पोखरा लिटरेचर फेस्टिभल : साहित्य, अर्थतन्त्र र राजनीतिका कुरा

हिमाल प्रेस ४ फागुन २०८० १९:४१
38
SHARES
पोखरा लिटरेचर फेस्टिभल : साहित्य, अर्थतन्त्र र राजनीतिका कुरा

पोखरा- पोखरामा जारी ११औं लिटरेचर फेस्टिभलमा  साहित्यसँगै  अर्थतन्त्र, राजनीतिलगायत विषयमाथि गरमागरम बहस भए। भूपि कक्षको पहिलो सेसनमा ‘अर्थतन्त्रः तङ्ग्रिन्छ कि लड्छ?’ भन्ने विषयमा अर्थमन्त्रीका आर्थिक सल्लाहकार गुणाकर भट्ट, व्यवसायी नीरञ्जन श्रेष्ठ र भुवन दाहालले नेपालको अर्थतन्त्रबारे बहस गरे।

भट्टले तुलनात्मक रूपमा मौद्रिक क्षेत्र, वित्तीय क्षेत्र राम्रो अवस्था देखिएको बताए। सरकारको वित्त व्यवस्थापन चुनौतीपूर्ण देखिरहेको उनले उल्लेख गरे। व्यवसायी नीरञ्जन श्रेष्ठ भन्छन्, ‘आत्मविश्वास बढ्यो भने अहिलेको अवस्थामा फरक आउँछ।’ दाहाल निक्षेप संकलन अनुसार कर्जा प्रवाह नहुनु अर्थतन्त्रको समस्याको रुपमा लिन्छन्। अर्थशास्त्रमा समस्या देखिएपछि प्रभाव बैंक तथा वित्तीय संस्थाको वित्तीय विवरणमा देखिने उनको भनाइ छ।

दोस्रो सेसन, ‘नेपालमा कहिले आए मान्छे ?’ भन्नेमा बहस भयो। खासमा नेपालमा मूलभाषाको रुपमा भोटबर्मेली र भारोपेली भाषालाई लिइन्छ। तर लामो समयदेखि भारतीय उपमहाद्विपका भाषा, संस्कृति, आनुवांशितामाथि अध्ययन गरिरहेका नेदरल्यान्ड्सका जर्ज भ्यान ड्रिम भन्छन्, ‘नेपालमा तेस्रो पनि भाषा समूह छ। त्यो कुसुन्डा भाषा हो। त्यो दुई समूहसँग मिल्दैन।’

उनले भोटबर्मेली र भारोपेली भाषा समूहभन्दा फरक समूहमा कुसुन्डा भाषा पर्ने दाबी गरेका हुन्। कुसुन्डा भाषा अहिले नेपालको लोपोन्मुख भाषाभित्र पर्दछ। युरोपेली देश नेदरल्यान्ड्समा जन्मिएका जर्ज भ्यान ड्रिम नेपालमा आफ्नो परिचयले भन्दा पनि ‘सुरेश दाइ’ नामले परिचित छन्। पछिल्लो लामो समयदेखि उनी अध्ययन, अनुसन्धानकै क्रममा उनी नेपालमा छन्।

यस्तै, महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य) ‘महतन्त्र’ सेसनमा रमाइलो गरे। सेसनमा मह जोडीले आपसमा सम्मानमा शब्द खर्चिए। चार दशक लामो संगतमा उनीहरुबीच सौहार्द सम्बन्ध छ।

इगो आउँदैन भन्ने प्रश्नमा मदनकृष्णले काममा इगो आए एक मनलाई अर्को मनले सम्झाउने गरेको बताए। हरिवंशले मदनकृष्णलाई कसैले केहीभन्दा आफ्नो चित्त दुख्ने बताए। एकले अर्कोलाई सफलताको कारण जस दिने गरेको मदनकृष्णले बताए।

महालक्ष्मी उपाध्याय, डिना, विद्या भट्टराई, मानुषी यमी भट्टराई र शोभा ज्ञवालीले ‘लोकतन्त्रमा महिला र चुनावी खर्च’ विषयमा चर्चा गरे।

राष्ट्रिय स्वतन्त्र पार्टी पार्टीका उपसभापति एवं प्रतिनिधिसभा सदस्य स्वर्णिम वाग्ले र पूर्व मिस नेपाल शृङ्खला खतिवडाले ‘ब्रेन गेनः फर्केर के गर्ने ?’ भन्नेमा चर्चा गरे। सोनिया अवालेले उनीहरुसँग नेपालीको तीव्ररुपमा विदेश पलायनदेखि नेपालमा सम्भावनाका उपायबारे खोतल्ने प्रयास गरिन्। नेपालमा प्रशस्त सम्भावना रहेको भएकैले आफूहरु विदेश छाडेर नेपालमै केही गर्ने उद्देश्यले फर्किएको दुवैको भनाइ थियो। ‘के छ गाउँको खबर ?’ विषयमा सन्तोष परियार, पार्वती सुनुवार र सविन निङ्लेखुले धारणा राखे।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 + 11 =