बाँदर आतंक नियन्त्रणका लागि नवीन प्रविधि विकास गर्न प्रस्ताव आह्वान

हिमाल प्रेस २ मंसिर २०८३ १६:३९ | Wednesday, November 18, 2026
बाँदर आतंक नियन्त्रणका लागि नवीन प्रविधि विकास गर्न प्रस्ताव आह्वान

काठमाडौँ- बाँदरको बढ्दो आतंकका कारण कृषि क्षेत्रमा समस्या भोगिरहेका किसानको समस्या दीर्घकालीन रूपमा समाधान गर्न सरकारले नवीन उपाय, अनुसन्धान तथा प्रविधि विकाससम्बन्धी प्रस्ताव आह्वान गरेको छ।

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले सूचना जारी गर्दै बाँदर नियन्त्रण तथा धपाउने प्रभावकारी उपायको वैज्ञानिक अध्ययन, अनुसन्धान र नवीन प्रविधिको विकास एवं परीक्षणका लागि इच्छुक व्यक्ति, कम्पनी तथा संघसंस्थासँग प्रस्ताव माग गरेको हो।

मन्त्रालयका अनुसार देशका विभिन्न स्थानमा बाँदरका कारण किसानले ठूलो समस्या भोगिरहेका छन्। यस समस्यालाई न्यूनीकरण गर्दै दीर्घकालीन समाधान खोज्ने उद्देश्यले बाँदर नियन्त्रणका प्रभावकारी उपाय र प्रविधिको विकास तथा परीक्षण गर्न लागिएको हो।

यसअघि नै बाँदर नियन्त्रणसम्बन्धी अनुसन्धान तथा प्रविधि विकासको काम गरिसकेका वा नयाँ काम गर्न इच्छुक व्यक्ति, कम्पनी तथा निकायले आफूले गरेको अनुसन्धान र प्रविधिलाई थप परिष्कृत गरी कार्यान्वयन गर्न सकिने अवधारणा तथा विस्तृत प्रस्ताव सात दिनभित्र मन्त्रालयमा उपस्थित भएर प्रस्तुत गर्न वा मन्त्रालयको इमेल ठेगाना info@mosti.gov.np mailto:info@mosti.gov.np मा पठाउन सक्ने सूचनामा उल्लेख छ।

मन्त्रालयले छनोट भएका उत्कृष्ट अनुसन्धान प्रस्तावको थप अध्ययन, अनुसन्धान तथा विकासका लागि आवश्यक आर्थिक अनुदानसमेत उपलब्ध गराउने जनाएको छ।

त्यसैगरी, परीक्षणमा सफल भएका प्रविधि तथा उपकरणलाई कृषि तथा वन मन्त्रालयमार्फत किसानसम्म पुर्‍याइनेछ। त्यस्ता प्रविधि तथा उपकरणमा थप अनुसन्धान, परीक्षण, परिमार्जन र उपयोगसमेत गरिने मन्त्रालयले जनाएको छ।

प्रकाशित: २ मंसिर २०८३ १६:३९ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast