अभाव समाधान गर्न सहयोग पुग्ने विश्वास उनले व्यक्त गरिन्।

स्वास्थ्य क्षेत्रमा निःशुल्क स्यानेटरी प्याड वितरण, ‘हेलो गर्भवती आमा’ कार्यक्रम तथा विपन्न नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्। रक्तसञ्चार केन्द्र सुर्खेतसँगको सहकार्यमा निःशुल्क रगत उपलब्ध गराउने व्यवस्था गरिएको उनको भनाइ छ।

ढकालले नगरपालिकाको एकीकृत प्रशासनिक भवन निर्माण अन्तिम चरणमा पुगेको जानकारी दिँदै सबै वडामा भवन निर्माण तथा वडा तहसम्म विद्युतीय सुशासन विस्तार गरिएको बताइन्। प्रशासनिक प्रणालीलाई आधुनिक बनाइएको र योजनाको व्यवस्थापन प्रभावकारी बनाउन सफ्टवेयर प्रणाली लागू गरिएको उनको भनाइ थियो।

उनका अनुसार वडास्तरमै योजना सम्झौता गर्ने व्यवस्था मिलाइएको छ भने अनुगमन तथा सुपरिवेक्षण समितिबाट मूल्यांकन गरेपछि मात्रै भुक्तानी दिने प्रणाली लागू गरिएको छ। नगरको समग्र विकासलाई मार्गदर्शन गर्न पञ्चवर्षीय योजना पनि तयार गरिएको उनले बताइन्।

फोहरमैला व्यवस्थापनमा वैज्ञानिक प्रणाली सुरु गरिएको तथा हरियाली प्रवद्र्धन, प्रदूषण नियन्त्रण र वातावरण संरक्षणका कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन्। विपद् जोखिम न्यूनीकरणका लागि पूर्वतयारी, सचेतना कार्यक्रम तथा उद्धार संयन्त्रलाई सुदृढ बनाइएको उनको भनाइ थियो।

बालमैत्री स्थानीय शासनअन्तर्गत बालबालिकाको अधिकार सुनिश्चित गर्ने नीति तथा कार्यक्रम लागू गरिएको ढकालले बताइन्। शिव मन्दिर, काँक्रेविहार, बुलबुले, गढी तथा गुम्बालगायत सांस्कृतिक तथा पर्यटकीय क्षेत्रको संरक्षण, पूर्वाधार विकास र प्रवद्र्धनका काम भइरहेको उनको भनाइ थियो। ती क्षेत्रमा सडक, खानेपानी, सरसफाइ, विश्रामस्थल तथा सूचना केन्द्र निर्माण गरिएकाले पर्यटक आकर्षण बढेको उनले बताइन्।

स्थानीय तह सञ्चालनका लागि आवश्यक ऐन, कानुन तथा नीति निर्माण गरी कार्यान्वयनमा ल्याइएको उनले जानकारी दिइन्। राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको कार्यसम्पादन मूल्यांकनमा वीरेन्द्रनगरले ६१.८६ अंकसहित सुर्खेत जिल्लामै दोस्रो स्थान हासिल गरेको उनको भनाइ थियो।

संघीय सरकार, कर्णाली प्रदेश सरकार तथा विकास साझेदारसँग समन्वय गरी सडक सञ्जाल विस्तार, चक्रपथ निर्माण र पर्यटकीय क्षेत्र प्रवद्र्धनका योजना अघि बढाइएको ढकालले बताइन्। अन्तरसरकारी वित्त परिषद्, राष्ट्रिय विकास परिषद् तथा खानेपानी मन्त्रालयका बैठकमार्फत वीरेन्द्रनगरका समस्या र आवश्यकताबारे संघीय सरकारको ध्यानाकर्षण गराइएको उनको भनाइ थियो।

यद्यपि तीव्र सहरीकरण, बढ्दो जनसंख्या, सीमित स्रोत–साधन र बढ्दो सेवा माग अझै चुनौतीका रुपमा रहेको उनले स्वीकार गरिन्। भूमिहीन दलित, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको लगत संकलन भए पनि भूमि आयोग सक्रिय नहुँदा काम अघि बढ्न नसकेको उनले बताइन्।ढकालले चुनौतीका बाबजुद वीरेन्द्रनगरलाई दिगो, समावेशी, व्यवस्थित र नमुना सहर बनाउने अभियानलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरिन्।

भूमिहीन सुकुम्बासीमाथिको ज्यादती बन्द गर्न मुख्यमन्त्रीको आग्रह

कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारी जग्गा खाली गराउने नाममा भूमिहीन सुकुम्बासीमाथि भइरहेका ज्यादती बन्द गर्न सरकारलाई आग्रह गरेका छन्।

कार्यक्रममा बोल्दै मुख्यमन्त्री कँडेलले जनतालाई कानुन कार्यान्वयनको नाममा नागरिकलाई आतंकित बनाउने गतिविधि बन्द हुनुपर्ने बताएका हुन्। उनले लोकतान्त्रिक व्यवस्थामा जनताले सुरक्षित र आश्वस्त महसुस गर्न पाउनुपर्ने भए पनि पछिल्लो समय सुकुम्बासी व्यवस्थापनको नाममा नागरिक उकुसमुकुसको अवस्थामा पुगेको टिप्पणी गरे।

उनले वास्तविक अवस्था अध्ययन नगरी सुकुम्बासी बस्ती खाली गराउने कार्यले सर्वसाधारण त्रसित बनेको बताए। ‘लोकतन्त्रमा जनताको आवाज दबाउने प्रयास हुनु हुँदैन,’ उनले भने, ‘जनताले सुरक्षित महसुस गर्नुपर्ने हो, तर अहिले उनीहरू भय र अन्योलमा छन्।’

मुख्यमन्त्री कँडेलले भूमिहीन तथा सुकुम्बासीको समस्या क्रमशः समाधान हुने प्रकृतिको भएको उल्लेख गर्दै दीर्घकालीन र व्यवहारिक समाधान खोज्नुपर्ने धारणा राखे।

प्रतिनिधिसभा सदस्य रमेशकुमार सापकोटाले निर्वाचित भइसकेपछि यो पार्टी त्यो पार्टी भन्दापनि जनताका साझा मुद्दामा काम गर्नुपर्ने बताए। उनले वीरेन्द्रनगरको विकासका लागि आफ्नो तर्फबाट समन्वय र सहकार्य गर्ने प्रतिवद्धता पनि जनाए।

प्रकाशित: २५ वैशाख २०८३ २०:३२ | Friday, May 8, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast