संज्ञान विमर्शमा ‘धीमहि’ माथि बहस

हिमाल प्रेस २८ वैशाख २०८३ २०:२७ | Monday, May 11, 2026
18
SHARES
संज्ञान विमर्शमा ‘धीमहि’ माथि बहस

काठमाडौँ- त्रिभुवन विश्वविद्यालय पाटन संयुक्त क्याम्पस नेपाली विभागद्वारा आयोजित शुक्रबारे बहस ‘संज्ञान विमर्श’ को एघारौँ शृङ्खलामा लेखक जयराम तिमल्सिनाको ‘धीमहि’ उपन्यासमाथि परिचर्चा गरिएको छ।

विभागीय प्रमुख माधव उपाध्याय लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभागीय सदस्य डा. जीवन श्रेष्ठ र डा. हेम भण्डारीले टिप्पणी प्रस्तुत गरेका थिए।

डा. श्रेष्ठले ‘धीमहि’ उपन्यास वर्तमान नेपाली समाजको पलायन र विखण्डनलाई प्रस्तुत गर्न सफल रहेको बताए। उनका अनुसार उपन्यास मनोवैज्ञानिक, सामाजिक तथा अस्तित्ववादी विमर्शको संगम बनेको छ। उनले उत्तरआधुनिकतावादी शिल्प–संरचनाको धरातलमा रहेर पूर्वीय मान्यतालाई प्रस्तुत गर्न उपन्यास सफल भएको धारणा राखे।

डा. भण्डारीले उपन्यासमा सांस्कृतिक विचलनको सन्दर्भ समेटिएको उल्लेख गरे। उपभोक्तावादी संस्कृति मौलाएको वर्तमान समाजको यथार्थ उद्घाटन गर्दै उपन्यासले पूर्वीय आदर्श र प्रकृतितर्फ पुनरागमनको सन्देश दिएको उनको भनाइ थियो।

लेखक तिमल्सिनाले नेपाली समाजका समस्या पहिचान गरी आख्यानमार्फत निरन्तर उठाउने उद्देश्यले ‘धीमहि’ लेखिएको बताए। उनले आगामी दिनमा पनि साहित्यको मूल्य र मर्मलाई केन्द्रमा राखेर लेखनलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय मानविकी संकाय विद्यावारिधि अनुसन्धान परिषद्का सदस्य प्रा.डा. सञ्जय मिश्र, प्रा.डा. भरत उपाध्याय, प्रा.डा. राजन पोखरेल, डा. धनप्रसाद सुवेदी, अगीव वनेपाली, कवि भारती नेउपाने, पाटन क्याम्पसका विभिन्न विभागका प्राध्यापक तथा नेपाली विषयका स्नातक र स्नातकोत्तर तहका विद्यार्थीको सहभागिता थियो।

उपभोक्तावादी संस्कृतिले सिर्जना गरेको पारिवारिक विखण्डन, पूर्वीय दर्शन, आदर्श र मूल्यलाई केन्द्रमा राखेर वर्तमान नेपाली समाजको चित्रण गरिएको ‘धीमहि’ तिमल्सिनाको पहिलो उपन्यास हो।

प्रकाशित: २८ वैशाख २०८३ २०:२७ | Monday, May 11, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast