‘प्रचण्ड बाजे’ भनेर ‘भाइरल’ बनेकी किशोरीको पहलमा बन्यो पुल

विनोद परियार २ मंसिर २०८३ १४:३० | Wednesday, November 18, 2026
‘प्रचण्ड बाजे’ भनेर ‘भाइरल’ बनेकी किशोरीको पहलमा बन्यो पुल

बुटवल– रुकुम पूर्वकी १५ वर्षीया किशोरीले बनाएको काठको पुल अहिले चर्चामा छ। भूमे गाउँपालिका-९, लुमा गाउँकी सदीक्षा ओली आफ्नै पहलमा काठको पुल बनाएर चर्चामा आएकी हुन्।

लुमा गाउँको दोमै खोलामा गत असारमा आएको बाढीले पुल भत्काएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो। त्यसपछि उनले सामाजिक सञ्जाल फेसबुकमार्फत पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सम्बोधन गर्दै पुल बनाउन ध्यानाकर्षण गराएकी थिइन्।

गत भदौ १ गते उनले ‘प्रचण्ड बाजे’ भन्दै रुकुम पूर्वबाट चुनाव जितेका प्रचण्डलाई पुल बनाइदिन आग्रह गर्दै फेसबुकमा भिडियो राखेकी थिइन्। ‘हेलो प्रचण्ड बाजे, कता हुनुहुन्छ? हाम्रो यहाँ पूर्वरुकुमबाट चुनाव जितेर मात्रै जानुभयो, यहाँ पुलको हाल हेर्नुस्, यस्तो छ। भाँचिएर हामी खोलाबाट तरेर जानुपर्छ। गाईबाच्छालाई बगाउन सक्छ, हामी मान्छेलाई पनि बगाउन सक्छ। बच्चाहरू यहाँबाट स्कुल आवतजावतसमेत गर्छन्। तिनीहरूलाई पनि बगाउन सक्छ। त्यही भएर यहाँ पुल बनाइदिनुपर्‍यो,’ भन्दै उनले भिडियो सन्देश फेसबुकमा राखेकी थिइन्। यही भिडियो एकाएक भाइरल भयो।

भिडियो बनाएपछि पूर्वप्रधानमन्त्री प्रचण्डका स्वकीय सचिवले फोन गरेर पुल बनाइदिने बताएको तर त्यसपछि सम्पर्क नभएपछि आफ्नै पहलमा पुल बनाउन जुटेको सदीक्षाले बताइन्। ‘विद्यार्थीलाई खोलाले समस्या पार्ने भएकाले पुल बनाउन आवश्यक थियो। फेसबुकमा भिडियो राखेपछि सहयोग पनि जुट्यो,’ उनले भनिन्।

उनले आफन्त तथा स्थानीयको सहयोगमा गाउँमै उपलब्ध काठ प्रयोग गरेर तीन दिनको मेहनतमा पुल निर्माण गरेको बताइन्। पुल बनाउन ६० हजार रुपैयाँ खर्च भएको सदीक्षाले जानकारी दिइन्। पुल बनेपछि उनको सर्वत्र प्रशंसा भइरहेको छ। कतिपयले भने सामान्य खोलाको पुलको भिडियो बनाएर पूर्वप्रधानमन्त्री प्रचण्डलाई बदनाम गर्न खोजेको टिप्पणी गरेका छन्। ‘पुल बनेपछि राम्रा र नराम्रा दुवै खालका प्रतिक्रिया आएका छन्,’ उनले हिमाल प्रेससँग भनिन्, ‘मैले त्यसलाई वास्ता गरेकी छैन।’ उनले आफ्नो गाउँठाउँको समस्याबारे बोल्न डराउन नहुने पाठ सिकेको बताइन्। ‘आफ्नो समस्या आफैँ उठाउन पहल गर्नुपर्छ,’ उनले भनिन्।

सदीक्षाको पहलमा बनेको पुल स्थानीय सामग्री प्रयोग गरेर निर्माण गरिएको हो। पुल बनाउन जस्तापाता, किलाकाँटा र दक्ष कामदारको प्रयोग गरिएको छ।

करिब चार मिटर लामो उक्त काठे पुल बनेपछि सर्वसाधारणलाई आवतजावतमा सहज भएको छ। हिउँदमा खासै जोखिम नभए पनि बर्खायाममा भने लुमा गाउँको यो खोला तर्न कठिन हुन्छ।

पहिल्यैदेखि भिडियो बनाउँथिन् सदीक्षा

सदीक्षा रुकुम पूर्वको भूमे गाउँपालिका-९ स्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, चुनबाङमा कक्षा १० मा अध्ययनरत छिन्। उनलाई भिडियो बनाउन दाजु सन्दीपले साथ दिइरहेका छन्। सदीक्षाले यसअघि पनि विद्यालयको पोसाकमै स्थानीय गाउँका विषयमा भिडियो बनाउने गरेकी थिइन्।

‘प्रचण्ड बाजे’ भन्दै पुल बनाउन आग्रह गरेको भिडियो भाइरल भएपछि उनको फलोअर संख्या ह्वात्तै बढेको हो। उनले आफैँले पुल बनाउन आग्रह गरेको भिडियोमार्फत एक लाख फलोअर पुगेपछि पुल बनाउने प्रतिबद्धता जनाएकी थिइन्। ७४ हजार रहेको उनको ‘सदीक्षा भिजुअल्स’ नामक फेसबुक पेजका फलोअर अहिले एक लाख ७८ हजार पुगेका छन्। टिकटक र युट्युबमा पनि उनका फलोअर बढेका छन्। सदीक्षाले फेसबुकबाट आम्दानी गर्नसमेत थालेकी छन्। उनले ड्रोन क्यामेरासमेत किनेर भिडियो बनाउन थालेकी छन्।

पुल बनाउने भिडियो भाइरल भएपछि उनले सामाजिक विषयमा पनि भिडियो बनाउँदै जाने बताएकी छन्। विद्यालयमा औसत विद्यार्थी रहेकी उनले सामाजिक सञ्जालमार्फत सहयोग जुटाउने अभियानसमेत थालेकी छन्। दार्चुलाकी स्वर्गीय रितु कोट्टारीको अल्पायुमै निधन भएपछि दुई जुम्ल्याहा बालिकासहित चार छोरी र उनीहरूको परिवारलाई आफूले पनि सहयोग गरेर अरूलाई सहयोग गर्न प्रेरित गरेको सदीक्षाले बताइन्।

त्यसो त सदीक्षाले नेकपाका नेताहरूलाई लक्षित गरेर प्रहार गरेको भन्दै केही जनप्रतिनिधिले विरोध पनि गरेका छन्। सामाजिक सञ्जालमा उनको पक्ष र विपक्षमा मत जाहेर भइरहेका छन्।

प्रकाशित: २ मंसिर २०८३ १४:३० | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast