बुध ग्रहको कक्षमा पुग्दै बेपीकोलोम्बो

हिमाल प्रेस २ मंसिर २०८३ १३:५८ | Wednesday, November 18, 2026
बुध ग्रहको कक्षमा पुग्दै बेपीकोलोम्बो तस्बिर स्रोत : नासा

आठ वर्ष लामो यात्रापछि बेपीकोलोम्बो नामक अन्तरिक्षयान शनिबार बुध ग्रहको कक्षमा प्रवेश गर्ने भएको छ। बुध ग्रहको गुरुत्वाकर्षणले अन्तरिक्षयानलाई आफ्नो कक्षमा तानेपछि यो दुईवटा परिक्रमा गर्ने अनुसन्धान यानमा विभाजित हुनेछ। ती यानले बुध ग्रहको खाल्डाखुल्डी परेको सतह, भूगर्भीय बनावट, रासायनिक संरचना र कमजोर चुम्बकीय क्षेत्रको अध्ययन गर्नेछन्।

अन्तरिक्षयान चन्द्रमामा अवतरण, त्यहाँका खनिज उत्खनन र अन्तरिक्षमा हतियार तैनाथ गर्ने विषयमा अमेरिका र चीनबीचको प्रतिस्पर्धामा केन्द्रित भइरहेका बेला युरोपेली र जापानी अन्तरिक्ष निकायको यो संयुक्त अभियानले पुरानो युगको सम्झना गराउँछ। त्यो त्यस्तो समय थियो, जतिबेला अन्तरिक्ष अनुसन्धान निकायहरूले टाढाका ग्रहहरूलाई नजिकबाट कस्तो देखिन्छन् भनेर जान्नकै लागि अन्तरिक्षयान पठाउँथे। यद्यपि पुरानो शैलीको यो अभियानको उद्देश्य सौर्यमण्डलको सबैभन्दा अनौठो ग्रहबारे आधुनिक र विस्तृत जानकारी हासिल गर्नु हो।

चन्द्रमाभन्दा केही ठूलो तर आफ्नै कुनै चन्द्रमा नभएको बुध ग्रह सूर्यको सबैभन्दा नजिक छ। तैपनि यसका गहिरा खाल्डाखुल्डीले भरिएका र सधैँ अँध्यारो रहने ध्रुवीय क्षेत्रमा पानी जमेर बरफ बनेको हुन सक्ने वैज्ञानिकहरूको अनुमान छ। यसको सतहको तापक्रम सूर्यको प्रकाश परेका बेला ४३० डिग्री सेल्सियससम्म पुग्छ भने रातमा माइनस १८० डिग्री सेल्सियससम्म झर्छ। निष्क्रिय मरुभूमिजस्तो देखिए पनि बुध ग्रहको सतहमा ज्वालामुखी गतिविधिका कारण विशाल खाल्डाहरू बनेको प्रमाण भेटिएको छ।

सूर्यको तेज प्रकाशका कारण पृथ्वीबाट प्रायः देख्न नसकिने यो अनौठो ग्रह भित्री सौर्यमण्डल (बुध, शुक्र, पृथ्वी र मंगल ग्रह रहेको क्षेत्र) मा सबैभन्दा कम अध्ययन गरिएको ग्रह पनि हो। सन् १९७० को दशकको मध्यतिर अमेरिकी अन्तरिक्ष निकाय नासाको ‘मरिनर १०’ यान यस ग्रहको नजिक पुगेको थियो। त्यसपछि सन् २०१० को दशकमा नासाकै ‘मेस्सेन्जर’ अभियानले यसको परिक्रमा गरेको थियो।

‘यो अत्यन्तै रोचक ग्रह हो, तर हामीले यसलाई अझै राम्ररी बुझ्न सकेका छैनौँ,’ बेलायतको ओपन युनिभर्सिटीका ग्रहसम्बन्धी भूविज्ञानका प्राध्यापक तथा बेपीकोलोम्बो अभियानको एउटा वैज्ञानिक उपकरणका प्रमुख अनुसन्धानकर्ता डेभिड रोथरीले भनेका छन्। करिब ३० वर्षअघि आफूले यस अभियानको प्रस्ताव तयार गर्न सघाएको स्मरण गर्दै उनी त्यतिबेला बुध ग्रहलाई धूमकेतुका अवशेष ठोक्किएर खाल्डाखुल्डी परेको र अत्यधिक तापले डढेको निर्जीव भूभाग मात्र ठानिने गरेको बताउँछन्। त्यसैले अर्को अनुसन्धान अभियानका लागि समर्थन जुटाउन कठिन भएको उनको भनाइ छ।

पछि मेस्सेन्जर यानले पठाएका तस्बिरले वैज्ञानिकहरूलाई आश्चर्यमा पारिदिए। ती तस्बिरमा ज्वालामुखी विस्फोटका कारण बुध ग्रहको सतह चिरिएर बनेका मुखहरू देखिएका थिए। रोथरीका अनुसार त्यस्ता विशाल संरचनामध्ये एउटा करिब ३५ किलोमिटर चौडा र तीन किलोमिटर गहिरो छ। यसबाहेक सतहबाट पदार्थ निरन्तर बाहिर निस्कँदा बनेका तुलनात्मक रूपमा कम गहिरा खाल्डा पनि भेटिए। यी खोजले तुलनात्मक रूपमा कम तापक्रममै ठोस अवस्थाबाट ग्यासमा परिणत हुने रासायनिक पदार्थ अर्थात् ‘भोलाटाइल्स’ को उपस्थितिको सम्भावना देखाए। यसले बुध ग्रह भूगर्भीय र रासायनिक दृष्टिले सक्रिय रहेको संकेत गर्‍यो।

यिनै खोजले बेपीकोलोम्बो अभियानलाई नयाँ गति दिए। युरोपेली अन्तरिक्ष निकाय (ईएसए) र जापानको अन्तरिक्ष अन्वेषण निकाय (जाक्सा) ले सन् २०१८ मा यो अभियान प्रक्षेपण गरेका थिए। यसको नाम इटालीका गणितज्ञ ज्युसेप्पे ‘बेपी’ कोलम्बोको नामबाट राखिएको हो। उनले सन् १९७० को दशकमा बुध ग्रहको गुरुत्वाकर्षणको उपयोग गरी मरिनर १० यानलाई पटकपटक यस ग्रहको नजिक पुर्‍याउन सकिने गणना गरेका थिए।

‘ती वाष्पशील पदार्थ वास्तवमा के हुन् र त्यहाँ किन छन् भन्ने हामीलाई ठ्याक्कै थाहा छैन,’ रोथरी बताउँछन्। यससँगै अर्को रहस्य बुध ग्रहको विशाल धातुमय केन्द्रभाग र त्यसलाई घेरेको तुलनात्मक रूपमा पातलो चट्टानी तह हो। कुनै विशाल खगोलीय पिण्डसँगको भीषण ठक्करका कारण यसको बाहिरी चट्टानी तह उछिट्टिएर गएको हुन सक्ने अनुमान छ। रोथरीका अनुसार त्यस्तो ठक्करले वाष्पशील पदार्थसमेत वाष्पीकरण भएर उड्नुपर्ने थियो। एउटा सिद्धान्तअनुसार बुध ग्रह सुरुमा सूर्यबाट अहिलेको भन्दा धेरै टाढा बनेको थियो। पछि पृथ्वी वा शुक्र ग्रहसँग ठोक्किएर अथवा अन्य कारणले यसको कक्षा साँघुरिँदै सूर्यको नजिक पुगेको हुन सक्छ।

यसअघि बुध ग्रहमा सल्फर, पोटासियम र क्लोरिनजस्ता वाष्पशील तत्त्व तथा कार्बन डाइअक्साइड र कार्बन मोनोअक्साइडजस्ता ग्यासयुक्त यौगिक फेला परिसकेका छन्। बेपीकोलोम्बोका दुई अनुसन्धान यानले त्यहाँ पाइने खनिज र रासायनिक पदार्थबारे थप स्पष्ट जानकारी दिने अपेक्षा गरिएको छ। तीमध्ये एउटा ईएसएको ‘मर्करी प्लानेटरी अर्बिटर’ र अर्को जाक्साको ‘मर्करी म्याग्नेटोस्फेरिक अर्बिटर’ हुन्।

अभियानको अर्को प्रमुख वैज्ञानिक लक्ष्य बुध ग्रहको चुम्बकीय क्षेत्रको अध्ययन गर्नु हो। यसको सतहमा रहेको चुम्बकीय क्षेत्र पृथ्वीको तुलनामा करिब सय गुणा कमजोर छ। यसले बुध ग्रहको केन्द्रभागमा फलामयुक्त पदार्थ आंशिक रूपमा पग्लिएको अवस्थामा रहेको र त्यसले ‘डाइनामो प्रभाव’ सिर्जना गरेको संकेत गर्छ। पृथ्वीमा जस्तै यहाँ पनि तरल फलामको गतिले विद्युतीय प्रवाह उत्पन्न गर्छ, जसले चुम्बकीय क्षेत्र निर्माण गर्छ। दुईवटा अनुसन्धान यानले एकैपटक बुध ग्रहको परिक्रमा गर्दा यसको चुम्बकीय क्षेत्रको विस्तृत नक्सा तयार गर्न सकिनेछ।

त्यसको चुम्बकीय क्षेत्रले सूर्यबाट आउने शक्तिशाली सौर्य वायुसँग कसरी अन्तरक्रिया गर्छ भन्ने अध्ययनले अन्तरिक्षको मौसमबारे पनि थप जानकारी दिनेछ। यस्तो अन्तरिक्षीय मौसमका कारण कहिलेकाहीँ पृथ्वीमा विद्युत् प्रणाली र उपग्रह सञ्चालनमा अवरोध पुग्ने गर्छ। रोथरीका अनुसार अनुसन्धान यानहरू अर्को महिना आआफ्नो कक्षमा तैनाथ गरिनेछन् र आगामी अप्रिलदेखि वैज्ञानिक तथ्यांक प्राप्त हुने क्रम तीव्र हुनेछ।

पुरानो शैलीको अन्तरिक्ष विज्ञानप्रति यसै साता सम्झना गर्ने अर्को कारण पनि छ। भोलि सन् १९७७ मा नासाले प्रक्षेपण गरेको ‘भ्वायजर १’ अन्तरिक्षयानले पृथ्वीबाट एक प्रकाशदिनको दूरी पार गर्नेछ। एक प्रकाशदिन भनेको प्रकाशले एक दिनमा पार गर्ने दूरी हो, जुन करिब २६ अर्ब किलोमिटर हुन्छ। यससँगै भ्वायजर १ मानव निर्मित वस्तुमध्ये पृथ्वीबाट सबैभन्दा टाढा पुगेको वस्तु बनेको छ।

यसले आज अन्तरिक्षमा मानवले गर्ने कुनै पनि कामको प्रभाव आगामी दशकौँसम्म रहिरहनेछ भन्ने स्मरण गराउँछ।

प्रकाशित: २ मंसिर २०८३ १३:५८ | Wednesday, November 18, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 + 4 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast